सैनिक मुख्यालयभित्र पृथ्वीनारायणको सम्झना
नेपाली सेनाले पृथ्वीनारायण शाहको ३०४ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस भव्य रूपमा मनाएको छ । जंगीअड्डा परिसर भद्रकालीमा आयोजित पृथ्वीजयन्ती कार्यक्रममा प्रधानसेनापति अशोकराज सिग्देलले पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पणसँगै श्रद्धाञ्जली अर्पण गरेका छन् ।
सो अवसरमा नेपाली सेनाको टुकडीले सम्मान गारद प्रस्तुत गरेको थियो । कार्यक्रममा पूर्वप्रधानसेनापति, उच्चपदस्थ सैनिक अधिकारी र विभिन्न दर्जाका सैनिकहरूको उपस्थिति थियो । पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा प्रयोग गरेको गोरखादेखि काठमाडौंसम्मको ऐतिहासिक मार्गलाई पछ्याउँदै आयोजित गोरखा–काठमाडौं राष्ट्रिय एकीकरण मार्ग पदयात्रा विशेष कार्यक्रम पनि आजैबाट समापन भएको जनाइएको छ ।
गोरखास्थित श्री रुद्रध्वज गणको टुकडीले ऐतिहासिक सैनिक पोशाक, परम्परागत बाजागाजा,राष्ट्रिय झण्डा तथा तत्कालीन नेपाली सेनाको पहिलो पाँच कम्पनीका झण्डा र मशालसहित पदयात्रामा सहभागिता जनाएको थियो। सो अवसरमा जंगीअड्डामा पृथ्वीनारायण शाहको योगदानबारे प्रवचन,लघुनाटक, वृत्तचित्र प्रदर्शन र कविता प्रतियोगितालगायत कार्यक्रमहरू आयोजना गरिएको थियो ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस सबै सैनिक युनिट र विदेशस्थित नेपाली सेना रहेका स्थानमा पनि विभिन्न कार्यक्रम गरेर मनाइएको सेनाले जनाएको छ ।
सरकारले आयोजना गरेको पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस समारोह काठमाडौंमा सिंहदरबारस्थित पश्चिम गेटको सामुन्ने शाहको शालिक छेउमा सम्पन्न भएको छ । बिहान राष्ट्रपति रामचन्द्र पौडेल,प्रधानमन्त्री सुशीला कार्कीलगायत उच्च पदस्थ अधिकारीहरुको उपस्थितिमा कार्यक्रम गरिएको थियो ।
राप्रका नेता तथा कार्यकर्तालगायत विभिन्न संघ संस्था र अभियन्ताहरुले पनि सोही स्थानमा पुगेर पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका थिए ।

टिप्पणीहरू