फोहोरको थुप्रोमा हत्कडी र पिस्तोल
२८ वटा जेलबाट भागेका झण्डै १४ हजार कैदीबन्दीमध्ये सात हजार फर्किएकोमा बाँकी कोही भारत पसेका छन् भने कोही दशैं मनाउने गरी यतै लुकेर बसेका छन् । तर, प्रहरी हिरासतमा रहेका कति थुनुवा भागे ? तीमध्ये कति पक्राउ परे ? त्यसको चाहिँ लेखाजोखा नै छैन ।
विभिन्न कसुरको अनुसन्धानका लागि काठमाडौं उपत्यकाभित्र तीन जिल्लाका प्रहरी वृत्तमा सयौंको संख्यामा थुनुवा थिए । जेनजी विध्वंशको फाइदा उठाएर ६९९ थुनुवा भागेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका सूचना अधिकारी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालले बताए ।तीमध्ये पक्राउ परेकाको विवरण तयार भइनसकेको उनको भनाइ छ । भने, ‘उपत्यकाका तीन वटा परिसर, काठमाडौंका १८ वटा, भक्तपुर र ललितपुरका दुई–दुई वटा वृत्त गरी २१ वटाबाट मुद्दा चलाइन्छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा मानव बेचबिखनका मात्रै १३ जना थुनुवा थिए । उनीहरू सबै फरार छन् । यता, बानेश्वर वृत्तबाट ६६ जना भागेकोमा ६१ जनाको म्याद थप गरिसकिएको थियो । अराजक भीडका कारण ज्यान बचाउन प्रहरी आफैं भागेपछि ती थुनुवालाई सजिलो भयो । त्यसरी भागेका कतिपयले प्रहरी चौकीमा तोडफोड, आगजनीलगायत आपराधिक क्रियाकलाप गरेको स्रोत बताउँछ । उनीहरूले नै प्रहरीलाई कुटिकुटी मारेकोसमेत बुझिएको छ । जेनजी विध्वंशमा तीन प्रहरी कर्मचारीको मृत्यु भएको छ भने सयौं घाइते छन् । प्रहरी प्रभाग कोटेश्वरका असई अमृत गुरुङ्ग, प्रहरी वृत्त महाराजगञ्जका असई मिलन राय र प्रहरी जवान उत्तम थापालाई चारैतिरबाट घेरेर मरणासन्न हुनेगरी कुटिएकोमा उनीहरूको घटनास्थलमै मृत्यु भएको थियो । कोटेश्वरको प्रहरी चौकीमै बसिरहेका एक जना इन्स्पेक्टरको परिवारले भने भागेर ज्यान जोगाएको छ ।
स्रोत भन्छ, ‘कतिले जेलबाट निस्किएपछि बदला लिने काम गरे । प्रहरी कार्यालय जलाउन, तोडफोड र प्रहरीको हत्या गर्नमा पनि उनीहरूकै हात छ ।’ प्रहरी स्रोतका अनुसार देशभरका हिरासतबाट ६ देखि सात हजारको संख्यामा थुनुवाहरू फरार भएका छन् । दशैंको तलब प्रहरीहरूले बैंकबाट निकालेर राखेका थिए । त्यो लुटिएको छ । गलामा भएको सुनको सिक्री, औंलामा भएको औंठी पनि खोसिएको छ ।
कारागार र प्रहरी हिरासतबाट भागेका कैदीबन्दी र थुनुवाका कारण सुरक्षा चुनौती बढेको छ । करिब सात हजार अझैपनि बाहिर छन् । तीमध्ये कति जिल्ला त कति उच्च र सर्वोच्च अदालतबाट दोषी ठहर भएर जेल चलान भएका थिए । एक जनाले कारागारबाट निस्किनेबित्तिकै श्रीमतीको हत्या गर्न भ्याए । अर्का एकले महिलामाथि बलात्कार प्रयास गरेका छन् । दोषी ठहर भई पुर्पक्षका निम्ति कारागार चलान भई हुलमै निस्किएकाहरूबाट समाज त्रसित छ । चाडपर्वको मुखमा उनीहरूले कुनै अपराध गर्ने हो कि भन्ने चिन्ता थपिएको छ । ‘प्रहरीले जो पायो, त्यसलाई ल्याएर थुन्ने होइन । कुनै क्राइममा जोडिएका थिए, त्यसैले पक्राउ गरियो । अदालतले दोषी देखेपछि कारागार चलान गर्यो । त्यस्ता व्यक्ति बाहिर आउनु भनेको समाजमा खतरा बढ्नु हो । उनीहरूलाई धमाधम नसमात्ने हो भने भयावह स्थिति आउन सक्छ’, स्रोतले भन्यो ।
दुई दिने विध्वंशमा प्रहरी कार्यालय जलाउने मात्र होइन, बर्दी र हतियार लुट्नेसम्मका अपराधिक क्रियाकलाप भएको छ । प्रहरीलाई पोशाक फुकाल्न लगाएर अपराधिक मानसिकता भएका जत्थाले आफैं लगाएका छन् ।सो घटनामा सयौं सेट वाकीटकी लुटिएको छ । १५ सयभन्दा बढी सानाठूला हतियार हराएका छन् । काठमाडौं परिसरसहित विभिन्न कार्यालयले सूचना जारी गरेर हतियार फिर्ता गरिदिन आग्रह गरिरहेको भए पनि फाट्टफुट्टले मात्रै फर्काइरहेका छन् । अधिकांश हतियार अझै पनि सर्वसाधारणसँग छ ।
सुकुम्बासी बस्ती र होस्टेलमा बसोबास गर्नेहरूसँग हतियार रहेको अनुमान छ । ती हतियारको दुरूपयोग हुने सम्भावना व्यापक छ ।स्रोतका अनुसार प्रदर्शनी मार्गस्थित फोहोरको थुप्रोमा ३१ वटा हत्कडी र १४ वटा पेस्तोल भेटिएको छ । त्यसैगरी, असनमा दुईवटा पेस्तोल, झण्डै १५ जोर बुट र केही पोशाक फेला परेको छ । मुलुकमा पुनः अहिलेको जस्तै आन्दोलन या र्याली भएमा ती हतियार दुरूपयोग हुनसक्ने जोखिम छ । ‘६ महिनामा चुनाव घोषणा गरिएको छ । अधिकांश हतियार अहिले पनि पब्लिकको हातमा छ । जसले शान्तिसुरक्षामा एकदमै चुनौती थपिएको छ । कुनै क्रिमिनल ब्याकग्राउण्ड भएको व्यक्तिको हातमा सो हतियार पुग्यो भने अवश्य पनि मिसयुज हुन्छ । अहिलेको जस्तै आन्दोलन भएमा उनीहरूले सो बन्दुकले लुकेर हान्छन्’, स्रोतले भन्यो ।
सूचना निकालेर मात्र हतियार फिर्ता नआउने स्रोत बताउँछ । गृह प्रशासन गम्भीर नभएसम्म हतियार व्यक्तिकै हातमा रहने र जुनसुकै बेला जेपनि हुनसक्ने देखिन्छ ।२४ गते सिंहदरबार र सर्वोच्च अदालत जलाइँदा ५० मीटरको मात्रै दूरीमा रहेको सेना मुकदर्शक बन्यो । सर्वोच्चमा छलफल गरिरहेका प्रधानन्यायाधीशसहितको टोलीलाई पिएसओले बचाएका हुन् । उनीहरूले सर्वोच्चमा आगजनी हुनुभन्दा १० मीनेट अगाडि हतारहतार न्यायाधीशहरूलाई ब्यारेकमा छिराएका थिए । कूटनीतिक पासपोर्ट, कोट र डकुमेण्टहरू जलेतापनि पिएसओको कारणले न्यायाधीशहरूको ज्यान भने जोगिएको छ ।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा झण्डै एक सयको हाराहारीमा सैनिक छन् । त्यत्रो घटना हुँदासम्म उनीहरू के हेरेर बसे ? प्रश्न उठेको छ । राष्ट्रपति कार्यालयमा एकतारे जर्साबको नेतृत्वमा झण्डै ३ सयको टोली परिचालन गरिएको छ । बालाजुस्थित १ नम्बर बाहिनी, उपत्यका पृतनालगायत अन्तर्गत मात्रै दर्जनौं युनिट छन् । सेनाले चाहेको भए सो दिन सार्वजनिक सम्पत्ति जल्नबाट जोगिन्थ्यो । बारादेखि एपीसी झिकाउन सक्ने सेनाले देशलाई आवश्यक परेको बेला भएको आफ्नो युनिट परिचालन गर्न नसकेको हो वा गर्न नचाहेको हो ? यो विस्तारै खुल्दै जाला।
(जनआस्था साप्ताहिकको असाेज ८ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू