कपोलकल्पित समाचारप्रति माधव नेपालको आपत्ति

कपोलकल्पित समाचारप्रति माधव नेपालको आपत्ति

जेन–जी विध्वंशका क्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भारतीय दूतावासमा शरण लिन पुगेको भन्ने समाचारप्रति उहाँको निजी सचिवालयले आपत्ति जनाएको छ । सचिवालयले आधारहीन समाचारको खण्डन गर्दै डिसी नेपालमा प्रकाशित समाचारमा कुनै सत्यता नरहेको बताएको छ ।

भदौ २४ गते जेन जी ध्वंशमा अध्यक्ष नेपाल बिहान ९ बजे सिंहदरबारमा आयोजित विपक्षी दलहरुको बैठकमा सहभागी भएको,दिनभर आफ्नै संसदीय दलमा बसेको र सिंहदरबारमा तोडफोड र आगजनी हुन थालेपछि सिंहदरबारभित्रै नेपाली सेनाको गणमा गएको सचिवालयले जनाएको छ । त्यतिबेला नेपालसँगै पार्टीका प्रमुख सचेतक मेटमणि चौधरी, उहाँका निजी सहयोगी लक्ष्मण रेग्मी,जसपा नेपालका नेता महेन्द्रराय यादवलगायत पनि थिए । 

सचिवालयले उक्त भ्रमित समाचारप्रति क्षमायाचना गर्न र भविष्यमा यस्ता गलत समाचार प्रकाशन नगर्न डिसी नेपाललाई चेतावनीपूर्ण भाषामा ध्यानाकर्षण गराएको छ । उक्त अनलाइनले जेन जी ध्वंसको क्रममा अध्यक्ष नेपाल लैनचौरस्थित भारतीय दूतावास पुगेको समाचार प्रकाशित गरेको थियो । 

सचिवालयका अनुसार अध्यक्ष नेपाल भोलिपल्ट २५ गते बिहानैदेखि निरन्तर पार्टी कार्यकर्ताको घरमा बसेको तथ्ययुक्त समाचार अन्य अनलाइन सञ्चारमाध्यमले प्रकाशित गरेका थिए । भनिएको छ, ‘डिसी नेपालमा प्रकाशित बदनियतपूर्ण एवम कपोलकल्पित समाचारको खण्डन गर्दछौं ।’

टिप्पणीहरू