विशेष महाधिवेशनमा सहभागी हुन अपिल
नेपाली काँग्रेसको संस्थापनइतर पक्षले बोलाएको विशेष महाधिवेशनमा सहभागी हुन जिल्ला कार्यसमिति कास्कीले अनुरोध गरेको छ ।
सभापति किशोरदत्त बरालले विज्ञप्ति जारी गर्दै पुस २७ र २८ गते काठमाडौंको भृकुडीमण्डलमा हुन गइरहेको विशेष महाधिवेशनमा सहभागी हुन प्रतिनिधिहरूलाई अपिल गरेका हुन् ।
‘नेपाली कांग्रेस कास्कीको सभापतिको हैसियतले म तपाईंहरु सबैमा विशेष महाधिवेशनमा अनिवार्य रुपमा उपस्थित भई महाधिवेशनलाई सफल, ऐतिहासिक र सार्थक बनाउन सक्रिय भूमिका निर्वाह गर्न हार्दिक अपिल गर्दछु,’ उनले भनेका छन् ।
महाधिवेशन पार्टीको वैचारिक स्पष्टता, संगठनात्मक एकता, आन्तरिक लोकतन्त्र र मुलुकको समसामयिक राजनीतिक चूनौतीबारे गम्भीर निर्णय लिने विशेष अवसर भएकोले कास्कीबाट निर्वाचित सम्पूर्ण महाधिवेशन प्रतिनिधिलाई उपस्थित हुन भनिएको छ ।
‘नेपाली कांग्रेस केवल एउटा राजनीतिक संगठन मात्र होइन, यो लोकतन्त्र, समावेशीता र राष्ट्रिय एकताको आधारशिला हो । यस्तो ऐतिहासिक घडीमा तपाईंहरुको सहभागिता केवल औपचारिक उपस्थिति नभई पार्टीको भविष्य र राष्ट्रको दिशा निर्देशनसँग प्रत्यक्ष रुपमा जोडिएको कर्तव्य हो भन्नेमा म विश्वस्त छु,’ सभापति बरालले उल्लेख गरेका छन् ।
यसअघि यही पुस २६ गतेदेखि २८ गतेसम्म १५ औं नियमित महाधिवेशन गर्ने भनिएकोमा गत पुस १८ गते बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले महाधिवेशन सार्ने निर्णय गर्दै आउँदो वैशाख २८ गतेदेखि ३१ गतेका लागि तोकेको थियो ।
सोविपरीत हिजो विशेष महाधिवेशन पक्षधरले महाधिवेशन आह्वान गरेका थिए । त्यसपछि केन्द्रीय कार्यालयले हिजै विज्ञप्ति निकालेर महाधिवेशन बोलाउने अधिकार केन्द्रीय कार्यसमितिलाई मात्र भएको स्पष्ट पार्दै सहभागी नहुन प्रतिनिधि, सदस्यहरुलाई निर्देशन दिएको थियो ।
टिप्पणीहरू