घुमिफिरी उतै पुगे कन्हैया
नेपालीमा एउटा चर्चित उखान छ,‘के जातिलाई चौतारो,साधुलाई सुली’ । यो प्रसिद्ध उखान वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका कर्मचारी कन्हैयाकुमार मिश्रसँग मेल खान पुगेको छ । यसअघि वैदेशिक रोजगार विभाग र कम्पनी रजिष्ट्रारको कार्यालयमा थिए उनी ।
वैदेशिक रोजगार विभागको व्यक्तिगत शाखामा हुँदा उपसचिवलाई समेत टेर्दैनथे । उनीविरुद्ध श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा थुप्रै उजुरी परेको थियो । तर,ती उजुरी भित्रभित्रै डिसमिस बनाइन्थ्यो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रशासन शाखाका कर्मचारीसँग कुरा मिलाएर उद्योग मन्त्रालय आए । त्यहाँबाट ‘मालदार अड्डा’ का रुपमा चिनिने कम्पनी रजिष्ट्रारको कार्यालय रोजाइमा पर्यो । सेयर लगतका सञ्चालकसँग मिलेमतो गरेर हिसाबमा गडबडी गरेको आरोप पनि लाग्यो । तत्कालीन कम्पनी रजिष्ट्रार ईश्वरकुमार गिरीका लागि टाउको दुखाई बने ।
अर्का कर्मचारीले हेर्ने फाइलसमेत तान्दै आफूकहाँ ल्याउँथे । अर्कालाई तोकिएको लेटरअनुसारको जिम्मेवारी खोस्थे । एकपछि अर्को उजुरी पर्दै गएपछि सचिव कृष्णबहादुर राउतले उनको टोलीलाई नै मन्त्रालय तान्यो । ‘फेरि घुमिफेरि रुम्जाटार’ भनेझैं अर्को ‘मालदार अड्डा’ मा आइपुगेका छन् ।
वाणिज्य विभागमा उनीसहित पुरै टोलीको पोस्टिङ्ग भएको छ । बजार अनुगमनको नाममा उनीहरुले बजार, पसल,गोदाम,सुपरमार्केट पुगेर मोलमोलाइ गर्ने गरेका छन् । पहिला सिल अनि डिल गर्ने रणनीति बनेको एक जना उपभोक्ताकर्मीले बताए ।
यिनै कन्हैया अहिले विभागको फर्म शाखामा छन् र वाणिज्यका महानिर्देशक रोशन ज्ञवालीलाई फनफनी घुमाइरहेका छन् ।
टिप्पणीहरू