‘सांसद हुँ’ भनेपछि होटल म्यानेजरको अर्डर : ‘गेट आउट’
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानबहादुर शाहीलाई काठमाडौंको एक पाँचतारे होटलका म्यानेजरले बाहिर निकालेको खुलासा भएको छ। काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा शाहीले आफूखुशी गर्न थालेपछि म्यानेजरले ‘नियम नमान्ने भए बाहिर जानुस्’ भन्दै उनलाई आदेश दिनुपरेको बताइन्छ ।
स्रोतका अनुसार शाही आज मध्यान्ह साढे १२ बजेतिर होटल पुगेका थिए । करिब १ बजेतिर उनले केही युट्युबरलाई बोलाएर अन्तर्वार्ता रेकर्ड गर्न लगाए । युट्युबरहरूलाई कफी खुवाउँदै अन्तर्वार्ताका लागि क्यामेरा तयार गर्न भनेपछि होटलको रेष्टुरेन्टमा हलचल मच्चिएको थियो ।
त्यतिबेला रेष्टुरेन्टमा विदेशी पर्यटक र अन्य ग्राहकको भीड थियो। ‘बस्ने ठाउँ नै थिएन, उहाँका मान्छेहरूले सबै सोफा ओगटेका थिए, एकछिन रेष्टुरेन्ट नै भद्रगोल भयो,’ एक प्रत्यक्षदर्शीले भने ।
अन्तर्वार्ता सुरु भएको केही मिनेटमै होटलकी एक कर्मचारीले ‘यहाँ खिच्न पहिले अनुमति लिनुपर्ने हुन्छ’ भन्दै सम्झाउँदा शाहीले ‘म सांसद हुँ, यहीँ आइरहने मान्छे हुँ’ भन्दै ठूला कुरा गरेपछि माहौल चर्किन पुगेको हो । केही समयपछि होटलका म्यानेजर आफैं पुगेर शान्तिपूर्वक सम्झाउने प्रयास गरे।
‘अनुमति बिना यहाँ अन्तर्वार्ता खिच्न पाइँदैन, यो हाम्रो होटलको नियम हो,’ म्यानेजरले भनेका थिए। तर, शाहीले आफ्नो ‘सांसद’ परिचय देखाएर सोफाबाट उठ्न अस्वीकार गरेपछि म्यानेजरले कडा स्वरमा भने, ‘हाम्रो नियमले कोही सांसद चिन्दैन सर, नियम नमान्ने भए जान सक्नुहुन्छ।’
त्यसपछि शाही र म्यानेजरबीच केही बेर भनाभन भएको बताइन्छ । सो क्रममा नेकपा (माओवादी) निकट अखिल क्रान्तिकारीका एक नेता पनि त्यहाँ पुगेका थिए। ती नेताले व्यङ्ग्य गर्दै भने, ‘यतिखेर संसद नै छैन, कहाँका सांसद रहेछन् !’
होटलबाट बाहिरिँदै गर्दा शाहीले सानो स्वरमा ‘खतम रहेछ यो होटल, अस्ति यहाँ आगो लगाउनुपर्ने रहेछ’ भन्ने टिप्पणी गरेको स्रोतको दाबी छ। म्यानेजरले सो कुरा अस्पष्ट सुनेर ‘के भन्नुभयो सर ?’ भनेर सोध्दा शाही नबोली निस्किएका थिए।
स्रोतका अनुसार शाही यसअघि पनि सोही होटलमा युट्युबरहरूको भीड लगाउने गर्थे। कर्मचारीहरूले पटक–पटक सम्झाउँदा पनि उनले बेवास्ता गर्दै आएका थिए। आजको घटनापछि होटल व्यवस्थापनले शाही पुनः आउँदा निगरानी राख्न निर्देशन दिएको बताइएको छ।
टिप्पणीहरू