एकान्तकुनामा विध्वंश र पपुलिज्मका कुरा

एकान्तकुनामा विध्वंश र पपुलिज्मका कुरा

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र, संविधान र राष्ट्रिय हितमाथि खतरा बढिरहेका बेला ‘पपुलिज्म’ र अराजक राजनीतिले देशलाई गलत दिशातर्फ लैजान सक्ने चेतावनी दिएका छन्। केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा बोल्दै उनले पछिल्लो समय विकसित राजनीतिक अवस्थालाई गम्भीर रूपमा चित्रण गरेका छन् । 

लिखित मन्तव्यको क्रममा उनले गत भदौ २३–२४ का घटनापछि देखिएको विध्वंश, घृणा र हिंसाको राजनीतिलाई कडा शब्दमा अस्वीकार गरेका छन्। ओलीले ११ औँ राष्ट्रिय महाधिवेशनले एमालेको आन्तरिक एकता, संगठनात्मक मजबुती र लोकतन्त्रप्रतिको प्रतिबद्धतालाई पुनः स्थापित गरेको दाबी गरे ।   

‘पुराना–नयाँ’ को कृत्रिम बहस खडा गर्दै विचारविहीन पपुलिज्म फैलाउने प्रयास भइरहेको ओलीको निश्कर्ष छ । उनले भने, ‘विध्वंश आन्दोलन होइन, पपुलिज्म अग्रगामी विकल्प होइन।’ पपुलिज्मले जनभावनामा खेलवाड गर्दै अस्थिरता, निराशा र अराजकता निम्त्याउने र अन्ततः यसले देशलाई गम्भीर भूराजनीतिक जोखिमतर्फ धकेल्ने दाबी गरेका छन् ।

अध्यक्ष ओलीले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको दोहोर्याएका छन् । संसद पुनस्र्थापना, सर्वपक्षीय सरकार, संवाद र त्यसपछि निर्वाचन नै मुलुकलाई सुरक्षित निकास दिने बाटो भएकाले सर्वोच्च अदालतले छिटो निर्णय दिनुपर्ने धारणा राखेका हुन् ।

आगामी आम निर्वाचनका सन्दर्भमा उनले शान्तिपूर्ण र भयरहित वातावरण अझै नबनेको जनाए । उम्मेदवार छनोटमा देखिएको गुनासोलाई ध्यानमा राख्ने बताए । भेनेजुएला, युक्रेन, प्यालेष्टाइनको गाजा, बंगलादेश र म्यान्मारका घटनामा सार्वभौमिकता, अहस्तक्षेप र अन्तर्राष्ट्रिय कानुनको सम्मान नभएको उल्लेख गरे । 

टिप्पणीहरू