केपी ओलीकै अघिल्तिर कर्ण थापामाथि धक्कामुक्की
नेकपा (एमाले) का स्थायी समिति सदस्य कर्ण थापामाथि पार्टी कार्यालयमै दुर्व्यवहार भएको छ । ११औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक कार्यक्रमका लागि च्यासल पुगेका थापालाई केही युवाले धकेलेका हुन् ।
बताइएअनुसार आज मध्यान्न पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा लोगो सार्वजनिक कार्यक्रम आयोजना गरिएको थियो । ओली गाडीबाट ओर्लिएर कार्यालय भवनभित्र प्रवेश गरिरहँदा थापा भने पहिल्यै नै त्यहाँ पुगिसकेका थिए । ओलीलाई बाटो दिन केही युवाले थापालाई धकेलेर ‘साइड’ लगाएको सार्वजनिक भिडियोमा देखिन्छ । युवाहरुले गुण्डागर्दी शैलीमा समातेपछि थापाले ‘यो के गर्न खोज्नु भा" ? के गर्न खोज्या ?’ भनेर प्रतिकार गरेका थिए ।
तर ओली अगाडि गएपछि मात्र थापालाई ती युवाहरुले छाडेको भिडियोमा देखिएको छ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नविकरण गर्नुपर्ने विषयमा पार्टीभित्र चर्को आवाज उठाउँदै आएका थापालाई ओली पक्षधर युवाहरुले अपमान गरेको प्रस्ट देखिन्छ । लोकतान्त्रिक पार्टीभित्र वैचारिक भिन्नताकै आधारमा यसरी दुर्व्यवहार हुनुलाई सामान्य मानिदैँन । आसन्न महाधिवेशनमा अध्यक्षको लागि प्रतिस्पर्धा गर्न लागेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पक्षमा खुलेका थापामाथि ओलीकै सामुन्ने धकेलाधकेल हुनुले गम्भीर प्रश्न उठाएको बताइन्छ ।
टिप्पणीहरू