‘रुवाबासी राज्य चलाउने योग्यता वा लाज शरम छोप्ने आवरण हुनै सक्दैन’
युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले गर्न लागेको अमेरिका भ्रमणको गोप्य रहस्यलाई अयोग्यता,हठ र राज्य संयन्त्र दुरुपयोगको सँज्ञा दिइएको छ । आयोजक संस्थाले नै ‘यस्तो कुनै कार्यक्रम छैन’ भनेर टक्टकिएपछि पनि भ्रमणको हठ कायम राख्नुलाई कूटनीतिमा नाङ्गो एवम् चरम लापरबाही मानिन्छ ।
आयोजकले नै इन्कार गरिसकेपछि मन्त्रिपरिषद बैठकको निर्णय मात्रै होइन, उनको भ्रमणबारे राज्यले विशेष अध्यादेश जारी गरे पनि उनी अमेरिका छिर्ने उपादेयता अब रहेन । यस्तो वास्तविकता नबुझ्नु वा बुझेर पनि बुझ पचाउनुलाई प्रधानमन्त्रीकै असफलताको रुपमा लिनुपर्ने कूटनीतिज्ञहरु बताउँछन् ।
यसअघि मन्त्री बनेको बेला रोएको दृश्यलाई कतिपयले मानवीय संवेदना मान्नु स्वाभाविक थियो । तर आज त्यही रोदनलाई राज्य चलाउने योग्यता वा लाज शरम छोप्ने आवरण बनाउन खोजिएको छ । रोएर सत्ता पाइयो होला तर रोएर अन्तर्राष्ट्रिय मर्यादा पनि किन्न सकिन्छ भन्ने भ्रम खतरनाक हो । ‘कूटनीति आँसुबाट होइन,तयारी, प्रचलित मान्यता,प्रक्रिया र विश्वसनीयताबाट चल्छ,’ एकजना पूर्व परराष्ट्रमन्त्रीले बताए ।
प्रायोजित मन्त्री रोइरहन्छन् भने अर्कोतर्फ देशको प्रतिष्ठा धुलिसात अवस्थामा पुग्न आइतबार कुर्नै पर्दैन ।
सबैभन्दा गम्भीर कुरा के हो भने अहिले राज्य संयन्त्रलाई व्यक्तिगत प्रतिष्ठा जोगाउने औंजार बनाइएको छ। कुनै एकजना व्यक्ति अमेरिका जान नपाउँदा राष्ट्रको इज्जत माटोमा मिल्ने हैन । तर हुनै नसक्ने प्रायोजित र नक्कली कार्यक्रमको आवरणमा बनाइएको भ्रमणका लागि सरकारी निर्णय,समय र स्रोत खर्चिन खोज्दा भने अवश्य देशको साख गिर्ने छ । यस्तो व्यवहारले रोएर बनेका मन्त्रीको हैसियतभन्दा पनि नेपाल राज्यप्रति अपमान हुनेमा दुईमत छैन ।
बब्लु गुप्ताको यो प्रकरणले के देखाउँछ भने पद पाउनु र पद धान्नु फरक विषय हो । भावुकता नेतृत्वको गुण होइन, अनि हठ कूटनीति हुँदै होइन । यो घटना एउटा मन्त्रीको असफलता मात्र होइन, योग्यताभन्दा नजिकको पहुँचलाई प्राथमिकता दिने राजनीतिक रोगको प्रमाण हो। जब रोदनलाई योग्यता बनाउन थालिन्छ तब यस्ता लज्जास्पद अध्यायहरू दोहोरिनु कुनै अचम्म हुँदैन ।
देश चलाउने जिम्मेवारी आँसु पुछेर होइन—जवाफदेहिता स्वीकार गरेर लिनुपर्छ । अन्यथा, प्रायोजित मन्त्री रोइरहन्छन् भने अर्कोतर्फ देशको प्रतिष्ठा धुलिसात अवस्थामा पुग्न आइतबार कुर्नै पर्दैन ।

टिप्पणीहरू