जाँचबुझ आयोगलाई डेढ महिनाको समय

जाँचबुझ आयोगलाई डेढ महिनाको समय

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले जेन-जी प्रदर्शनको क्रममा भएको विध्वंस र त्यसले पुर्याएको क्षतिबारे छानविन गर्न न्यायिक जाँचबुझ आयोग गठनको तयारी अन्तिम चरणमा पुगेको बताएकी छन् । 

उक्त आयोगलाई बढीमा ४५ दिनको समय दिइने उनको भनाइ छ । गत सोमबार बसेको पहिलो क्याविनेट बैठकले प्रदर्शनको क्रममा भएका घटनामाथि अनुसन्धान तथा छानविन गर्न जाँचबुझ आयोग गठन गर्ने सैद्धान्तिक निर्णय गरेको थियो । 

सोही बमोजिम सरकारले आयोग गठन गर्ने लागेको हो । प्रधानमन्त्री कार्कीले उक्त आयोगमा तीन जनाभन्दा बढी सदस्य नहुने पनि जानकारी दिइन् । 

‘यो आयोगमा विभिन्न क्षेत्रका तीन जनामात्रै विज्ञ राख्दैछौँ, उनीहरुबाट हामी घटनाको अध्ययन र अनुसन्धान गराउँछौँ’, उनले भनेकी छन्, ‘समय थोरै छ, आयोगलाई पनि एक महिनाभित्र काम सकाउने गरी काम गर्न भन्छौँ, त्यसमा पुगेन भने १५ दिन थप्न सकिएला, त्यो भन्दा बढी त हुँदैन ।’ 

प्रधानमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रण र हालसम्मका भ्रष्टाचारका काण्डमाथि छानविन गर्न छुट्टै आयोग बनाइने पनि जानकारी दिएकी छन् ।

टिप्पणीहरू