एनपीएलमा पोखराको पहिलो जित, जनकपुरको तेस्रो हार
नेपाल प्रिमियर लिग(एनपीएल) मा पोखरा एभेन्जर्सले पहिलो जित निकालेको छ । बिहीबार बेलुकी भएको खेलमा जनकपुर बोल्ट्सलाई २५ रनले हराउँदै पोखराले प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो । यससँगै साविक विजेता जनकपुर बोल्ट्सले लगातार तेस्रो हार बेहोरेको छ ।
जितको लागि १ सय ५६ रनको विजयी लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३० रनमात्र बनाउन सक्यो । जनकपुरको लागि पहिलो खेल खेलेका वायन पर्नेलले अर्धसतक बनाउँदा अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । उनले ३८ बलमा ४ छक्का र दुई चौकाको सहयोगमा ५० रन बनाए । यस्तै संजय कृष्णमुर्तीले २५ र माज सादाकले २० रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
पोखराको लागि विपिन खत्रीले ४ ओभरमा १५ रन दिएर चार विकेट लिँदा सुमित वर्माले दुई तथा कुशल भुर्तेल र जेम्स निशमले समान एक/एक विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको पोखराले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५५ रन बनाएको थियो । पोखराको लागि सुमित वर्माले अर्धसतक बनाए । उनले २९ बलमा ४ छक्का र दुई चौका हिर्काए । यस्तै दिनेश खरेलले ३८, त्रितराज दासले २९ र इदम रोसिङटनले २४ रन बनाए ।
जनकपुरको लागि संजय कृष्णमुर्तीले ४ ओभरमा २१ रन दिएर तीन विकेट लिँदा ललित राजवंशी र अनिल शाहले समान एक/एक विकेट लिए ।
जितसँगै पोखरा तीन खेलबाट दुई अंक जोड्दै अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ भने समान खेलबाट अंकविहीन जनकपुर पुछारमा रहेको छ ।
टिप्पणीहरू