सुनिता डङ्गोललाई पनि मार्न अमेरिकाबाट उर्दी

सुनिता डङ्गोललाई पनि मार्न अमेरिकाबाट उर्दी

जेन-जी आन्दोलनका नाममा मच्चाइएको विध्वंसमा संलग्नहरू धमाधम पक्राउ परिरहेका छन् । लुटपाट,तोडफोड र आगजनी गर्नेहरुको विभिन्न माध्यमबाट पहिचान गरी प्रहरीले अहिलेसम्म सयौँलाई नियन्त्रणमा लिइसकेको छ ।

तर,देश तथा विदेशमा रहेर जन्मभूमि खरानी बनाउन सामाजिक सञ्जालबाट उक्साउनेहरू भने अहिलेसम्म कारवाहीको दायरामा आइसकेका छैनन् । प्रत्यक्ष संलग्नलाई पहिले समात्ने योजनामा रहेको प्रहरीले उक्साउनेहरूको पनि प्रमाण संकलन गरिरहेको छ ।  

सामाजिक सञ्जालमा प्रकाशित भिडियो,फोटो र सिसिटिभी फुटेजअनुसार केही तथाकथित सेलिब्रेटी, कलाकार,युट्युबर,नक्कली अभियन्ता र जेलबाट छुटेका कैदीसमेत यस्तो कुकर्ममा रहेको खुलिसकेको छ । विदेशमा रहेर मुलुकभित्र बितण्डा मच्चाउनेहरूको पनि धमाधम पहिचान खुल्न थालेको छ । 

यसैबीच अमेरिकामा बसेर नेपाल जलाउन उक्साउने एक युवती प्रहरीको नोटिसमा रहेको बुझिएको छ । फेसबुकमा 'मनिषा पराजुली' नाम गरेकी ती युवतीले भदौ २४ गते काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा विध्वसं मच्चिरहँदा पटक-पटक आपत्तिजनक पोष्ट गरेकी थिइन् । त्यसको स्क्रिनसट प्रहरीले अनुसन्धानका लागि संकलन गरेको बताइएको छ । 

जेन-जी प्रदर्शनको आडमा केही स्वार्थ समूहले राष्ट्रपति,प्रधानमन्त्री, प्रधानन्यायाधीश,मन्त्रीहरु, प्रमुख दलका शीर्ष नेता लगायत सरकारी पदाधिकारीको निवासमा तोडफोड,लुटपाट र आगजनी गरेका थिए । नेपाली कांग्रेस,एमाले, माओवादी केन्द्र,एकीकृत समाजवादीको पार्टी मुख्यालयमा आगो लगाइएको थियो । 

'एउटा पनि नेता मरेनन्, त्यसैको परिणाम हो,उफ्रिन थालिसके ।'

मुलुकको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका र पाँच पटक देशको प्रधानमन्त्री भैसकेका कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी श्रीमती तत्कालिन परराष्ट्रमन्त्री आरजू राणा घर जलाइनुअघि सांघातिक हमलामा परेका थिए ।

यसरी देशमा अराजकताले सीमा नाघिरहेका बेला ती युवती भने अमेरिकाबाट मिनेट-मिनेटमा स्टाटस लेखेर विध्वंसकारीलाई उक्साइरहेकी थिइन् । नेताको मृत्युको खबर सुन्न निकै आतुर रहेको भन्दै उनले कुटीकुटी मार्न आग्रह गरेको स्क्रिनसट प्रहरीले हात पारिसकेको छ । 

'कोही नेता मारियो भन्ने खबर सुन्न अहिलेसम्म किन पाइएको छैन?", पराजुलीले लेखेकी छन्, 'उनीहरुलाई कुटेर मात्र पुग्दैन,हत्यारा हुन् यिनीहरु !', 

काठमाडौँ महानगरपालिकाका उपमेयर सुनिता डंगोलको नामै लिएर उनले हत्या गर्न उक्साएको देखिन्छ । 'कहाँ मरी त्यो, त्यसको केपी बाको अगाडि छे कि पछाडि ?', फेसबुकमा उनले लेखेकी छन् । 

अर्को स्टाटसमा पराजुलीले दिनेश राउत नामका व्यक्तिलाई मेन्सन गर्दै कम्तिमा एउटा नेतालाई मार्नुपर्ने उत्तेजक कमेन्ट गरेकी छन् । निर्देशन दिंदै लेखेकी छन्, 'छोड्नु हुँदैन,भेटेपछि एउटालाई त मार्नुपर्छ । अनि ती आत्मालाई शान्ति मिल्छ ।' 

भदौ २३ गते मारिएका युवा-विद्यार्थीका परिवारलाई क्षतिपूर्ति र घाइतेलाइ नि:शुल्क उपचारका लागि आप्रवासी नेपाली नै लाग्नुपर्नेमा जोड दिँदै उनले पैसामा नबिक्न घुमाउरो चेतावनीसहितको अर्को स्टाटस पनि पोष्ट गरेकी थिइन् ।

'पैसाले किन्न मिल्दो रहेछ भने हामी ६०० सांसद, नेता र यिनीहरुका छोराछोरीको ज्यान किनिदिन्छौँ', उनको अराजक स्टाटस छ । हातमा कफी लिएर बर्गर खाँदै देशको चिन्ता गर्ने यिनलाई नेपालमा २७५ जना सांसद रहने व्यवस्था छ भन्ने पनि थाहा नभएको यसबाट बुझिन्छ ।   

उनको अर्को फेसबुक स्टाटसमा मृतकलाई शहीद घोषणा र क्षतिपूर्ति बापत पैसा होइन एक लास बराबर २ नेता वा तिनीहरुका छोराछोरीको लास चाहिने लेखिएको छ ।

राजनीतिक दलका नेता-कार्यकर्ताको पछिल्लो सक्रियतालाई पराजुलीले एउटा पनि नेता नमर्नुको परिणाम हो भनेकी छन् । लेख्छिन्, 'एउटा पनि नेता मरेनन्, त्यसैको परिणाम हो,उफ्रिन थालिसके ।'

टिप्पणीहरू