माफी माग्नबाट रोकिए मन्त्रीहरु

माफी माग्नबाट रोकिए मन्त्रीहरु

आफूले त माफी मागेनन्–मागेनन् माफी माग्न चाहने नेतालाई पनि बाँकी राख्दैनन् ओली । जेनजीले भदौ २३ गतेलाई आह्वान गरेको प्रदर्शन र २४ गतेको हिंसात्मक गतिविधिका कारण भएको क्षतिका निम्ति एमाले नेताहरूले जनतासँग माफी माग्न खोज्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले रोकेको पाइएको छ ।

२३ गते राती सुरक्षा निकायहरूले राजिनामा दिन आग्रह गर्दा उल्टै उनीहरूलाई थर्काएर वातावरण भड्काएको भन्दै केही नेताले आलोचना पनि गरेका छन् । भोलिपल्ट २४ गते पनि निकै दवावका बीचमा ओलीले बल्ल राजीनामा दिएका हुन् । २३ गतेको घटनाको जिम्मा सरकारले लिनु पर्छ भन्ने मन्त्रीहरूलाई समेत ओलीले हप्काएका थिए । एक मन्त्रीका अनुसार २३ गते साँझसम्म मृत्यु भएका १९ जनाका विषयमा मन्त्रीपरिषदमा छलफल गर्न पनि मानेका थिएनन् । 

‘श्रद्धाञ्जली, समवेदनाका त कुरा छोड्नुहोस्, घटना केही हैन, षड्यन्त्र हो, गृहमन्त्रीले समेत किन राजिनामा दिनु पर्‍यो ?’ ओलीले २३ गतेको बैठकमा भनेको प्रसंग सुनाउँदै तत्कालीन स्वाथ्यमन्त्री प्रदीप पौडेल भन्छन्, ‘घटनालाई सामान्यीकरण गर्नुहुन्न भन्ने साथीलाई उल्टै हप्काउनुभयो, यति दम्भ सायद कसैमा होला ।’

२४ गते बिहान ओलीसँग एमाले उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमालले सामुहिक छलफल गरेका थिए । वातावरण बिग्रिएकाले माफी माग्दै वक्तव्य दिने प्रसंग आयो । त्यसलाई ओलीले तत्कालै खारेज गरे । बरु सुरक्षा निकायले सहयोग नगरेको भन्दै ब्रिफिङ गर्न थाले । 

उपाध्यक्ष विष्णु पौडेलले २३ गते मारिएका युवाहरूका विषयमा बोल्नुपर्छ, घटना दुखद हो भन्दै सरकार र पार्टीले समेत माफी माग्नुपर्छ भनेका थिए । तर ओलीले सो कुरा सुन्न पनि नचाहेको पौडेलले आफूनिकट नेताहरूलाई सुनाएका छन् । प्रधानमन्त्रीले देशवासीका नाममा संबोधन गर्नुपर्छ भन्ने विषयमा महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले सहमति जनाएका थिए तर २३ गते मारिएका युवाहरूका विषयमा प्रधानमन्त्रीको वक्तव्यमार्फत माफी माग्नुपर्छ भन्ने विष्णु पौडेलको प्रस्तावमा शंकर पोखरेल पनि सहमत भएनन् । र, संबोधन रोकियो । सेनापतिसँग भएको बारम्बारको घोचपेचलाई शंकर पोखरेलले राम्रो मानेका थिएनन् । तैपनि २६ गते पार्टी महासचिवका हिसाबमा उनले भिडियो वक्तव्य दिने तय भयो । भिडियो खिच्नका लागि तयारी अवस्थामै थिए तर एकपटक ओलीलाई सोध्छु भनी केही समय लिए । पछि भिडियो सन्देश दिएनन् र माफी पनि मागेनन् ।

शंकर पोखरेल र प्रदीप ज्ञवालीको फेसबुकमार्फत आएको संयुक्त सन्देशमा पनि माफी मागिएको छैन । बरु सुरक्षा निकायको भूमिकाका विषयमा समीक्षा गर्नुपर्ने उल्लेख छ । यी दुवै घटनामा ओलीले नेताहरूलाई माफी माग्नबाट रोकेको बताइएको छ । उपाध्यक्ष विष्णु पौडेलले भने फेसबुकबाट ३ असोजका दिन ७ बुँदे माफी मागेका छन् । ओलीलाई सोधेको भए पौडेलले पनि यस्तो वक्तव्य दिन सक्ने थिएनन् भन्ने विषय एमालेले च्यासलमा आयोजना गरेको संविधान दिवसको कार्यक्रममा नेताबीच चर्चाको विषय बनेको थियो ।

उक्त कार्यक्रममा ओलीको सन्देश वाचन गरेर सुनाएका थिए, प्रदीप ज्ञवालीले । सो सन्देशमा ओलीले माफी त मागेनन् मागेनन्, आफूलाई काजी भीम मल्लसँग तुलना गरेका छन् । कलिला युवाको ज्यान गएको विषयमा रत्तिभर पनि दुःख नलाग्ने, कस्तो मन रहेछ ओलीको भनेर नेताहरुले च्यासलमा गाइँगुइँ गरेका थिए । 

(जनआस्था साप्ताहिकको असाेज ८ गते बुधबारको अंकमा प्रकाशित)

 

टिप्पणीहरू