फौजी कुकुरको तिहार (फोटो फिचर)
आज यमपन्चकको तेस्रो दिन कुकुर तिहार । बिहानैदेखि कुकुरको पूजा गरिँदैछ । आजका दिन कुकुरलाई पूजा गरेर मिठा खानेकुरा दिइन्छ ।
सोहीक्रममा अपराधी पत्ता लगाउन प्रयोग गरिने ‘फौजी कुकुर’ को पनि पूजा गरिएको छ । महाराजगञ्जस्थित प्रहरी केनाइन महाशाखा (कुकुर तालिम केन्द्र) ले कुकुरको पूजा गरेको हो ।
प्रहरी अनुसन्धानमा कुकुरको भूमिका निकै महत्वपूर्ण मानिने गरिएको छ । जटिल प्रकारका अनुसन्धानमा कुकुरलाई समावेश गराउने गरिन्छ । कुनै ठाउँमा बम लगायतका शंकास्पद वस्तु फेला परेमा पहिलो अनुसन्धानमा नै कुकुरको प्रयोग हुन्छ ।
महाशाखाले कुकुरको सम्मानमा हरेक वर्ष कुकुर तिहारको दिन विभिन्न प्रकारका खेल खेलाएर तथा खानपान गराइ पूजा गर्ने गरेको छ । अनुसन्धानमा सघाउने कुकुरको पूजा गर्न पाउँदा खुशी लागेको प्रहरी अधिकृतहरूले बताए ।
महाशाखाका कुकुरहरूले हातहतियार तथा विष्फोटक पदार्थ, लागुऔषध, खोज तथा उद्धार र ट्रयाकको अनुसन्धान गर्ने काम गरिरहेको छ । नेपाल प्रहरीसँग अनुसन्धानमा सघाउने ८ प्रजातीका कुकुरहरु रहेको बताइएको छ ।
कार्तिक कृष्ण चतुर्दशीका यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिन्छ । वैवश्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामासमेत साथ दिएको धार्मिक विश्वास छ ।
वैवश्वत मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रूपमासमेत स्थापित भएको छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ ।
आजकै दिन साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पनि गरिँदैछ । यो पटक कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको हो ।











टिप्पणीहरू