घेराबन्दीमा ‘ठूलो माछा’ !
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा १८ अर्ब रुपैयाँ बराबरको भ्रष्टाचार गरेको आरोप खेपिरहेका नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कारबाही प्रक्रिया अघि बढेपछि घेराबन्दीमा परेको अनुभव गर्न थालेका छन् । अख्तियारले विशेष अदालतमा आफूविरुद्ध मुद्दा दर्ता गर्ने तयारी गरेको सुइँको पाएपछि अधिकारीले राजनीतिक, प्रशासनिक र न्यायिक सञ्जालमार्फत् आफूलाई जोगाउने प्रयास थालेको बताइन्छ ।
तर सबै प्रयत्न विफल बन्दै गएको उनी निकट स्रोतले बतायो । अख्तियारले गत वर्षदेखि नै पोखरा विमानस्थलमा भएको ठेक्का वितरण,परामर्शदाता छनोट,भुक्तानी प्रक्रिया र लागत मूल्यांकनमा भएको अनियमिततामाथि अनुसन्धान अघि बढाएको छ । प्रारम्भिक प्रतिवेदनले लागत कृत्रिम रूपमा बढाइएको र भुक्तानीमा दोहोरो बिलिङ गरिएको पुष्टि गरेको छ। अख्तियार स्रोतका अनुसार, ‘यस प्रकरणमा ठेकेदार, परामर्शदाता र प्राधिकरणबीच मिलेमतोको प्रमाण प्रशस्त छ।’
फाइल अन्तिम तयारीमा पुगेर अधिकारीले आफूविरुद्ध मुद्दा दर्ता हुन लागेको जानकारी पाएपछि ‘सेटिङ अभियान’को प्रयास थालिएको बताइन्छ।
पूर्व प्रधानन्यायाधीश प्रयोगको प्रयास
स्रोतका अनुसार, केही साताअघि अधिकारीले एकजना पूर्व प्रधानन्यायाधीशलाई हेलिकोप्टर चार्टर्डमा राजधानी बाहिर पुर्याएर गोप्य भेटघाट गरेका थिए। सो क्रममा उनले प्रधानमन्त्री र अख्तियारका अधिकांश अधिकारीहरूलाई “मिलाइसकेको” दाबी गर्दै प्रेम राईमाथि दबाब दिन आग्रह गरेका थिए। स्रोत दाबी गर्दे भन्छ, ‘आर्थिक प्रलोभनसमेत दिएको तर ती पूर्व प्रधानन्यायाधीशले उनको प्रस्ताव अस्वीकार गर्दै जेन जी आन्दोलनपछि देश पुरानो अवस्थामा नरहेको जवाफ दिए ।’
प्रधानमन्त्रीसम्म सन्देश, हस्तक्षेप अस्वीकार्य
अधिकारीसँगको भेटवार्तापछि ती पूर्व प्रधानन्यायाधीशले प्रधानमन्त्री सुशिला कार्कीसँग भेट गरेको बुझिएको छ । भेटको औपचारिक कारण ‘जलेको काठमाडौं जिल्ला अदालतलाई अस्थायी रूपमा बबरमहलस्थित नागरिक उड्डयन प्राधिकरणको भवनमा सार्ने प्रस्ताव’ भए पनि वास्तविक उद्देश्य उनै अधिकारीविरुद्धको मुद्दा रोक्नु रहेको सोही स्रोतले बतायो ।
भेटका क्रममा प्रधानमन्त्रीले स्पष्ट भन्नुभयो, ‘म अख्तियारको मामिलामा हस्तक्षेप गर्न सक्दिनँ ।’ त्यसपछि अधिकारीले प्रधानमन्त्रीसँग छुट्टै भेट्ने प्रयास गरे पनि अस्वीकारको सन्देश आएको बुझिएको छ ।
अख्तियार प्रमुखको अडान
अख्तियार प्रमुख प्रेम राईको नेतृत्वमा भएको अनुसन्धानमा उनीविरुद्धको फाइल अन्तिम तयारीमा पुगेको आयोग स्रोतको दाबी छ । राईमाथि राजनीतिक र प्रशासनिक दबाब परेको भए पनि उनले अडान नछाडेको उल्लेख गर्दै राईको भनाई उद्धृत गर्दै स्रोत भन्छ, ‘मुद्दा जुनसुकै होस्, प्रमाण पुगेपछि म थाम्दिनँ ।’
‘सेटिङ’ असफल
अख्तियारका अधिकारीहरु प्रदिप विरुद्धको मुद्दा सामान्य नभएकाले ‘देशकै सबैभन्दा ठूलो माछा’ को रुपमा चिनिने बताउँछन् । मुद्दा दायर भएको अवस्थामा उनीमाथि पद दुरुपयोग, गैरकानुनी लाभ आर्जन र आपराधिक मिलेमतोका अभियोग लाग्नेछन् ।
अख्तियारको परीक्षा
ठूला भ्रष्टाचारका मुद्दा प्रायः ‘सेटिङ’मा हराउने नेपालमा यो प्रकरण अख्तियार र सरकार दुवैका लागि ‘परीक्षण’ बन्ने निश्चित छ । भ्रष्टाचारविरुद्ध अख्तियार प्रमुखको दृढता र प्रधानमन्त्री सुशीला कार्कीको निष्पक्ष भूमिका कायम रहेमा यसपटक नयाँ मान्यता स्थापित हुने अवस्था देखिन्छ ।
टिप्पणीहरू