जेन जीको आन्दोलनमा रवि, बालेन र झोलेहरूको चर्चा

जेन जीको आन्दोलनमा रवि, बालेन र झोलेहरूको चर्चा

गत भदौ २३ र २४ गतेको जेन जी उपद्रवमा छ दर्जन बढी जनाको ज्यान गएको छ । एक हजार सात सयभन्दा धेरै घाइते भएकामध्ये अधिकांश काठमाडाैँका विभिन्न अस्पतालमा उपचाररत छन् । भ्रष्टाचार अन्त्य, सुशासन कायम, सामाजिक सञ्जाल सञ्चालन जस्ता माग राखेर विद्यालय पोशाकमै माइतीघरदेखि नयाँबानेश्वरसम्म सडकमा उत्रिएकाहरूमाथि अन्धाधुन्ध गोली चलाउँदा पहिलो दिन नै १९ जनाको ज्यान गएको थियो।

नरसंहारको विरोधमा भोलिपल्ट जेनजीले प्रदर्शन गर्दाको घुसपैठले अर्कै मोड लियो। केही स्वार्थ समूहले सरकारी, सार्वजनिक र नेताका घर छानीछानी खोजी गर्दै आगजनी गर्न थाल्यो । देशको प्रमुख प्रशासन केन्द्र सिंहदरबार जल्यो, न्यायको प्रतिमूर्ति सर्वोच्च अदालत जल्यो, प्रहरी कार्यालय जले, प्रहरीको गोली लागेर केही आन्दोलनकारीको मृत्यु भयो। दुई दिनको आन्दोलनमा अहंकारी सरकार ढल्न बाध्य भयो ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ। अझै यसले पूर्णता पाउन सकेको छैन। नयाँ मन्त्रिमण्डलले प्रतिनिधिसभा बिघटन गरी फागुन २१ गतेका लागि निर्वाचन मिति तोकिएको छ । शहीद परिवार र घाइतेहरूले आफ्नो रगतमाथि खेलबाड नहोस् भनेर सरकारलाई चेतावनी दिइरहेका छन्। उनीहरूले कसैलाई सत्तामा पुर्याउनभन्दा पनि समाजमा व्याप्त भ्रष्टाचार र कुशासन अन्त्यका लागि बलिदान गरेका हुन्।

आन्दोलनपछि पटक–पटकका पत्रकार सम्मेलनमा घाइतेहरूले शहीद परिवार र घाइतेको जीविकोपार्जनबारे ठोस कार्ययोजना बनाउनुपर्ने माग राखेका छन्। केही घाइतेले अस्पतालकै बेडबाट आफ्नो रगत खेर जाने अवस्था आउँछ कि भन्ने चिन्ता पनि व्यक्त गरेका छन्। जुनसुकै आन्दोलनमा शहीद भएका व्यक्तिहरू राजनीतिक स्थिरता, परिवर्तन र विकासका लागि रगत बगाएका र बलिदान दिएका हुन्।

सैनिक ब्यारेकमा एक हप्ता गुप्तबास बसेका तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली संविधान दिवसको छेको पारेर भक्तपुरको गुण्डुस्थित एक कार्यकर्ताको घरमा डेरा लिन पुगे । त्यसै दिन उनले आन्दोलनकारीले स्वःचालित हतियार चलाएको भन्दै पानीमाथिको ओभानो बन्ने कोशिश गरेका थिए। हत्यारालाई कानुनी कठघरामा उभ्याउन र शहीदको रगत सुक्न नदिन पक्कै पनि अन्तरिम सरकार सक्षम हुनेछ। सुशीला कार्कीको सरकारले यी काम फत्ते गरेर आगामी फागुनमा चुनाव सम्पन्न गर्दै जनताको नयाँ म्यान्डेट लिएर आएकाहरूलाई देशको शासन व्यवस्था सुम्पिने आशा गरौं।

आन्दोलनमा घुसपैठ भयो भनेर एमाले, कांग्रेस र माओवादी नेताहरूले भनिरहेका छन्। तर उनीहरूले ठोस रूपमा भन्न सकेका छैनन्, कसले घुसपैठ गर्यो ? आन्दोलनमा यदि घुसपैठ भएको हो भने रास्वपाले गरेको, बालेन साहले गरेको वा दलहरूकै झोले कार्यकर्ताले गरेको भन्ने स्पष्ट छैन, जसलाई दलकै नेताले वर्षौँदेखि प्रशिक्षण दिएर पालन पोषण गरी राखेका थिए।

यदि रास्वपाको स्वार्थ जोडिएको थिएन भने किन रविलाई हुलहुज्जत गएर नख्खु कारागारबाट निकालिन्थ्यो ? देशको प्रधानमन्त्री बन्ने योजनासँगै कारागारबाट नक्कली पत्र बनाएर आफूलाई सफाई दिएको भन्दै नत्र किन सामाजिक सञ्जालबाट लाइभ गर्नुपथ्र्यो? 

बालेन र उनका मान्छेको घुसपैठ र सहभागिता रहेको हो भने उनले २३ गते आन्दोलनकारीका लागि बानेश्वरमा घुम्ती शौचालय सञ्चालन गरिदिएका थिए। एक वर्षअघि सिंहदरबार जलाउनुपर्छ भन्ने अभिव्यक्ति सामाजिक सञ्जालबाट फैलाएका बालेन र उनका समर्थकले अहिले सिंहदरबार जलाउनु कुन नौलो कुरा भयो ? गृहमन्त्री बालेनकै मान्छे बन्नुले पनि बालेनको उक्साहटमा उनका समर्थक रहेको ठोकुवा गर्न भने सकिन्छ।

टिप्पणीहरू