युवा मन्त्रीविरुद्ध मानव तस्करीमा पर्यो उजुरी

युवा मन्त्रीविरुद्ध मानव तस्करीमा पर्यो उजुरी

सुशीला कार्की नेतृत्वको सरकारका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमणउपर छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । सिन्धुलीका युवराज सफलले उनीमाथि मानव तस्करीको मुद्दामा छानबिनको माग गर्दै आज उजुरी दर्ता गरेका हुन् । 

उनी अमेरिकी सरकारको अभिलेखमै नभएको कार्यक्रममा जान लागेको सफलको आरोप छ । आफू अमेरिकी युथ काउन्सिलको सदस्य भएको फाइदा उठाएर गुप्ताले कृत्रिम कार्यक्रममार्फत नेपालीलाई अमेरिका पुर्याउन खोजेको उनले बताएका छन् । 

दर्ता नम्बर सी–०३७१५९ भएको उजुरीमा भनिएको छ,‘नक्कली आयोजक, नक्कली निमन्त्रणा पत्र, आफू मात्र नभई सामूहिक रुपमा कार्यक्रमको नाममा अमेरिका जान खोज्नु संगठित रुपमा मानव तस्करी गर्नु हो । अतः उल्लेखित सम्पूर्ण कागजात झिकाई निज बब्लु गुप्तामाथि मानव तस्करी मुद्दामा समेत अनुसन्धान र दोषी देखिए हदैसम्म कारबाही गर्न माग गर्दछु ।’

त्यसैगरी, उनलाई मन्त्री पदबाट निलम्बन गर्न पनि सफलले माग गरेका छन् । मन्त्री गुप्ता ‘रोल अफ एनआरएनए युथ इन द डेभलपमेण्ट अफ नेपाल पोस्ट जेनजी रिभोल्युसन’ कार्यक्रममा सहभागी हुन आउँदो माघ ३ गते अमेरिका जाँदैछन् । गत पुस २२ गतेको क्याबिनेट बैठकले उनको भ्रमण स्वीकृत गरिसकेको छ । 

अमेरिकी सरकारको अभिलेखमा नभएको आयोजक देखाएर मन्त्रीको हैसियतमा मन्त्रिपरिषद्बाट भ्रमण स्वीकृत गराउनु अनियमित र गैरजिम्मेवार भएको सफलको ठहर छ ।

टिप्पणीहरू