देउवाको डढेको घर बनाइदिन खोज्ने र बनाउन हुँदैन भन्नेहरुबीच मारामार

देउवाको डढेको घर बनाइदिन खोज्ने र बनाउन हुँदैन भन्नेहरुबीच मारामार

गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष महेश श्रेष्ठमाथि ‘मातृभूमि पुनःनिर्माण’ अभियानमार्फत् सीमित नेताहरुको घर बनाइदिन लागेको आरोप लागेको छ । उनले संघको निर्णय भन्दै आफ्नो बैंक खाता सार्वजनिक गरेर चन्दा संकलन थालेपछि पदाधिकारीहरुबीचको विवाद चुलिएको छ । 

श्रेष्ठले अस्ति जारी गरेको विज्ञप्तिमा जेन जी ध्वंशमा खरानी पारिएका सार्वजनिक भौतिक संरचनाको पुनःनिर्माणको लागि भन्दै आर्थिक सहयोग गर्न आह्वान गरेका थिए । संघमा आवद्ध सदस्यहरुले मातृभूमिको लागि सक्दो सहयोग गर्न तयार समेत भइसकेका थिए । तर संघको आफ्नै बैंक खाता हुँदाहुँदै अध्यक्ष श्रेष्ठले आफ्नो र ठाकुरप्रसाद ढुंगानाको निजी खाता सार्वजनिक गरेपछि विवाद चर्किएको बताइन्छ । 

अध्यक्ष श्रेष्ठले संकलन भएको रकम सार्वजनिक भौतिक संरचनाको पुनःनिर्माण, प्रशासनिक सेवा पुनःस्थापना र सुरक्षा सुनिश्चितताको खर्च गर्ने भनिएको छ । तर, स्रोतका अनुसार श्रेष्ठले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको घर बनाइदिन चन्दा उठाउन थालेका हुन् । ‘आफ्नो पार्टीको नेताको घर बनाउन सहयोग गर्नु ठीकै हो, तर संघलाई प्रयोग गरेर पैसा उठाउनु गलत हो’, एक सदस्य भन्छन्, ‘आफ्नो नेताको घर बनाइदिन निजी तरिकाले संकलन गरे भइहाल्यो नि, किन संघको लेटर हेड प्रयोग गर्नु ?’

स्मरणरहोस् श्रेष्ठ गत मे महिनामा देउवापत्नी समेत रहेकी तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवाको बलमा एउटा समूहको भेलाबाट संघको अध्यक्ष बनेका थिए । कट्टर कांग्रेस मानिने श्रेष्ठले अहिले संघलाई प्रयोग गरेर देउवा र प्रकाशशरण महतको घर बनाइदिन चन्दा संकलन गर्न थालेपछि आलोचना आकाशिएको हो ।

अध्यक्ष श्रेष्ठले देउवाको घर बनाइदिन पैसा उठाउन थाले पनि सामाजिक सञ्जालबाट उनै देउवा र आरजुसँग पहिले खिच्ने बितिक्कै हालेका सबै फोटो तथा भिडियो हटाएका छन् । 

उता संघकै अर्का अध्यक्ष डा. बद्री केसीले भने संकटको घडीमा बुद्धिमत्ता देखाउँदै आसन्न महाधिवेशन स्थगित गरी बृहत् एकताको आह्वान गरेका छन्। उनले विश्वभरका नेपालीलाई विगतका तिक्तता र आपसी मतभेद छोडेर मातृभूमिप्रतिको उत्तरदायित्वबोधसहित अगाडि बढ्न आग्रह गरेका छन्। 

एनआरएनएमा लामो समयदेखि विवाद छ । दुई अध्यक्षले आफूलाई संघको वैधानिक नेतृत्व दावी गर्दै आएका छन् । श्रेष्ठले संघको नाम बेचेर सीमित नेताहरुको घर बनाइदिन पैसा उठाएपछि केसी समूह पनि रुष्ट छ । केसी समूहकै एक सदस्य भन्छन्, ‘सार्वजनिक भौतिक संरचनाको पुनः निर्माण भनेर पैसा उठाउने, अनि पैसा चाहिँ बूढानीलकण्ठ पुर्याउने ? हरेक एनआरएनए सदस्यले आफ्नो आफ्नो पार्टीको नेताको घर बनाइदिन संघको लेटर हेड प्रयोग गरे भने कस्तो सन्देश जान्छ ?’

संघमार्फत् उठाइने रकम सार्वजनिक संरचना पुनः निर्माणको लागि प्रयोग हुनुपर्ने, पार्टीका नेताहरुको घर बनाइदिन मन भए निजी तरिकाले सहयोग गर्नसकिने ती सदस्यको धारणा छ ।

टिप्पणीहरू