विध्वंशको असर वैदेशिक रोजगारीमा
हालैको जेन–जी विध्वंशको असर वैदेशिक रोजगारीमा पनि देखिन थालेको छ । आन्दोलनको नाममा मच्याइएको उपद्रवले अन्तर्राष्ट्रियस्तर समेत तर्सिएपछि त्यसको प्रभाव मुलुकबाट हुँदै आएको वैदेशिक रोजगारीमा देखा परेको छ । नयाँ नेपाल बनाउन भन्दै गत भदौ २३ र २४ गते भएको जेन–जी ध्वंशमा ७३ जनाले ज्यान गुमाएका छन् ।
त्यसक्रममा मुलुककै प्रमुख प्रशासनिक निकाय सिंहदरबारसहित सार्वजनिक, निजी सम्पत्ति तथा व्यापारिक केन्द्रहरुमा गरिएको आगजनीले खर्बौको क्षति पुगेको छ । उक्त हिंसात्मक प्रदर्शनको असर मुलुकभित्र देखा परिरहेको अवस्थामा वैदेशिक रोजगारी क्षेत्रमा पनि देखिन थालेको हो ।
जेन–जी विध्वंसको मौका छोपेर देशभरका कारागारमा रहेका २९ हजार २१४ जनामध्ये १३ हजार ५९२ जना कैदीबन्दी भागेका थिए । जसमध्ये ६ हजार ५८७ जना फर्किँदा वा पक्राउ पर्दा सात हजार बढी कैदीबन्दी अझै फरार छन् । ती कैदीबन्दी आफ्नो देशमा आउनसक्ने चिन्ता र आन्दोलनमा देखिएको नेपालीको हिंसात्मक स्वाभावका कारण प्रमुख श्रम गन्तव्य मुलुकहरुले भिसा नदिने निर्णयसँगै अघोषित रुपमा कडाई गर्न थालेका हुन् ।
वर्षेनी रोजगारीका निम्ति नेपालबाट सबैभन्दा बढी कामदार जाने गरेको संयुक्त अरब इमिरेट्स (युएई) ले नेपालीलाई कामदार, भिजिटलगायत सबै प्रकारका भिसामाथि रोक लगाइसकेको छ भने दक्षिण कोरियाले पनि नेपालीलाई दिँदै आएको ई–७ भिसा रोकेको छ । त्यस्तै, कतार, मलेसिया, साउदी अरबलगायत मुख्य श्रम गन्तव्य राष्ट्रहरुले भिसामा कडाई गर्न थालेका छन् ।
यी मुलुकले पनि नेपालीलाई दिँदै आएको भिसामा रोक लगाउने तयारी गरेका छन् । मुलुकबाट वार्षिक आठ लाख बढी युवा वैदेशिक रोजगारीका निम्ति विभिन्न देश पुग्ने गरेका छन् । गत आर्थिक वर्ष २०८१–०८२ मा आठ लाख ३९ हजार २६६ जना रोजगारीको सिलसिलामा विदेश पुगेका थिए । तीमध्ये सबैभन्दा बढी युएई (दुबई) गएका हुन् ।
करिब पौने तीन लाख युवा काम खोज्दै दुबई पुग्दा एक लाख ४० हजार बढी कतार, एक लाख ५२ हजार बढी साउदी अरब र झण्डै ५० हजार नेपाली युवा मलेसिया गएका थिए । यसरी एकै वर्ष चार खाडी मुलुकमा मात्र कामका निम्ति झण्डै ६ लाख नेपाली कामदार पुग्नुले पनि वैदेशिक रोजगारीमा यी देशको महत्त्व दर्शाउँछ ।
त्यसो त वैदेशिक रोजगारीले मुलुकको अर्थतन्त्रमा पनि ठूलो योगदान पुर्याउँदै आएको छ । अर्थतन्त्रको हिस्सामा करिब ३० प्रतिशत योगदान वैदेशिक रोजगारीबाटै प्राप्त हुने गरेको छ । तर, जेन–जी विध्वंसपछि श्रम गन्तव्य राष्ट्रहरुले नेपालीमाथि भिसा प्रतिबन्ध लगाउन थालेसँगै मुलुकमा रोजगारीसँगै आर्थिक संकट निम्तिने चिन्ता बढेको छ ।
एकातिर मुलुकभित्रै हजारौंलाई रोजगारी प्रदान गर्दै आएका निजी व्यापार–व्यवसायमाथि गरिएको आगजनीले धेरैको रोजीरोटी खोसिने निश्चित रहँदा वैकल्पिक मार्ग रहेको वैदेशिक रोजगारीको बाटोसमेत बन्द भएमा गम्भीर संकट निम्तिनसक्ने जानकारहरु बताउँछन् ।
बंगलादेश र श्रीलंकाकै अवस्था आउने चिन्ता
आर्थिक संकट, महँगी र बेरोजगारीलगायत कारण यसअघि श्रीलंका र बंगलादेशमा पनि यस्तै आन्दोलन भएको थियो । बंगलादेशमा युवा विद्यार्थीको महिनौं लामो आन्दोलनले १५ वर्षदेखि लगातार सत्तामा रहेकी शेख हसिनाको कुर्सी मात्र ढलेन, उनी देशै छोडेर भाग्नुपर्यो । अहिले पनि उनी भारतमा शरण लिएर ज्यान जोगाइरहेकी छन् ।
त्यस्तै, श्रीलंकामा प्रदर्शनकारीले राष्ट्रपति निवास कब्जा गरेपछि गोटाबाया राजपाक्षे सपरिवार देश छाडेर भोग्नुपर्ने अवस्था आएको थियो । उक्त प्रदर्शनपछि श्रीलंका र बंगलादेशका नागरिकमाथि श्रम गन्तव्य मुलुकहरुले भिसा प्रतिबन्ध लगाएका थिए ।
श्रीलंकाको अवस्थामा पछिल्लो समय सुधारसँगै कामदार पठाउन थालिएको छ भने बंगलादेशी नागरिकमाथिको भिसा प्रतिबन्ध अझै कायमै छ । यसले नेपालमा पनि त्यस्तै अवस्था हुनसक्ने चिन्ता बढेको छ । शुरुवाती चरणमा दुबईले नेपालीलाई पूर्ण रुपमा लगाएको भिसा प्रतिबन्धले भय उत्पन्न भएको छ ।
दुबई जान ठिक परेका दश हजार कामदार अन्यौलमा
दुबईले भिसा दिन छोडेसँगै नेपाली कामदारहरु अन्योलमा परेका छन् । वैदेशिक रोजगारी व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङका अनुसार जेन–जी विध्वंशपछि आधिकारिक सूचनाबिनै दुबईले भिसा रोकेको हो । भिसा रोकिएसँगै सातदेखि दश हजार कामदार अन्यौलमा परेको उनको भनाइ छ ।
‘नेपाली कामदार वैदेशिक रोजगारीमा जाने मुलुकमा युएई अग्रस्थानमा पर्छ । मासिक दश हजार बढी कामदार श्रम स्वीकृति लिएर दुबई जाने गरेका छन् । तर, दुबईले भिसा रोकेको एक साता बढी भइसक्यो । यसबीचमा दुबई जाने प्रक्रियामा रहेका हजारौं कामदार अन्यौलमा परेका छन्,’ उनले भने, ‘तर, के कारणले भिसा रोकेको हो ? रोकेको हो कि होइन ? भनेर उसले आधिकारिक रुपमा जानकारी नै गराएको छैन ।’
यससम्बन्धमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग समन्वय अघि बढाएको अध्यक्ष गुरुङले बताए । ‘भिसा खुलाउन हामीले मन्त्रालयसँग समन्वय गरिरहेका छौं तर युएईले भिसा रोकेको आधिकारिक रुपमा जानकारी नगराएको हुँदा कसरी अघि बढ्ने भनेर अन्यौलता छ,’ उनले थपे । यो प्रक्रिया लम्बिएमा वैदेशिक व्यवसायमा मात्र नभई देशकै अर्थतन्त्रमा ठूलो प्रभाव पर्नसक्ने उनको ठहर छ ।
पर्यटन क्षेत्र पनि प्रभावित
नेपालको पर्यटन क्षेत्रमा सेप्टेम्बर मध्यदेखि डिसेम्बर मध्यसम्म अर्थात् असोज मध्यदेखि मंसिर मध्यसम्मको समयावधिलाई मुख्य सिजन मानिने गरिएको छ । यो वर्षको पर्यटन सिर्जन शुरु भइसकेको छ । तर, सिजन शुरु हुनअघि भएको ध्वंशले पर्यटन क्षेत्र पनि प्रभावित बनेको छ ।
जेन–जी आन्दोलनअगावै नेपाल घुमफिरका लागि विमान टिकट र होटल बुकिङ गराएका पर्यटकहरुले अहिले धमाधम टिकट रद्ध गरिरहेको व्यवसायीहरु बताउँछन् । उनीहरुका अनुसार आन्दोलनबाट विकसित परिस्थितिका कारण नेपाल भ्रमण गर्न पर्यटकहरु डराएका छन् । महाभूकम्प, नाकाबन्दी, कोरोना महामारी, आर्थिक मन्दीलगायत संकटबाट बल्लतल्ल पुरानै लयमा फर्किन थालेको पर्यटन क्षेत्रलाई जेन–जी विध्वंशले फेरि झस्काएको छ ।
टिप्पणीहरू