भृकुटीमण्डपमा गगनको उम्मेदवारी, सानेपाको बैठक अलपत्र

भृकुटीमण्डपमा गगनको उम्मेदवारी, सानेपाको बैठक अलपत्र

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा सभापति उठेका छन्  । भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा उनले सभापति पदका लागि मनोनयन दर्ता गराएका हुन् । 

निर्वाचन समितिले हिजो उम्मेदवारी मनोनयन खुलाएकोमा चार जनाले सभापति पदका लागि फारम लिएका थिए । तर, थापाको मात्र उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । 

अन्य पदाधिकारी र केन्द्रीय कार्यसमितिको लागि पनि मनोनयन दर्ता भैसकेको छ । दिउँसो १ बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यसूची छ । मतदानमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिदैँछ । 

आज बिहान सहमतिका लागि महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवासँग छलफल गरे पनि निष्कर्षविहीन भएको थियो । देउवा निवासबाट फर्किएलगत्तै थापा र शर्माले कानुनी परामर्श लिएका छन् । 

यता, केन्द्रीय कार्यसमितिको बैठकका लागि संस्थापन पक्षका नेताहरू सानेपास्थित पार्टी मुख्यालयमा पुग्नेक्रम जारी छ । हिजो दिउँसो १ बजे बोलाइएको बैठक बेलुका एकैछिन बसेर स्थगित भएको थियो । 

आज बिहानै बस्ने भनिएको बैठक अहिलेसम्म बस्न सकेको छैन ।

टिप्पणीहरू