भेनेजुएलासँगको सहकार्य थप कसिलो बनाउन चीन प्रतिबद्ध
भेनेजुएलाको राजनीतिक अवस्था जस्तोसुकै रूपमा विकास भए पनि उसँग विभिन्न क्षेत्रमा रहेको लामो व्यवहारिक सहकार्य र साझेदारीलाई थप गहिरो बनाउने आफ्नो प्रतिबद्धतालाई चीनले दोहोर्याएको छ । दुई मुलुकबीच कायम रहँदै आएको साझा विकासलाई प्रवद्र्धन गर्ने चीनको प्रतिबद्धतामा कुनै परिवर्तन नहुने चिनियाँ विदेश मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता माओ निङले भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले सामाजिक सञ्जालमार्फत् काराकासस्थित चिनियाँ राजदूतसँग भेट भएको जानकारी गराएपछि बेइजिङको धारणा औपचारिक रुपमा बताएकी हुन् ।
प्रवक्ता माओले चीनले भेनेजुएलासँगको सम्बन्धलाई उच्च महत्व दिँदै आएको र त्यहाँको सरकारसँग निरन्तर सुमधुर संवाद तथा सहकार्य कायम राख्दै आएको उल्लेख गरिन् । चीनले भेनेजुएलाको सार्वभौमिकता, गरिमा, राष्ट्रिय सुरक्षा तथा वैध अधिकार र हितको संरक्षणमा राख्दै आएको दृढ समर्थनलाई जारी राख्ने उनको भनाई छ ।
चीनले भनेको छ, ‘दुई देशबीचको सहकार्य आगामी दिनमा पनि विभिन्न क्षेत्रमा विस्तार हुँदै जानेछ र साझा विकासको लक्ष्यमा दुवै देश अघि बढ्नेछन् ।’
स्रोत : सिन्ह्वा ।
टिप्पणीहरू