कारले हान्दा ड्युटीफुल हवल्दारको मृत्यु
बुटवलको रामनगरमा कारको ठक्करबाट ड्युटीमा रहेका ट्राफिक सहायक हवल्दारको मृत्यु भएको छ । सोमबार साँझ अन्दाजी ४:१० बजे बुटवलको रामनगरमा कारले ठक्कर दिँदा राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलमा कार्यरत ट्राफिक प्रहरीका सहायक हवल्दार नागेश्वर पालको मृत्यु भएको हो ।
ड्युटीमा रहेका पाललाई बुटवलतर्फ आउँदै गरेको बागमती प्रदेश १- ०३३- च ००७७ नम्बरको टोयोटा कारले ठक्कर दिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी निरीक्षक कमल क्षेत्रीले बताए । ठक्करबाट गम्भीर घाइते भएका पालको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए ।
ठक्कर दिने कार र चालक गुल्मी रेसुङ्गा नगरपालिका १ का ५६ वर्षीय दीपेन्द्रसिंह थापालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू