परिसरमा जेन–जी र अखिल आमनेसामने, निवेदनलगत्तै सुधन छिरे बालुवाटार
जेन–जी प्रदर्शनमा गोली चलाउन आदेश दिएको आरोप लागेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नुपर्ने माग गर्दै जेन–जी समूह र शहीद परिवारले प्रहरीमा जाहेरी दिएका छन् । हामी नेपाल एनजीओका संस्थापक सुधन गुरुङसहितले आज अपरान्ह ४ बजेको समयमा भद्रकालीस्थित काठमाडौँ प्रहरी परिसरमा पुगेर निवेदन बुझाएका हुन् ।
परिसरले भने उक्त निवेदन जेन–जी घटनामाथि छानबिन गर्न सरकारले बनाएको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगसमक्ष पौने ५ बजे पठाएको बुझिएको छ । प्रहरी परिसरमा निवेदन बुझाएपछि सुधन गुरुङ पौने ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छिरेको स्रोतको दाबी छ ।
यता, नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु पनि काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह र सुधनविरुद्ध काउन्टर जाहेरी दिन पुगेको छ । उक्त संगठनका नेताहरू पनि ४ बजेको समयदेखि प्रहरी परिसरमा छन् ।
जेन–जी प्रदर्शनको क्रममा बालेन्द्र र सुधनले भीडलाई उक्साएर सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, राष्ट्रपति भवनलगायत सरकारी संरचना र अन्य निजी निवास र व्यापारिक भवनमा आगो लगाउन प्रेरित गरेको अनेरास्ववियुको दावी छ ।
तस्बिरहरु




टिप्पणीहरू