बालेन लक्षित ओलीको टिप्पणी: सिंहदरबार जलाउँछु भनेकै थिए

बालेन लक्षित ओलीको टिप्पणी: सिंहदरबार जलाउँछु भनेकै थिए

नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ महानगरका मेयर बालेन्द्र साहलाई लक्षित गर्दै देशलाई माया गर्नेहरूले सिंहदरबार जलाउन नसक्ने बताउनुभएको छ ।

भक्तपुरस्थित गुण्डु निवासमा आज दिउँसो युवा कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले योजनावद्ध रुपमा सिंहदरबार जलाइएको दाबी गर्नुभयो । ‘सिंहदरबार जलाइयो । कसले जलायो ? देश र इतिहासलाई माया गर्ने मान्छेले सिंहदरबार जलायो होला र ? पक्कै जलाएन’ ओलीले भन्नुभयो, ‘अरू नै कुनै घुसपैठिया तत्त्वले गरे जो पहिले देखि नै भन्दै थिए त । सिंहदरबार जलाउँछु भनेर । यो एउटा योजनाबद्ध काम हो ।’

नयाँ पुस्ता देश र समाजप्रति जिम्मेवार हुनुपर्नेमा जोड दिँदै उहाँले युवाहरूले छलकपट हैन इमानदार हुन सिक्नुपर्नेमा जोड दिनुभयो ।  ‘हामी आफू अत्यन्तै जिम्मेवार नागरिकको रूपमा,देश बनाउने कर्मठको रूपमा जानुपर्दछ’ भन्नुभयो ‘हाम्रो आनीबानी, व्यवहार,बोलीचाली अत्यन्तै मिठो,सुमधुर हुनुपर्दछ । समाज उपयोगी हुनुपर्दछ ।’

 कठिन परिस्थितिमा पनि हरेस नखाई संघर्षमा अघि बढ्न र षड्यन्त्रलाई बुझेर दृढतापूर्वक राष्ट्रिय हितमा अडिन ओलीले कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

पछिल्लो समय युवाहरुले सामाजिक सञ्जालको दुरुपयोग गर्न थालेकोमा पनि ओलीले चिन्ता व्यक्त गर्नुभएको छ । ‘आजकाल बाह्य लगानीमा बनेका सामाजिक सञ्जालबाट प्रभावित हुने, त्यसको सदुपयोग गरेको छु कि छैन भनेर नबुझ्ने युवाहरु धेरै छन्, उनीहरुलाई हामीले नै बुझउनुपर्छ’, थप्नुभयो, ‘अहिले देश भिसा नपाउने अवस्था गइसक्यो, काम नदिने अवस्थामा पुगेको छ, बदनाम भएको छ, हामीले त्यो साख फर्काउन संगठित भएर अघि बढ्नुपर्नेछ ।’

टिप्पणीहरू