लुम्बिनीको प्लेअफ सम्भावना जीवितै, पोखराको तेस्रो हार
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल)मा लुम्बिनी लायन्स विजयी भएको छ । शनिबार दिउँसो भएको पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ३ विकेटले हराउँदै लुम्बिनीले प्लेअफको सम्भावनालाई जीवित राखेको हो ।
जितको लागि १ सय ५१ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले १९.४ ओभरमा ७ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । लुम्बिनीलाई जित दिलाउन कप्तान रोहित पौडेलले सर्वाधिक ४० रन बनाउँदा निरोशन डिकवेलाले ३७, सन्दीप जोराले नटआउट २५, गुल्बादिन नैबले १७ र दिलिप नाथले १० रन बनाए ।
पोखराको लागि विपिन खत्री, म्याट टेलर र सागर ढकालले समान दुई/दुई विकेट लिँदा जेम्स निशमले एक विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा पोखराले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५० रन बनाएको थियो । पोखराले शुरुवात भने सोचेअनुरुप गर्न सकेन । पोखराले १५ रन बनाउँदा दिनेश खरेललाई पहिलो विकेट र कप्तान कुशल भुर्तेललाई दोस्रो विकेटको रूपमा गुमाएको थियो । कुशल लगातार दोस्रो खेलमा डक आउट भएका हुन् ।
त्यसपछि ब्याटिङमा आएका सुमित बर्माले खाता खोल्न सकेनन् भने तिर्तराज दासले पनि जम्मा एक रन बनाए । तर सातौ ब्याटरका रुपमा आएका जिमी निशम र ओपनर एडम रोसिङटनको जोडीले पाँचौ विकेटका लागि ९२ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई सम्मानजनक योगफलमा पुर्याएका थिए । रोसिङटनले ६३ बलमा पाँच छक्का र सात चौकाको सहयोगमा ८१ रन बनाए भने निशमले ५१ रन बनाए । अर्धशतक बनाउने क्रममा निशमले तीन छक्का र तीन चौका प्रहार गरे ।
लुम्बिनीका लागि शेर मल्ल र तिलक भण्डारीले दुई/दुई विकेट लिए भने गुलबदिन नाइबले एक विकेट हात पारे ।
जितसँगै लुम्बिनी ५ खेलबाट ४ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा उक्लिदा एक खेल कम खेल्दै दुई अंक जोडेको पोखरा सातौँ स्थानमा झरेको छ ।
टिप्पणीहरू