विध्वंस पीडित व्यवसायीलाई बैंकिङ राहत
जेन जी विध्वंसबाट प्रत्यक्ष प्रभावित उद्योग, व्यापार–व्यवसाय, प्रतिष्ठान तथा अन्य ऋणीहरूले ऋण भुक्तानीको अवधि सार्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले ऋणीको अनुरोधमा कर्जाको पुनःतालिकीकरण वा पुनःसंरचना गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।
आज ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गर्दै राष्ट्र बैंकले जेनजी प्रभावको यकिन गरी प्रवाहित कर्जा पुनःतालिकीकरण वा पुनःसंरचना गर्न सकिने जनाएको छ। परिपत्रमा भनिएको छ, ‘जेनजी आन्दोलनको क्रममा सिर्जना भएको असामान्य परिस्थितिबाट प्रत्यक्ष प्रभावित उद्योग, व्यापार, व्यवसाय, प्रतिष्ठान तथा अन्य ऋणीलाई प्रवाहित कर्जा, ऋणीको अनुरोधमा, सम्बन्धित इजाजतपत्र प्राप्त संस्थाले प्रभावको यकिन गरी देहायका शर्तहरूको अधीनमा रही पुनःतालिकीकरण वा पुनःसंरचना गर्न सकिनेछ।’
त्यसका लागि आउँदो पुस मसान्तभित्र पुनःतालिकीकरण वा पुनःसंरचना पूरा गर्नुपर्ने, ती कर्जा गत असार मसान्तसम्मकै वर्गमा वर्गीकृत गर्नुपर्ने र कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने छ ।
यसैगरी, जेन जी विध्वंशमा क्षतिग्रस्त उद्योग तथा व्यवसायिक प्रतिष्ठानका सवारीसाधन प्रतिस्थापन गर्न ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराइने राष्ट्र बैंकले जनाएको छ।
टिप्पणीहरू