टिकट विवादले निम्त्यायो धादिङ रास्वपामा चर्काचर्की
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धादिङमा प्रतिनिधिसभा सदस्यको टिकट वितरणलाई लिएर चर्किएको विवाद उत्कर्षमा पुगेको छ । उपसभापति डिपी अर्यालकै सामुन्ने हिजो साँझ गृहजिल्ला धादिङमा चर्काचर्की र पाखुरा सुर्कनेसम्मको प्रयास भएको बताइन्छ ।
प्राप्त समाचारअनुसार धादिङको विभिन्न पालिकाका रास्वपा सभापति र जिल्ला तहका नेताहरू टिकट वितरण प्रक्रियाबारे चर्चामा आएको नामलाई लिएर असन्तुष्टि जनाउँदै उपसभापति अर्याललाई भेट्न पुगेका थिए । सो क्रममा विवाद चर्किँदा पाखुरा सुर्कनेसम्मको हर्कत भएको हो ।
रास्वपाले धादिङ क्षेत्र नम्बर १ बाट नेपाली कम्युनिष्ट पार्टीका तत्कालीन केन्द्रीय सदस्य कुमार पाण्डेलाई उठाउन लागेपछि जिल्ला तहमा असन्तोष बढेको छ । स्थानीय नेताले अन्य पार्टीबाट आएका व्यक्तिलाई टिकट दिन नहुने भनी चर्को विरोध जनाउँदै पाखुरा सुर्कनुको कारण पनि त्यही हो ।
विवादका बीच कुमार पाण्डेले आफूले पार्टीमार्फत दुई करोड रुपैयाँ बुझाइसकेको दाबी गर्दै “अब म उम्मेदवार भएर आउँछु,मलाई भोट हाल्न तयार हुनुस्” भन्दै मत माग्न थालेको आरोप स्थानीय नेताहरूले लगाएका छन् । उक्त घटनापछि रास्वपा धादिङमा आन्तरिक तनाव र अव्यवस्था सिर्जना भएको उनीहरूको भनाइ छ ।
यस विषयमा रास्वपा धादिङका सभापति सूर्यमणि पाठक र गल्छी गाउँपालिका सभापति कुमार रिमालले सामाजिक सञ्जालमार्फत असन्तुष्टि सार्वजनिक गरेका छन् । उनीहरूले टिकट वितरण प्रक्रिया अपारदर्शी भएको र पार्टीको मूल्य–मान्यताविपरीत निर्णय हुन लागेको आरोप लगाएका छन् ।
टिप्पणीहरू