सिंहदरबारमा समसामयिक परिस्थितिबारे छलफल
राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले जेन-जी विध्वंसपछि मुलुकमा उत्पन्न विषम परिस्थितिबारे संसदीय समितिका सभापति र सचिवहरुसँग छलफल गर्नुभएको छ ।
उहाँले आज राष्ट्रिय सभाअन्तर्गतका चार वटा विषयगत समितिका सभापति र सचिवलाई सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बोलाएर समसामायिक घटनाक्रमबारे परामर्श गर्नुभएको हो । अध्यक्ष दाहालले सुरुमा जेन-जी आन्दोलनको कारण प्रतिनिधिसभा विघटनको भएको र त्यसका सम्भावित प्रभावबारे आफ्नो धारणा राख्नुभएको बताइएको छ ।
संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार नयाँ परिस्थितिमा अब नयाँ ढंगले जानुपर्नेमा अध्यक्षले जोड दिनुभएको छ । संसदमा पेश भएका विधेयक अलपत्र पर्ने अवस्थामा पुगेको भन्दै अध्यक्ष दाहालले यसबाट शिक्षक, कर्मचारी, प्रहरीलगायत सरोकारवालाहरुले उठाएको माग सम्बोधन गर्न बाध्यकारी बञ्चित हुनुपरेको धारणा पनि उहाँले राख्नुभयो ।
समसामायिक घटनाक्रमबारेको छलफलपछि अध्यक्ष दाहालले सभामा पेश गर्न बाँकी रहेका प्रतिवेदनहरू अर्को अधिवेशनमा पेश गर्नेगरी तयारी गर्न पनि निर्देशन दिनुभएको छ ।
छलफलमा राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरे, समितिका सभापतिहरु तुलसाकुमारी दाहाल, मायाप्रसाद शर्मा, कमलादेवी पन्त र सोनाम गेञ्जेन शेर्पासहित सचिवहरुको सहभागिता थियो ।
टिप्पणीहरू