कांग्रेस देखेर केपी ओली चकित
नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको पक्षमा दैनिक कम्तिमा दश वटा स्टाटस लेख्न नेता-कार्यकर्तालाई निर्देशन दिएका छन् ।
आज काठमाडौँमा आयोजित प्रदेश कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जालको अधिकतम प्रयोग गरेर प्रचार थाल्न निर्देश गरेका हुन् । नेताहरूले लेखेका स्टाटसमा लाइक, कमेन्ट र शेयर गर्न पनि ओलीले कार्यकर्तालाई सम्झाएका छन् ।
‘राष्ट्रको लागि अझै ठूलो लडाइँ लड्न बाँकी छ, कम्तिमा दिनमा दश वटा मेसेज गर्नुहोस्, दिनको दश वटा सकारात्मक स्टाटस लेख्नुहोस्’, उनले भने, ‘साथीभाइले राम्रो कुरा गरेका छन् भने लाइक त थिच्नुस्, कमेन्ट र शेयर पनि छेउमै हुन्छ ।’
ओलीले कांग्रेस विभाजको सन्दर्भ औँल्याउँदै अदृश्य शक्तिले दलहरुविरुद्ध षड्यन्त्र गरिरहेको पनि दावी गरेका छन् ।
‘कांग्रेसका नेताहरू आफैँ जान्ने भएर पनि किन यो सब गरिरहेका छन् म आश्चर्यचकित हुन्छु’, उनले भने, ‘यस्तो बेलामा देशको लागि लड्नुपर्ने कांग्रेस अनावश्यक लडाइँ गरेर पार्टी फुटाउने अवस्थामा पुगेको छ, कसले गराउँदै छ यी काम ?’
अध्यक्ष ओलीले संस्थापन पक्ष नै आधिकारिक कांग्रेस भएको दावी गर्दै सडकको भेलालाई विशेष महाधिवेशन मान्न नसकिने पनि जिकिर गरे । ‘महाधिवेशन कसले बोलाउँछ, थिति होला, बहुमत र अल्पमतको टुंगो लगाउने पनि थिति होला, कसैले सडकमा बहुमत पुर्याएँ भनेका भरमा हुन्छ ?’, उनले थपे ।
टिप्पणीहरू