संस्थापन कांग्रेसका नेतालाई विभाजित कांग्रेसको अभिवादन
पार्टीको आधिकारिकता दावी गर्दै नेपाली काँग्रेसको संस्थापन र विभाजित दुवै पक्ष शक्ति प्रदर्शनमा उत्रिएको छ । कान्तिपथस्थित निर्वाचन आयोग अगाडि जम्मा भएका दुवैतर्फका नेता-कार्यकर्ताले आ-आफ्नो पक्षको समर्थनमा नाराबाजी गरेका छन् ।
पार्टीको नाम,झण्डा र रुख चिन्ह आफ्नो हुने दावी गर्दै आएको दुवै समूहले निर्वाचन आयोगलाई दबाब दिन कार्यकर्ता सडकमा ओरालेका हुन् । संस्थापनतर्फका केही नेता त आयोग परिसरमै धर्नासमेत बसेका छन् ।
काँग्रेसमा गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन गरी छुट्टै कांग्रेस बनाएपछि चुनावको मुखमा सो पार्टी फुटेको छ र दुवै पक्षले आधिकारिकता दावी गरिरहेको स्थिति छ । त्यसका लागि आज बिहानैदेखि नेताहरू निर्वाचन आयोगमा आउने-जाने क्रम चलिरहेको छ ।
बिहान कार्यवाहक सभापतिको नेतृत्वमा डा. शेखर कोइरालासहित संस्थापन पक्षीय नेताहरू कागजपत्र बोकेर आयोग पुगेका थिए । उनीहरू त्यहाँबाट बाहिरिएलगत्तै गगन समूह पनि विशेष महाधिवेशनले गरेको निर्णयको फाइल लिएर गएको थियो ।
त्यस क्रममा केही रोचक दृश्य पनि देखियो । गगन समूहका पदाधिकारीहरू आयोगबाट निस्किने क्रममा धर्नामा बसेका संस्थापनका नेतालाई नमस्कार गर्दै बाहिरिएका थिए ।
टिप्पणीहरू