निर्वाचन प्रहरीलाई कुल ४० हजार रूपैयाँ
नेपाल प्रहरीले फागुन २१ गतेको निर्वाचनलाई लक्षित गरी निर्वाचन प्रहरी भर्नाको प्रक्रिया अगाडि बढाएको छ । प्रहरी मुख्यालयअन्तर्गत मानवस्रोत विकास विभागअन्तर्गत भर्ना छनौट शाखाले आज भर्नासम्बन्धी सूचना जारी गरेको हो ।
एक लाख ३३ हजार ९८० जना भर्ना गर्न लागिएकोमा आजदेखि माघ १ गतेसम्म काठमाडौं उपत्यकाका तीन वटा जिल्ला प्रहरी परिसर र सबै जिल्ला प्रहरी कार्यालयमा आवेदन दिन सकिनेछ । सार्वजनिक बिदाको दिनसमेत भर्ना लिइने शाखाले जनाएको छ । निर्वाचन प्रहरीको आवेदन दिनका लागि साधारण लेखपढ गर्न सक्ने, नैतिक पतन देखिने कुनै फौजदारी अभियोगमा सजाय नपाएको, कुनै राजनीतिक दलको सदस्य नरहेको, शारीरिक तथा मानसिक रुपले स्वास्थ्य रहेको हुनुपर्नेछ ।
पुरुषको हकमा उचाई पाँच फिट, छाती ३१–३३ इञ्च, तौल ५० केजी र महिलाको हकमा उचाई चार फिट १० इञ्च, तौल ४२ केजी हुनुपर्ने सूचनामा उल्लेख छ । गर्भवती नभएका महिलाले मात्र आवेदन दिन सक्ने शाखाले स्पष्ट पारेको छ । नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी बलका पूर्वकर्मचारी र पूर्ववन रक्षकलाई निर्वाचन प्रहरीमा प्राथमिकता दिइनेछ ।
माघ ५ देखि ९ गतेसम्म छनौट प्रारम्भ हुनेमा १२ गते अन्तिम नतिजा प्रकाशन गरिनेछ । त्यसैगरी, भर्ना भएकाहरुलाई माघ १५ देखि माघ २४ गतेसम्म तालिम दिइनेछ । ४० दिनका लागि नियुक्त गरिने निर्वाचन प्रहरीले सरकारले तोकेबमोजिमको तलब र सुविधा पाउनेछन् । प्रहरीको जवानसरह उनीहरुलाई प्रतिदिन ८६९.४० रुपैयाँ गरी ४० दिनको ३४ हजार ७७६ रुपैयाँ तलब दिइनेछ ।
शाखाका अनुसार खाद्यान्नबापतको रकम बैंक खातामा जम्मा गरिनेछ । कर्तव्य पालनको क्रममा उनीहरु घाइते वा मृत्यु भएमा सरकारले तोकेबमोजिमको क्षतिपूर्ति उपलब्ध गराइनेछ । निर्धारित अवधिभन्दा अगावै गैरहाजिर भएमा वा जिम्मेवारी पुरा नगरेमा कुनै सुविधा प्रदान नगर्ने शाखाले प्रष्ट पारेको छ ।
टिप्पणीहरू