त्यो दिन, सजिलो सवाल, असजिलो उत्तर
नेपाली राजनीतिको सजिलो सवाल तर असजिलो उत्तर हो, फागुन २१ गतेको चुनाव । सवाल गर्न त सहज नै हुन्छ, तर परिणाम निकाल्न गाह्रो पर्छ । नाती पुस्ताले फू गरेर ढालेपछि रन्थनिएका पूर्व सत्ताधारीहरूमा नजानिँदो पाराले एकता पनि हुनसक्छ वा चुनावमा मेल । अथवा नयाँ भनिएका दलहरूको अपरिपक्वताको फाइदा उनीहरूलाई हुनसक्छ ।
यो त फागुन सकिँदा मात्र थाहा हुने कुरा भयो, यद्यपि २३ र २४ को आन्दोलनको अपजस नलिएको थाहा पाउन भने मिनेट लाग्दैन । भयानक शक्तिको भण्डारण गर्दै दिगो सत्ताको असफल अभ्यास गरेका कांग्रेस, एमालेले आज पनि नस्वीकारेको तथ्यलाई स्वीकारोक्तिमा परिणत गर्न भने फागुन २१ आइपुग्नु नै पर्छ । अर्थात् यो चुनाव हुनैपर्छ ।
किन चुनाव हुँदैन र रु एमाले चुनावको पक्षमा देखिएन । कांग्रेस अलमलमा छ । एमालेले महाधिवेशनको नाटक शुरु गर्यो । कांग्रेस त्यसमा पनि क्लियर छैन । एमाले संसद खोजिरहेको छ । कांग्रेस त्यता पनि गएन । तर एमाले चुनाव हुँदैन भनेर जनतामाझ गइसक्यो । कांग्रेसले त्यति पनि गर्न सकेन । सत्ताको रापतापबाट एकैचोटी चिसो भुइँमा पुग्दा अलिअलि पीडा त भइहाल्छ नि ! उता बंगलादेशबाट भागेकी शेख हसिनालाई मृत्युदण्डको सजायँँ सुनाइयो । यता २३ गतेका दमनकारीमाथि केही गर्न सकिएन । यो जनगुनासो छ । अर्थात् जनतामा हतारो छ । दोषीमाथि कडा सजायँ होस् भन्ने चाहना छ । २४ गतेको तोडफोड र आगजनीमा संलग्नहरू खोरतिर गइसके । लोकतान्त्रिक मान्यताविरुद्ध सत्ता गठजोड गरेकाहरू कोही सिंगापुर शयर गरेर आइसके । कोही गुण्डुतिर जग्गाको भाउ बढाउँदैछन् । अलि अलि वार्मअप गर्दैछ एमाले ।
आन्दोलनका नाममा अनेकन् सोच विकसित भए । आन्दोलन हाइज्याक भएपनि जेनजीहरूले चेतेनन् । नचेते कसलाई घाटा लाग्छ रु जसले नेतृत्व गर्यो, उसैमाथि प्रश्न उठ्छ । उत्तर उनीहरूले पनि दिनुपर्छ, जसले हिजो प्रश्न गरे । आज उनीहरू नै उत्तर दिने ठाउँमा छन् । सवाल सजिलो छ तर उत्तर असजिलो छ । फागुन २१ आउन धेरै दिन छैन । नेपालमा फोहोरी राजनीतिको अभ्यास छ । फोहोर हिलो पोखरीमा गाडिएका छन् दलहरूका पाइताला । त्यो हिलो पोखरीमा कमलको फूल कसरी फुलाउने रु प्रश्नचाहिँ यो हो ।
हरेक क्रान्तिपछि प्रतिक्रान्तिको प्रयास हुन्छ । २००७ सालमा राणाहरूले विद्रोह गराए । ३ सरकारहरूले पूर्वमा लिम्बू उतारे । यहाँ पनि त्यो नहोला भन्न सकिन्न । केही दिनयताको सडक नाटक त्यसैको अभ्यास हो भन्दा फरक पर्दैन । त्यो प्रजातन्त्र २०१७ मै खोसियो । यस्ता घटनाहरू पाठ हुन् । कसले छोड्छ सजिलै आफ्नो बानी रु २० वर्षअघि दरवार छाडेका राजाका नाममा त यहाँ राजनीति हुन्छ भने भर्खरै घरबारबिहीन भएकाहरूको के कुरा गर्ने रु उल्टै जेनजी विद्रोहलाई प्रतिक्रान्ति भन्न भ्याए ।
यद्यपि प्रश्न इमान र जमानको हो । २०४६ सालको परिवर्तनलाई क्रान्ति देख्ने, २०६३ को परिवर्तनलाई महान् ठान्ने तर जेनजी विद्रोहलाई सामान्य मान्ने पोलिटिकल कल्चर होइन । त्यो फोहोरी बिहारी राजनीतिको चरम अभ्यास हो । बरु बिहारमा राजनीतिक प्रणाली फेरिइसक्यो । गुण्डाराजको करिव करिव अन्त्य भइसक्यो तर यहाँ उही पारा छ । न स्वीकारोक्ति छ, न आत्मग्लानी । बरु अहंकार छ, दम्भ छ र घमण्ड । त्यति संस्कार बरु ज्ञानेन्द्रले देखाए । सहजै नारायणहिटी छाडे ।
एउटा सवाल, २०४६ सालको परिवर्तनपछि पञ्चहरू कुन दुलो पसे रु २०४८ सालमा आम निर्वाचन हुँदा पञ्चहरूको पार्टीले कति सिट ल्यायो ? हरेक परिवर्तनले एउटा उज्यालो लिएर आएको हुन्छ । नयाँ भावना र सोच विकसित गरेको हुन्छ । चाहे त्यो २००७ सालको होस्, चाहे २०६३ को परिवर्तन होस् । तर यसपटकको परिवेश अझै सहज छ । धन्न व्यवस्था गएन । नेपालको इतिहासले प्रमाणित गरेको विषय हो यो कि हरेक परिवर्तनले नयाँ व्यवस्थाको माग गरेको छ । यद्यपि जेनजी विद्रोहले लोकतन्त्र गएन । निरंकुशता आएन । गयो त, बाहरूको शासन । गयो त धर्मराएको सत्ता ।
फेरि पनि असजिलो गरी उभिएको सवाल हो फागुन २१ । के त्यसदिन चुनाव हुन्छ रु यो विषय जति जटिल छ, उति नै अहम् पनि छ । के पुराना दलहरूले नचाहे चुनाव हुँदैन ? लाग्छ, हुँदैन । तर मेरो तर्क फरक छ । सबैभन्दा पहिले एमाले चुनावमा जान्छ । र, त्यो पार्टीले फागुन २१ गतेको तयारी शुरु गरिसक्यो । बरु कांग्रेसमा त्यो चेत आएन । अरू रास्वपालगायत दल त मैदानमै छन् । किनभने चेतनाको दियो बलेपछि निभ्दैन । जनताले चाहेभने जे पनि हुन सक्छ ।
अर्को सजिलो प्रश्न छ, चुनाव नभए के हुन्छ रु राष्ट्रपति रामचन्द्र पौडेलको बडो जुक्ति फेल खान्छ । बडो जुक्तिले बचाएको व्यवस्थामाथि प्रश्न उठ्छ र व्यवस्था नै जान पनि सक्छ । यति कुरा नबुझ्ने मान्छे त राजनीतिको मैदानमा आएकै छैन । तर पनि प्रश्नलाई जटिल बनाएर उत्तर दिइरहेको छ । किन होला रु किनभने पूर्वसत्ताको रापताप जति सेलाउँदै जान्छ, उनीहरूलाई त्यो सवाल उति नै जटिल लाग्दै जान्छ । त्यसकारण चुनावले उनीहरूलाई तर्साउँदै लगेको छ । अनि जनताको नजरले सताउँदै । भ्रमको पर्दा च्यातिएपछि सकस पर्छ, जसरी झुटको खेतीबाट फल लाग्दैन । रहन्छ त डाँठ मात्र । सुख्खा खडेरीमा उम्रिएका पातले गाईवस्तु अघाउँदैनन् । मरुभूमिमा खनिएको इनारबाट पानी निकाल्न सकिँदैन ।
(जनआस्था साप्ताहिकको मंसिर ३ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू