चीनका नयाँ गन्तव्यमा पुग्दै विदेशी पर्यटक
चीनको सहज र उदार भिसा नीतिका कारण विदेशी पर्यटकहरुको संख्या ह्वात्तै बढेको छ । १० दिनसम्मको ट्रान्जिट भिसामुक्त सुविधामा चीन पुगेका विदेशी पर्यटकहरु चीनका कम परिचित गन्तव्यहरूतर्फ आकर्षित भइरहेका छन् ।
उदाहरणका लागि दक्षिणपश्चिम चीनको श्वाङह गुफा यसको प्रमाण बनेको छ । एसियाकै सबैभन्दा लामो उक्त गुफामा पर्यटकरुले गुफाभित्र अब्सेलिङ र रक क्लाइम्बिङ जस्ता साहसिक गतिविधि गर्न सक्ने भएकाले उनीहरु आकर्षित भएको बताइन्छ ।
उता पूर्वी चीनको आन्हुई प्रान्तका स–साना गाउँमा पनि विदेशीहरू स्थानीयको घरमा होमस्टेमा रमाउन थालेका छन् । होमस्टेमा रहँदा उनीहरुले रैथाने परिकारको स्वाद लिने गरेका छन् ।
चीन घुम्न पुगेका एकजना नर्वेजियन पर्यटक भन्छन् : ‘पहिलो दिन हामी नदीमा राफ्टिङ गर्न गयौँ, जुन निकै रमाइलो भयो। स्थानीय स्वादिला र धेरै किसिमका परिकारहरू खान पाइयो।’
त्यसैगरी, अत्यधिक लोकप्रिय गन्तव्यको रुपमा रहेका द ग्रेट वालजस्ता स्थानबाट टाढा रहेका गन्तव्यमा पनि केही पर्यटकहरू पुग्न थालेका छन् । उनीहरुले भीडभन्दा टाढाको ‘अफ–द–बिट–पाथ’ अर्थात् फरक र शान्त स्थान रोजेको बताइन्छ ।
सिक्सिया गाउँ बेइजिङकै एउटा भाग हो, जुन तीन तर्फबाट ग्रेट वालले घेरिएको छ।अद्वितीय अनुभव खोज्ने पर्यटकका लागि सिक्सिया गाउँ भीडभाडमुक्त र लामो लाइनबिना नै दृश्यावलोकन गर्न सकिने उत्कृष्ट विकल्प बनेको छ।
जर्मन पर्यटक भन्छन् : ‘हामी बसेको होमस्टे साँच्चै अद्भूत छ । वरपर शान्त ग्रामीण बाटाहरु, सुन्दर पहाड र हरियाली छ । समग्रमा, यहाँको अनुभव असाधारण छ।’
बेइजिङस्थित एक अनलाइन ट्राभल प्लेटफर्मकाअनुसार, विदेशी पर्यटकका उडान बुकिङ तीव्र गतिमा बढेको छ । यसरी बुकिङ बढेका शीर्ष २० शहरमध्ये सबै तेस्रो श्रेणीका वा साना शहरहरू हुन् ।
स्रोत : सिसिटिभी प्लस ।
टिप्पणीहरू