स्थायी समिति बैठकलाई वाइसिएलको सुरक्षा

स्थायी समिति बैठकलाई वाइसिएलको सुरक्षा

भदौ २३ र २४ गतेको विध्वसंकारी प्रदर्शनपछि नेताहरूको सुरक्षालाई लिएर सुरक्षा निकाय सतर्क बनेको देखिन्छ । प्रमुख पार्टीका शीर्ष नेता, पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री र पूर्वउच्च पदस्थ व्यक्तिहरुको सुरक्षामा नेपाल प्रहरी, सशस्त्र र नेपाली सेना खटिएको छ ।  

यो स्थितिमा आज बसेको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकलाई सो पार्टीको युवा संगठन वाइसिएलले सुरक्षा दिएको छ । जेनजी विध्वंसमा ध्वस्त भएको र हाल पुनःनिर्माण चलिरहेको पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बैठक चलिरहँदा चारैतर्फ वाइसिएलका युवाहरुले पहरा दिएका हुन् । 

करिब २५ जना युवाले सञ्चार सेटसहित पार्टी कार्यालयको वरिपरि र भवनको छतमा समेत बसेर सुरक्षा दिएको बुझिएको छ । उनीहरुले बैठक अवधिभर पार्टीका नेताबाहेक अन्य कसैलाई पनि कार्यालयमा छिर्न दिएनन् । 

पार्टी नेतृत्वको सुरक्षामा वाइसिएल खट्नुपर्ने अवस्था पछिल्लो घटनाक्रमले बनाएको सो संगठनका एक नेताले बताए । बताइएअनुसार भोलि बस्ने केन्द्रीय समितिको बैठकमा पनि प्रज्ञा भवन वरिपरि खटिएर सुरक्षा दिनेछन् । 

आजको बैठकमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरु अग्निप्रसाद सापकोटा, पम्फा भुसाल, नन्दबहादुर पुन, कृष्णबहादुर महरा, महासचिव देव गुरुङ, उपमहासचिवहरू जनार्दन शर्मा, वर्षमान पुन, मातृकाप्रसाद यादव, हरिबोल गजुरेल, गिरिराजमणि पोखरेल, सचिव हितराज पाण्डे, हितमान शाक्य, मुख्य सचिव गणेशमान पुन, स्थायी कमिटी सदस्य शशी श्रेष्ठ, यसोदा सुवेदी गुरुङ लगायत उपस्थित थिए ।

टिप्पणीहरू