शीतल निवास पुगेकाले सुने राष्ट्रपतिको बाध्यता

शीतल निवास पुगेकाले सुने राष्ट्रपतिको बाध्यता

राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाबाट सरकार गठन गर्ने कुनै उपाय नभएपछि संसद विघटन गरिएको बताउनुभएको छ । संविधान दिवसको अवसरमा आज शीतल निवासमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । 

जेन–जी प्रदर्शनपछि उत्पन्न परिस्थितिमा बनेको अहिलेको अन्तरिम सरकार आम सहमतिको आधारमा बनाएको पनि उहाँले स्पष्ट पार्नुभयो । ‘प्रतिनिधि सभाबाट सरकार गठन गर्ने कुनै उपाय नभएपछि आम सहमतिले यो कदम चालिएको कुरा सबैले बुझौं । र ६ महिनाभित्र प्रतिनिधि सभा ल्याउने चुनाव सम्पन्न गर्न सबै लागौं’, राष्ट्रपति पौडेलले भन्नुभयो, ‘यो घडीमा म सबै राजनीतिक दल मुुलुकको शासन तथा व्यवस्थापनमा आवद्ध निकाय र बौद्धिक समुदायलाई असहमति र द्वन्द्व होइन पूर्वाग्रहरहीत भएर समन्वय र सहकार्यका साथ निर्वाचनको सफलताका लागि क्रियाशील हुन आह्वान गर्दछु ।’

भदौ २४ को घटनापछि मुलुक फेरि परिवर्तनको नवमार्गमा प्रवेश गरेको उल्लेख गर्दै उहाँले नयाँ जनादेशले लोकतन्त्रलाई संस्थागत गर्दै मुलुकको अगामी बाटो तय गर्ने विश्वाससमेत व्यक्त गर्नुभयो । अन्तरिम सरकारले राष्ट्रिय क्षतिको पुनर्निर्माण गर्दै ६ महिनाभित्र निर्वाचन सम्पन्न गरी जनप्रतिनिधिमूलक संस्थालाई सत्ता हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो । 

‘नयाँ जनादेशले लोकतन्त्रलाई थप संस्थागत गर्दै मुलुकको आगामी बाटो तय गर्नेछ भन्ने मेरो दृढ विश्वास छ’ उहाँले भन्नुभयो, ‘अहिले बनेको अन्तरिम सरकारले राष्ट्रिय क्षतिको पुनर्निर्माण गर्दै ६ महिनामा निर्वाचन सम्पन्न गरी जनप्रतिनिधिमूलक संस्थालाई सत्ता हस्तान्तरण गर्नेछ ।’

टिप्पणीहरू