सन् २०२५ मा चिनियाँ कूटनीति, राष्ट्राध्यक्ष सिको दूरदर्शी रणनीति

चिनियाँ राष्ट्रपति सि चिनफिङले आफ्नो दूरदर्शी रणनीतिक सोचका साथ चीन र विश्वका प्रमुख मुलुकबीचको सम्बन्धलाई स्थिर, सुदृढ र सकारात्मक दिशामा अघि बढाउन गर्नुभएको पहललाई गत वर्ष सन् २०२५ मा पनि निरन्तरता दिनुभएको छ । उहाँको पहलले कूटनीतिको मार्गदर्शनमा प्रमुख शक्तिहरूबीचका सम्बन्ध आपसी सम्मान, शान्तिपूर्ण सहअस्तित्व र सहकार्यबाट सबैको जित हुने (विन–विन) सही बाटोमा अघि बढेको निश्कर्ष निकाल्न सकिन्छ ।

गत वर्ष चीन–अमेरिका सम्बन्धमा देखिएको उतारचढाव र चुनौतीका बाबजुद समग्र रूपमा गतिशील र स्थिर देखियो । चीनले सधैं यो सम्बन्ध दुवै देशका जनताको साझा हितमा हुने र अन्तर्राष्ट्रिय समुदायको अपेक्षासँग मेल खाने धारणा राख्दै आएको छ।

सन् २०२५ मा राष्ट्रपति सि चिनफिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच चार पटक टेलिफोन सम्वादका साथै पटक–पटक पत्र आदानप्रदान समेत भएको थियो । अक्टोबर महिनामा दुवै नेताबीच छ वर्षपछि पहिलोपटक दक्षिण कोरियाको बुसान सहरमा भएको प्रत्यक्ष भेटमा करिब डेढ घण्टा लामो वार्ता भएको थियो ।

बुसानमा भएको भेटमा दुबै मुलुुकका राष्ट्रपबिीच चीन–अमेरिका सम्बन्ध र विश्व शान्ति तथा विकाससँग सम्बन्धित प्रमुख विषयहरूमा गहिरो छलफल भएको थियो । उक्त भेटले कठिन परिस्थितिबाट गुज्रिरहेको चीन–अमेरिका सम्बन्धलाई सही दिशामा डोर्याउन मार्गदर्शन गरेको बताइएको छ।

‘चीनको विकास ‘मेक अमेरिका ग्रेट अगेन’ भन्ने अमेरिकी राष्ट्रपतिको दृष्टिकोणसँग विरोधाभाषपूर्ण नरहेको, चीन र संयुक्त राज्य अमेरिका एकअर्काको सफलतामा सहयोग गर्दै सँगै समृद्ध हुन पूर्ण रूपमा सक्षम छन्,’ राष्ट्रपति सिले भन्नुभयो ।

गत वर्ष चीन–रूस बीचको सम्बन्ध पनि उच्चस्तरीय र स्थिर अवस्थामा रहेको पाइयो । ऐतिहासिक महत्व बोकको गत वर्ष दुवै देशका नेताहरूले परस्पर मुलुकको भ्रमण गर्नुभयो । यसले चीन–रूस व्यापक रणनीतिक समन्वय साझेदारीमा आपसी विश्वास र समर्थनको विशेषता झल्काएको बताइन्छ ।

मे महिनामा राष्ट्रपति सिले रूसको राजकीय भ्रमण गर्दै सोभियत संघको महान देशभक्तिपूर्ण युद्धमा विजयको ८० औँ वार्षिकोत्सवका कार्यक्रममा सहभागिता जनाउनुभएको थियो । उहाँले दुबै मुलुकले छिमेकी प्रमुख राष्ट्रहरूबीचको सम्बन्धका लागि उपयुक्त मार्ग फेला पारेको बताउनुभएको छ ।

‘अशान्त र जटिल अन्तर्राष्ट्रिय परिस्थितिको सामना गर्दै चीन र रूसले दीर्घकालीन असल छिमेकी सम्बन्ध, व्यापक रणनीतिक समन्वय तथा पारस्परिक लाभ र सहकार्यको भावनालाई दृढतापूर्वक कायम राख्नुपर्छ,’ राष्ट्रपति सिले मस्कोमा भन्नुभएको थियो ।

सिको रुस भ्रमण सम्पन्नको तीन महिनापछि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले जापानी आक्रमणविरुद्ध चिनियाँ जनताको युद्ध तथा विश्व फासिवादविरुद्धको युद्धमा विजयको ८० औँ वार्षिकोत्सवका कार्यक्रमहरूमा सहभागिता जनाउनुभयो । सो अवसरमा सेप्टेम्बर ३ मा बेइजिङको थिआनमेन स्क्वायरमा भव्य सैनिक परेड आयोजना गरिएको थियो।

डिसेम्बरमा राष्ट्रपति सिले चीन भ्रमणमा आउनुभएको फ्रान्सेली राष्ट्रपति इमानुएल माक्रोंसँग भेट गर्नुभयो । माक्रोंको गत वर्ष चीनको चौथो पटक भ्रमण गर्नुभएको हो । चीन र फ्रान्सले सन् २०२४ मा कूटनीतिक सम्बन्ध स्थापनाको ६० औँ वर्षगाँठ मनाएका थिए।

‘चीन फ्रान्ससँग मिलेर आगामी ६० वर्षमा चीन–फ्रान्स व्यापक रणनीतिक साझेदारीलाई अझ स्थिर र सुदृढ रूपमा अघि बढाउन इच्छुक छ । किनभने यसको रणनीतिक मूल्य पूर्ण रूपमा देखियोस् र समान, सुव्यवस्थित बहुध्रुवीय विश्व तथा समावेशी र सबैलाई फाइदा हुने आर्थिक विश्वव्यापीकरण प्रवद्र्धनमा नयाँ योगदान दिन सकियोस्,’ राष्ट्रपति सिले भन्नुभयो ।

सन् २०२५ मा चीन र युरोपेली संघबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० औँ वर्षगाँठ मनाइएको छ । दुवै पक्षले विगत आधा दशकमा भएको सहकार्यको समीक्षा गर्दै साझेदारी नै आपसी सम्बन्धको मूल आधार रहने कुरामा पुनः प्रतिबद्धता जनाएका छन् । 

जुलाई महिनामा राष्ट्रपति सिले २५ औँ चीन–इयु शिखर सम्मेलनका लागि चीन पुगेका युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टा र युरोपेली आयोगकी अध्यक्ष उर्सुला फोन डर लेयेनसँग भेट गर्नुभएको थियो ।

एक शताब्दीमै नदेखिएको तीव्र विश्व परिवर्तन र अशान्त अन्तर्राष्ट्रिय अवस्थाको सामना गरिरहेका बेला चीन र इयुका नेताहरूले पुनः दूरदृष्टि र नेतृत्व देखाउँदै जनअपेक्षा पूरा गर्ने बताउनुभयो । दुबै पक्षले इतिहासको कसौटीमा खरो उत्रने सही रणनीतिक निर्णय लिनुपर्ने, चीन–इयु सम्बन्धलाई सही दिशामा अघि बढाउने र आगामी ५० वर्षलाई अझ उज्यालो बनाउने प्रयास गर्नुपर्ने राष्ट्रपति सिको भनाइ थियो । किनभने यसले विश्वमा थप स्थिरता र निश्चितता प्रदान गर्ने उहाँको ठहर छ ।

यसका अतिरिक्त राष्ट्रपति सिले वर्षभरि जर्मनी, स्पेन, पोर्चुगललगायत अन्य युरोपेली देशका नेताहरूसँग पनि गहिरो संवाद गर्नुभयो । ती सबै नेताहरुसँग चुनौतीपूर्ण तथा जटिल अन्तर्राष्ट्रिय परिस्थितिमा चीन–युरोपबीचको संवाद सुदृढ गर्न, आपसी विश्वास बढाउन र सहकार्य गहिरो बनाउन आह्वान गर्नुभएको थियो ।

सन् २०२५ मा चीनले चिनियाँ राष्ट्रको पुनर्जागरण र अशान्त विश्वमा सामञ्जस्य कायम गर्न आफूलाई समर्पित गर्ने प्रतिबद्धता जनाएको छ । यसले चिनियाँ विशेषतासहितको प्रमुख मुलुकसँगको कूटनीतिमा नयाँ आयाम थपेको निचोड छ ।

स्रोत : सिसिटिभी प्लस ।

टिप्पणीहरू