राष्ट्रिय सभा चुनावमा काँग्रेस-एमालेविरुद्ध नेकपा एक्लै
आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा दुई ठूला दल नेपाली काँग्रेस र नेकपा एमालेले गठवन्धन गरेका छन् । उपेन्द्र यादव नेतृत्वको जसपालाई पनि साथमा लिएर दुई दलले १८ वटै सिटमा मिलेर उम्मेदवारी दिने सहमति गरेका हुन् ।
काँग्रेस ९, एमाले ८ र जसपाले १ सिट लिनेगरी भागबण्डा गरेका तीन वटै पार्टीले उम्मेदवार टुंगो लगाएका छन् । बिहान बसेको काँग्रेस कार्य सम्पादन समिति बैठकले हालै राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिलबहादुर थापासहित नौ जनाको नाम निश्चित गरेको छ ।
पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा तथा पूर्वमन्त्रीसमेत रहेका सुनिलबहादुरलाई कोशी प्रदेशबाट अन्य क्लस्टरमा उम्मेदवार सिफारिस भएका हुन् । मधेसबाट धमेन्द्र पासवान र रञ्जित कर्ण, बागमतीबाट गीता देवकोटा, गण्डकीबाट जगत तिमल्सिना, लुम्बिनीबाट बासुदेव जंगली र चन्द्रबहादुर केसी, कर्णालीबाट ललितबहादुर शाही र सुदूरपश्चिमबाट खम्मबहादुर खाती उम्मेदवार बन्दै छन् ।
काँग्रेसको आन्तरिक भागबण्डामा कर्ण, जंगली र देवकाटा नेता शेखर कोइरालाको कोटाबाट उम्मेदवार सिफारिस भएका हुन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा समूहले भने एक सिट पनि पाएन ।
एमालेले पनि आफ्नो भागमा परेको ८ जनाको नाम फाइनल गरिसकेको छ । जसअनुसार कोशी प्रदेशमा रोशनी मेचे र सोम पोर्तेल उठ्दैछन् । बागमती प्रेम दंगाल, मधेस रेखा झा, गण्डकी, सम्झना देवकोटा र लुम्बिनीबाट रामकुमारी झाँक्रीले उम्मेदवारी दिने छन् ।
एमालेले कर्णालीमा मीना रखाल र सुदूरपश्चिममा लिला भण्डारी सिफारिस भएका छन् । जसपाले महन्थ ठाकुरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
यता, नेपाली कम्युनिष्ट पार्टी भने कांग्रेस-एमाले गठवन्धनबाट बाहिरिएको छ । यसअघि सो पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले चार सिट दावी गर्दै तालमेलको लागि छलफल गरेका थिए । तर, कांग्रेस-एमाले तीन सिटमात्रै दिन तयार भएपछि सहमति जुट्न नसकेको बताइएको छ ।
नेकपाले अब १८ वटै सिटमा एकल उम्मेदवारी दिने भएको छ । तर, काँग्रेस र एमालेबीच गठवन्धन भएसँगै निर्वाचन हुन लागेका सबै सिट 'क्लिन स्विप' हुने गणित छ ।
माघ ११ गते हुने निर्वाचनका लागि आज उम्मेदवारी मनोनयनको मिति तोकिएको छ ।
टिप्पणीहरू