राष्ट्रिय झण्डा बोक्ने आफ्नै सन्तानलाई गोली उपहार

राष्ट्रिय झण्डा बोक्ने आफ्नै सन्तानलाई गोली उपहार

नेपालको इतिहासमा यो एक अकल्पनीय घटना हो । दुर्घटना असावधानीले हुन्छ । घटना नियतवश ! संसारका कुनै पनि मुलुकको, कुनै पनि सरकारले राष्ट्रिय झण्डा बोकेका आफ्नै सन्तानलाई गोली ठोकेर मार्दैन । के नेपालको सरकार जनताको सरकार हो ? होइन । जनताको मत अर्कै थियो । के यो सरकार पार्टीको सरकार हो ? होइन । यी दुवै पार्टीको चुनावी घोषणापत्र अलग थियो । यो सरकार दुई दलका गुट मिलेर दुई नेताको स्वार्थमा गठित एक माफियातन्त्र हो, जहाँ मानव जीवनको कुनै मूल्य हुँदैन । अमेरिकी समय सोमबार मध्यान्हमा यो लेख्दैगर्दा हताहतीको संख्याले २० छोएको छ । एक दर्जनलाई अहिले औपचारिक रूपमा मृत घोषित गर्न बाँकी छ । नेपाली समयअनुसार बुधबार बिहान यो अखबार छापिंदासम्म मृतक संख्याले तीस नाघ्न सक्छ । 

अब मर्छन् जस्तो लागेको थियो ! 
जे हुन्छ भन्ने आशंका थियो, त्यही भयो । 

नेपालमा दुई तीन दिन फेसबूक र युट्युब घिड्घिडो अवस्थामा थिए । जेन–जी दुईचार मान्छे गिंडेर वा दुईचार बम वा भाषण पड्काएर सत्तामा पुगेका कृशकाय ऐंजेरू भन्दा फरक र स्मार्ट छ । जेन–जी पुस्तालाई आफ्नो पाठ्यक्रममा पञ्चायतकालीन रछ्यानको भतेर खाएर जाँच पास गर्नुपर्ने बाध्यता भएन । 

यो पुस्ताले कुनै अञ्चलाधीशको ‘समन’को सम्मान गर्न पुगेको बाउको लाश खोला किनारमा किन भेटियो भन्ने प्रश्न नै गर्नु परेन । “रातो र चन्द्र सूर्य, जंगी निशान हाम्रो ... गीत सुन्दा उसको रगत रातो त छँंदै थियो, तातो पनि हुन्छ । पञ्चायती शासनले बलभद्र कुँवरलाई राष्ट्रिय विभूतिका रूपमा स्थापित गर्‍यो । ज्ञानेन्द्र शाहले ‘राष्ट्र कवि’ र मानार्थ जर्साबको उपाधि दिएका माधव घिमिरेले गीत लेखेका थिए, “नसुती चारै प्रहर, लडे बलभद्र कुँवर .... . ’ 

ठकुरीहरूले बिकाउ ब्राह्मणहरूको सल्लाहमा मध्यपहाडी ढाकाटोपी दौरासुरुवाल वर्चस्ववादको विस्तारका निम्ति ईतिहास लुकाएको उदाहरण प्रशस्त छन् । तर जेन–जी संग यसको पहुँच छैन । अन्यथा, जेन–जीलाई थाहा हुनुपर्ने हो, बलभद्र कुँवर नेपालका तत्कालीन राजाले कबोलेको तलब समेत नपाएपछि पन्जाबका राजा रणजीत सिंहको फौजमा दोब्बर तलब लिएर भर्ना भएका हुन् । 

अफगानिस्तानका पस्तुन लडाकाहरूसंग लड्दा उनले बीरगति पाए । यस अर्थमा बलभद्र कुँवर नेपालका पहिलो लाहुरे हुन् । जेनजी लाई यो वास्तविक ईतिहासको जानकारी दिन न छयालीस साल पछिको सरकारले उचित ठान्यो । न गणतान्त्रिक व्यवस्थाले । सन् १८१६ को सुगौली सन्धिमा नेपालको आधाभन्दा बढी भूभाग गुम्नुमा तत्कालीन मुख्तियार भीमसेन थापाको भूमिका थियो । उनले अंग्रेजको शेखी झार्न फ्रान्सेली ढाँचाको सेना खडा गर्न नखोजेको भए ‘ग्रेटर नेपाल’को नक्सा अहिलेको जस्तो संकुचित नहुन पनि सक्थ्यो । भीमसेन थापाले विरोधीका तीन चार वर्षीय लालाबालालाईसमेत काट्न लगाएका थिए भन्ने कुरा ईतिहासमा लेखिएन । तर थापा पनि नेपालका राष्ट्रिय विभूति हुन् । जेनजी आफू उभिएको धरातल नबुझी आकाशे उडानको सपना देख्ने पुस्ता हो । यो पुस्ताको यस्तो चरित्रका लागि ०४६ सालपछिका राज्य सञ्चालकहरू गम्भीर रूपले जिम्मेवार छन् । 

कसले सिकायो ? 

प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको सरकारको सोच संकुचित छ । यो सरकारको उपज नै देउवा पत्नी वर्तमान परराष्ट्रमन्त्री आरजू राणा घाँटीसम्म डुबेको भुटानी शरणार्थी बेचबिखन उद्योग र ओलीले हरियो झण्डा देखाएको गिरीबन्धु चिया बगानको जग्गा घोटाला काण्ड थिए । तत्काललाई यी दुवै खड्को टरेका छन् । ओलीको अभीष्ट हो, येन केन प्रकारेण मदन भण्डारीकी विधवालाई रोकेर आफू तेश्रो कार्यकालका लागि अध्यक्ष हुने । शेरबहादुर देउवाको एकमात्र उद्देश्य थियो, “यो गठबन्धन चलिरहोस्, कांग्रेसको महाधिवेशन सार्न मिलोस्, बीचमा म प्रधानमन्त्री हुन पाऊँ । त्यसपछि आरजूलाई पार्टीमा कसरी स्थापित गर्नुपर्छ, त्यो मलाई थाहा छ ।"

यति साँघुरो स्वार्थमा लिप्त नेतृत्वबाट आशा गर्नुको औचित्य छैन । तीस वर्षदेखि भोट हालेर थाकेका जेनजीका बाऊआमाहरू निराश छन् भने त्यो समाजले उनको टाउकोमा थोपरेको प्रकोप हो । तर जेनजीलाई प्रश्न गर्ने अधिकार छ । जुलुशमा गोली लगेर मरेको एउटा कलिलो केटोको बाबुले उसलाई प्लस टु सम्म पढाउन के के हण्डर खायो? यो समाचार बिक्दैन । तर शेरबहादुर देउवा र आरजू राणाकी छोरा बुहारीले इण्डोनेशियाको बालीमा गरेको बिकनी प्रदर्शनले लाखौंको लाइक पाउँछ ! प्रचण्डकी नातिनीले बोस्टनबाट क्रिसमस ट्रीमा लाखौँ पर्ने ब्याग झुण्ड्याएको फोटो फेसबुकमा शेयर गरेपछि एउटा ऐनाको चाहमा हप्ता बिताउने छोरीले सोध्न सक्छे, “ए बाउ ! तैंले किन घुस खाइनस् ?’

मेरा एकजना साथी छन्, गुणराज लुइँटेल । नागरिक दैनिकका सम्पादक । पछिल्लो प्रतियोगितामा उनकी छोरी लुना मिस नेपालको रूपमा अलंकृत भइन् । गुणराजलाई मैले चिन्दा उनी एक अर्ध विद्यार्थी, अर्ध पत्रकार टाइप ‘जुझारू’ वामपन्थी मनुष्य थिए । बाउछोरीलाई कलेजले दिएको दुःखबारे उनले सेतोपाटीमा किस्ताबन्दीमा लेखेका पनि थिए । गरिब, निमुखा आदि इत्यादिका निम्ति नेपालमा केही छैन, आदि इत्यादि....... ! वर्ग परिवर्तन हुन्छ । आज उनै गुणराजकी छोरी मीस नेपाल भएकी छिन । भन्छिन, “मलाई नेपाली भन्दा इंग्लिसमा बोल्न सजिलो लाग्छ ।" लुनाहरू देखेर प्रोत्साहित हुनेभन्दा “फ्रस्टेड" हुनेहरूको भीड लामो छ । 

एक छिन ईण्डोनेशिया जाऊँ । त्यहाँ पनि कुशासन र भ्रष्टाचारविरोधी प्रदर्शन भएको मात्रै हो । खाना डेलिभरी गर्ने एकजना विद्यार्थीलाई पुलिसको गाडीले किचिदिएपछि आन्दोलनको उफानले आकार लियो । यो देशमा प्रजातन्त्र छ कि वा पालैपालो संस्कार छ, त्यहाँका जनता आफै रनभुल्लमा छन् । तर फरक यो हो, सरकारले आफ्नो बिरोध नगरेसम्म यस्ता घटनामा लाग्ने सम्पूर्ण जिम्मेवारी वहन गर्छ । नेपाल फर्किऊँ, जो मरे, राज्यले उनका बारेमा के बोल्यो? राज्य बोल्दैन । राज्यको प्राथमिकता अर्कै छ । नेताका सन्तानले शान र मान देखाउन थालेपछि भाईरल भएका अनगिन्ती क्लिपमध्ये एउटामा आरजू राणा कल्पिंदै भन्थिन्, ‘अनि मेरो छोरोले के गरेर खाओस् त ?’

आरजुको छोरा लण्डन पढ्न जाँदा रुकुमको अर्को छोरो बन्दुक भिरेर ‘जनयुद्ध’ लड्न गएको थियो । जो फर्केर आएन । आरजूको छोरा लिंकन स्कूल पढ्यो । जहाँ आम नेपालीको सन्तानले चिहाउन पनि मिल्दैन । आरजूको छोरो त्यसपछि बेलायत गयो । खेल्दा घाइते भयो । आरजु उडेर लण्डन पुगिन् । त्यत्ति नै बेला अर्की माओवादी आन्दोलनमा लागेकी युवतीको बलात्कार हुँदैथियो । पाँचखाल आएकी उनलाई पनि बाँकी राखिएन । वर्ग परिवर्तन हुन्छ । त्यो कसरी हुन्छ, मान्छेले आफ्नो वर्ग परिवर्तन नभएसम्म थाहै पाउंदैन । 

अन्यथा कांग्रेस–माओवादी सरकारका अर्थमन्त्री जनार्दन शर्मासंग डलर अर्बपति कांग्रेसी सांसद बिनोद चौधरीले भिडाएको एउटा रिटायर्ड सुब्बालाई आफ्नो “प्रतिनिधि“ भन्दै सिसिटिभीको तार काट्न लगाउन सक्ने हैसियत थिएन । मुसाको कुरा आफै हास्यास्पद हो । आरजू पुत्रलाई नब्बे प्रतिशत भन्सार छुट र अन्य स्वदेशी प्रतिस्पर्धीलाई कच्चा मालमा नब्बे प्रतिशत भन्सार लगाउने तरिका आरजूलाई कसले सिकायो? अहिले सडकमा मर्ने बच्चाहरू र आरजूको कर्णधारबीच कति वर्षको फरक छ? सोच्ने कुरा हो । 

जल्दो शहरका अन्धा शासकहरू ! 

कुनै जमानामा एउटा सिकारू रिपोर्टर थिएँ । कुन्नि कसको सिफारिस लिएर जागिर खाएको रहेछ सिरहामा मैले कुस्ती खेल्ने एउटा कालो केटो । “राअविमा सिकारू छु । अलि हेल्प गरिदे न यार, मेरो प्रमोशन भए तैंले भाउजू पनि राम्रै पाउँछस्, ‘भन्यो । जोगिन्दर सिंह वा यस्तै नाम थियो उसको । हाकिमले उसलाई वक्ताको नाम नोट गरेर ल्याउन खटाएको रहेछ । मैले नाम टिपाइदिएँं । जोगिन्दर खुशी भयो । 

पैंतीस वर्षअगाडिको एउटा ‘रूकी’ गुप्तचर जोगिन्दरले पनि बुझ्ने कुरा थियो, जेनजी ‘साइबर वार’ का पछाडि अदृष्य अजेण्डासहितको एउटा खुफिया शक्ति चलायमान छ । अहिलेका राज्य सञ्चालकले आसन्न संकटको आभाष पाउन सकेनन् । ओली विद्या भण्डारीलाई कसरी तह लाउने भन्ने चिन्तामा थिए होलान् । उनले गर्न सक्ने वा गरेर देखाएको अरु काम पनि छैन । 

भर्खर राजीनामा दिएको गृहमन्त्री रमेश लेखकको हैसियत राज्य सञ्चालन भन्दा देउवा दम्पतीको खातिरदारीमा समर्पित एक वफादार सिपाहीमा सीमित थियो । देउवा आफैँ ‘दिल्ली अभी दूर है’ मानसिकतामा पुगिसकेका एक लाचार पत्नीभक्त प्राणी हुन् । उनलाई दैनन्दिनी कुसमाचारको दोषभार ओलीको काँधमा खन्याउने सुविधा थियो । तर, यो क्षणिक हो । किनभने, यो सत्ता समीकरण ओली र देउवा दुवैले आफैलाई बोकेर आफ्नै टाउको फुटाउने असजिलो यात्रा हो । जेनजी आन्दोलनका नाममा जे भयो, यसले कांग्रेस–एमाले समलिंगी अभिसार यात्रालाई पूर्णबिराम दिने पक्का छ । अब सरकार सजिलो गरी चल्दैन । जेन–जी आयातित नाम हो । तर यो नेपालको एक काल र भूखण्डमा जन्मिएका युवाको जागृतिको चित्कार पनि हो । तर यो चित्कारलाई अस्थीरतावादीले अपहरण गरेर पुनरुत्थानवादले तीन दशक लामो बदला लिन सक्छ भन्ने सोच सत्ताधीशमा किन आएन ?

ओलीको उल्टो शालिक 

नेपालको कुनै पनि आन्दोलनमा राज्यले एकैदिन एकैचोटी यति धेरै मान्छे मारेको इतिहास थिएन । यस मानेमा प्रधानमन्त्री ओली ऐतिहासिक मान्छे हुन् । हुनेछन् । ओली लोभी पनि हुन् । यो पनि लेखिन्छ एकदिन इतिहासमा । पहिलोपटक प्रधानमन्त्री हुनेबित्तिकै उनले राज्यका सुरक्षा, गुप्तचरी र आर्थिक अनुसन्धानका यावत संरचना आफ्नो अधीनमा ल्याए । तर्साए, कमाए । तर उनकै अन्तर्गत आएको राज्य व्यवस्था प्रणालीले उनको आँखामा लागेको धुलो उडाउन सकेन । ओली महान हुन् । जेनजीको आन्दोलन र यसमा हुन सक्ने घुसपैठका बारेमा ओलीलाई ब्रिफिंग भयो? कि भएर पनि सुनेनन् ? अन्यथा उनले जेनजीलाई त्यसरी खिसिट्युरी पनि गर्ने थिएनन् । ओलीले आफ्ना लागि आफैले बनाएको मनोवैज्ञानिक शालिक उल्टो छ । ओलीलाई लाज लाग्दैन । उनको अन्तरात्मा दम्भले भरिएको छ । यी मान्छे आत्मज्ञानी होइन, आत्मकेन्द्रित छन् । स्वार्थी ! उनको पार्टीको मान्छे ! समाजवादी पार्टीको झलनाथ खनाललाई हराएर आएको मान्छे ! प्रदेश मन्त्री बनेको त्यो ठूलो मान्छे चढेको सरकारी पैसा र तेलले चलेको गाडीले गोदावरीमा एक किशोरीलाई ठोक्यो । मन्त्री गाडीसहित कुलेलाम ! 

प्रधानमन्त्री एकछिनमा भन्छन्, ‘त्यो सामान्य कुरा रहेछ । अलिकति भएको हो । कुरा मिलिसक्यो । यसलाई राजनीतिकरण नगरौं ।’ बच्चीलाई मन्त्रीको गाडीले जेब्रा क्रसींगमा ठोकेको थियो । ओलीलाई यो कुरा सामान्य लाग्यो । ओली आफ्नी पत्नी राधिकासहित संसार घुमेका मान्छे हुन् । अन्यथा ओलीलाई थाहा हुनुपर्ने हो, नयाँ बानेश्वर संसद भवनको अन्तिम ब्यारिकेड तोड्ने बेलासम्म स्कूल ड्रेस लगाएका विद्यार्थी छन् । त्यसपछि सुनियोजित रूपले पेट्रोल बोकेका, खंतीले पर्खाल प्वाल पार्न लागेका, साबेलले माटो खन्न लागेका मान्छेहरू थुप्रै थिए । एउटाले त पर्खाल नै प्वाल पार्‍यो । हामी बिदेशमा बस्नेले देखेको कुरा हो यो ।  ओलीलाई थाहा हुनुपर्ने हो ! 

कल्पनाको संसार र जनताको जीवन दुई भिन्न रतिराग हुन् कमरेड चेयरम्यान ! अलिकति लाज बाँकी छ ?

(जनआस्था साप्ताहिकको भदौ २५ गते बुधबारको अंकमा प्रकाशित) 

टिप्पणीहरू