राजदूतहरुलाई कुनै हालतमा फर्कन आदेश

राजदूतहरुलाई कुनै हालतमा फर्कन आदेश

परराष्ट्र मन्त्रालयले यसअघि फिर्ता बोलाइएका विभिन्न ११ मुलुकमा तैनाथ नेपाली राजदूतलाई तोकिएको कात्तिक २० गतेभित्रै स्वदेश आइपुग्न आदेश दिएको छ । प्रधानमन्त्री तथा विभागीय मन्त्री सुशीला कार्कीले अर्को व्यवस्था नभएसम्मका लागि विदेशबाट फर्केर परराष्ट्र मन्त्रालयमा रही कामकाज गर्न राजदूतहरुलाई निर्देशन दिनुभएको छ । 

सर्वोच्च अदालतले राजदूत फिर्ता बोलाउने सरकारको यसअघिको निर्णयमा रोक लगाउँदै हिजो अन्तरिम आदेश दिएको थियो । तर,सर्वोच्चको अन्तरिम आदेशलगत्तै भूतपूर्व प्रधानन्यायाधीशसमेत रहनुभएका प्रधानमन्त्री कार्कीले यसअघि जारी भएको हवाई टिकट नै प्रयोग गरेर कात्तिक २० गतेभित्र मन्त्रालयमा सम्पर्क गर्न आज पत्र पठाउन लगाउनुएको हो ।

चीन,जर्मनी, इजरायल, मलेसिया, कतार, रुस, साउदी अरेबिया, स्पेन, संयुक्त अधिराज्य, जापान र संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूतहरुलाई पठाइएको संयुक्त पत्रमा उक्त व्यहोरा उल्लेख छ । बोधार्थको रुपमा ती मुलुकमा रहेका नेपाली दूतावासलाई राजदूतहरु फिर्ता भएपछि सम्बन्धित नियोगका उपनियोग प्रमुखले कार्यवाहक राजदूत भई कामकाज गर्न निर्देशनसमेत दिइएको छ ।

टिप्पणीहरू