बालुवाटारबाट ओलीलाई कसले पारे अप्ठेरो ?
प्रधानमन्त्री सुशीला कार्कीसँग शनिबार भएको संयुक्त भेटघाटपछि पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई एउटा फसाद आइलागेको छ । काँग्रेस सभापति शेरबहादुर देउवा,नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डसहित अस्ति दिउँसो प्रधानमन्त्रीको सरकारी निवास पुगेका ओली त्यहाँबाट फर्केर गुण्डु निवास आइपुग्दा नपुग्दै भाइरल बनेको समाचारले अप्ठेरो बनाएको उनैले बताएका छन् ।
हिजो बसेको सचिवालय बैठकमा आफूले बोलेको विषयलाई बङ्ग्याएर बालुवाटारबाटै अनर्गल प्रचार गराइएको ओलीको दावी थियो । प्रधानमन्त्री कार्कीसँग चुनाव र सुरक्षा अवस्थाबारे प्रश्न उठाउने क्रममा आफूले राखेको खास धारणा एमाले नेतालाई हिजो सुनाइयो ।
प्रधानमन्त्रीले सुरक्षाको लागि सेना पनि तयार रहेको र निर्वाचनमा परिचालन हुन्छ भनेपछि ओलीले ‘कसरी सेना परिचालन हुन्छ ?’ भनेर सोधेका थिए । एमाले नेताहरुलाई अस्तिको भेटबारे जानकारी गराउँदै उनले भने, ‘फटाहाहरुले बालुवाटारबाट गलत समाचार फैलाए । निर्वाचन सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी बस्छ । सेना अन्तिम घेरामा हुन्छ । तर पहिलो घेरमा बस्ने नेपाल प्रहरीको अवस्था, मनोविज्ञान कस्तो छ ? भनेर सोधेको थिएँ । तर मेरो भनाइलाई गलत व्याख्या गरियो ।’
टिप्पणीहरू