ज्येष्ठ नागरिक हेरचाहमा चिनियाँ युवाको आकर्षण

तीव्र गतिमा बढ्दै गएको ज्येष्ठ नागरिकको संख्याको सामना गर्न चीनले ज्येष्ठ नागरिक हेरचाह सेवामा थप युवालाई सहभागी गराउँदै गएको छ ।

चीनको नागरिक मामिला मन्त्रालयका पछिल्लो तथ्यांकअनुसार २०२३ को अन्त्यसम्म देशमा ६० वर्षभन्दा माथिका जनसंख्या २९ करोड ७० लाख पुगेको देखिन्छ । यो संख्या कुल जनसंख्याको करिब २१ प्रतिशत हुन आउँछ ।

बेइजिङस्थित एक ज्येष्ठ नागरिक हेरचाह केन्द्रकी नयाँ कर्मचारी फेङ जिहानका अनुसार, यो क्षेत्र केवल सेवा दिने मात्र नभई वृद्धवृद्धाको सहयोग, घरमै हेरचाह र आवास सुधारजस्ता कार्यसँग सम्बन्धित छ। उनले भनिन्, ‘वृद्ध हेरचाह केवल सेवा होइन, यसमा वित्तीय व्यवस्थापन र आवास सुधारसम्बन्धी पहल पनि पर्छ। म यसको जिम्मेवारी पूरा गर्न सक्दो प्रयास गर्नेछु।’

त्यसैगरी, बेइजिङकै अर्को ज्येष्ठ नागरिक हेरचाह केन्द्रका मानव स्रोत निर्देशक ली जिनका अनुसार अहिले युवाहरू यस क्षेत्रमा काम गर्न बढी इच्छुक देखिन्छन् । उनी भन्छन्, ‘यस वर्ष मात्रै हामीले २०० भन्दा बढी प्रशिक्षार्थी भर्ती गरेका छौँ। हाम्रो केन्द्रमा करिब ६० प्रतिशत स्वास्थ्यकर्मी युवा छन्।’

रोजगार संस्थाहरूले दिएको विवरणअनुसार ज्येष्ठ नागरिक हेरचाह केन्द्रहरूमा स्वास्थ्यकर्मीको माग २०२४ को तुलनामा करिब ४० प्रतिशतले बढेको छ। यो वर्ष चीनको राज्य परिषदले २०२९ सम्म ज्येष्ठ नागरिकको जीवनशैली र हेरचाहलाई पूर्ण रूपमा विकसित गर्ने लक्ष्यसहित नयाँ कार्यदिशा सार्वजनिक गरेको छ ।

स्रोत : सिसिटिभी प्लस ।

टिप्पणीहरू