जागेको जेनजी र ढलेको बूढो सरकार, दोसाँधमा समावेशी
सामाजिक सञ्जाल आजको विश्वको मुख्य आधार हो । नेपालको करिब ६०% जनसंख्याले यसलाई सूचना र मनोरञ्जनको स्रोतका रूपमा प्रयोग गरेको देखिन्छ । केहीले यसलाई पेशाको रूपमा पनि विकास गरेका छन् । सबैको प्रिय बनेको यस मञ्चलाई ओली सरकारले बिना तयारी छेकबार लगायो । त्यसपछि नै जेनजीको आवाज झन् चर्को रूपमा सुनिन थालेको हो ।
सामाजिक सञ्जालमाथि प्रतिबन्ध लाग्नुअघि केही जेनजी समूहले रेडिट नामक एपमा ‘नेपो किड्स’ अर्थात नेताका छोराछोरीको रइस जीवनशैली उत्खनन अभियान सञ्चालन गरेका थिए । डडेल्धुराबाट आएका नेताको सम्पत्ति कति छ ? उनको पेशा यही राजनीति हो भने त्यसबाट कति आयआर्जन होला ? हिसाबकिताब गर्ने हो भने महँगोमा जेनतेन जीवन त चल्ला, तर हातमा रोलेक्स घडी, काँधमा गुचीको झोला पुख्र्यौली सम्पत्तिबाट कुनै हालतमा पूरा हुन सक्दैन । अन्य नेतामाथि पनि प्रश्न उही हो—गोडामा हात्ती छाप चप्पल लगाएर हिंड्ने जनताको नेता रातारात कसरी अर्बपति भयो ?
यी तमाम प्रश्न उठ्ने नै भए । नेताहरू भ्रष्टाचार, नातावाद, कृपावाद र दलालतन्त्रमा लिप्त भएरै यस्तो भएको हो । सन् १९९७ देखि २०१२ भित्र जन्मेको पुस्ताले भदौ २३ गते काठमाडौंसहित देशका विभिन्न ठाउँमा आगो बालेको थियो । उक्त आन्दोलनमा करिब ७४ युवाको मृत्यु भयो । सयौं घाइते भए । खर्बौँको क्षति भयो ।
सम्भवतः २७ घण्टामै सत्ता परिवर्तन गरी राजनीतिक उथलपुथल गर्न सफल भएको यो पहिलो घटना हुनसक्छ । यद्यपि यस्ता आन्दोलन अहिले संसारभर अभ्यासमा छन् । भदौ २३ काठमाडौंमा भएको युवा आन्दोलन त्यसकै एउटा उदाहरण हो । विशेषगरी जुन राष्ट्रमा राजनीतिक अस्थिरता, गरिबी, बेरोजगारी, भ्रष्टाचार थेग्नै नसक्ने हुन्छ, त्यहाँको नवपुस्ताले आन्दोलनको नेतृत्व गरेको देखिन्छ । श्रीलंका, बंगलादेश, इण्डोनेसिया र अहिले नेपालमा भएको आन्दोलनको स्वरूप उही हो ।
तर, जेनजी पुस्ता भनिरहँदा जो कोही आक्रोशित युवाको मागलाई प्राथमिकता दिनु न्यायोचित हुँदैन । काठमाडौंसहित शहरमा बस्ने युवाहरू मात्रै जेनजी होइनन् । अरबको तातो घाममा रगतपसिना बगाएर राज्यलाई रेमिटेन्स पठाउने पनि जेनजी नै हुन् । करिब चार हजार वर्षदेखि जात व्यवस्थाबाट प्रताडित लाखौं दलित पनि जेनजी हुन् । हजारौं यौनिक अल्पसङ्ख्यक, मुस्लिम, पिछडिएका क्षेत्रका युवा पनि जेनजी नै हुन् । उनीहरूको माग र आवश्यकता अरू जेनजीकै जस्तै छन् । यस बाहेक सीमान्तकृत उत्पीडित जेनजीको माग विशेषगरी समावेशी समानुपातिक प्रणाली हो, जसलाई जेनजीलगायत सबैले गम्भीर भएर मनन गर्नुपर्छ ।
दोसाँधमा समावेशी मुद्दा
जेनजी पुस्ताले पहिलोपटक महिलालाई सरकार प्रमुख बनाएको छ । सदियौँदेखि सामाजिक संरचनात्मक लाभांशको रजगजमा हुर्केका जात–समुदायले एकलौटी उपभोग गर्दै आएको अधिकारलाई समावेशी समानुपातिक सिद्धान्तले क्रमभङ्ग गरेको थियो । दलित, मधेसी, महिला तथा उत्पीडित वर्गलाई सामाजिक, आर्थिक, राजनीतिक रूपमा अगाडि बढाउन यसले मद्दत गरेको थियो । समावेशी सिद्धान्तले नेपाली समाजलाई रूपान्तरणको बाटोमा हिंड्न सिकाइरहेको थियो ।
तर अहिले जेनजीको आन्दोलनबाट सिर्जित परिस्थितिले सीमान्तकृत समुदायको हकअधिकार परिवर्तनका नाममा तोडमोड हुन्छ कि भन्ने डर बढेको छ । अर्कोतर्फ, जेनजी पुस्तामा नेपाली समाजको संरचना र अवस्थाप्रति ज्ञान र जानकारीको कमी देखिन्छ । उनीहरूमा समालोचनात्मक चेतको पनि अभाव छ ।
जेनजीले गर्नुपर्ने काम
युवा शक्ति, अझ विशेषगरी जेनजी जसको उमेर २८ वर्षमुनि छ, उनीहरू राष्ट्र निर्माण, सामाजिक परिवर्तन, विकास र सुशासनका संवाहक हुन् । देशको आशा, भरोसा, सपना र विपना उनीहरूकै काँधमा टेकेको छ ।
वास्तवमै जेनजीलाई परिवर्तन चाहिएको हो भने त्यसको शुरुवात स्वयंबाट हुनुपर्छ । आफ्नै समुदायमा रहेका कुसंस्कार, कुरीति र प्रथाको अन्त्य जेनजीकै पहलमा हुनुपर्छ । राजनीतिक चेतना, निर्वाचन शिक्षा, समावेशी समानुपातिक अवधारणा, विकास र सुशासनका विषयमा उनीहरू सजग र जानकार हुनुपर्छ ।
यो देशको नीति, नियम, कानुन र अग्रगामी विचारको विकास हुनुपर्छ । व्यक्तिवादी परिपाटीको अन्त्य गरी समुदायवादी सिद्धान्तलाई प्राथमिकतामा राख्नुपर्छ । अनि मात्र देशको विकास सम्भव हुन्छ ।
टिप्पणीहरू