गैरराजनीतिक प्रधानमन्त्रीको राजनीतिक स्मृति
जेन–जी ध्वंश आन्दोलनको नाममा मच्याइएको विध्वंसको जगमा बनेको निर्दलीय सरकारको नेतृत्व प्रधानमन्त्री सुशीला कार्कीले गरिरहेकी छन्। जेन–जीको मागअनुसार आफ्नो मन्त्रिपरिषद्मा गैरराजनीतिक व्यक्तिलाई समेटेर सरकारलाई पूर्णता दिने तयारी उनको छ। तर, प्रधानमन्त्री कार्की स्वयं पूर्णत: गैरराजनीतिक पात्र भने होइनन्।
नेपाली कांग्रेस पृष्ठभूमि भएकी उनी विद्यार्थी जीवनमा नेपालदेखि बनारससम्म राजनीतिमा सक्रिय थिइन्। अहिलेका राष्ट्रपति रामचन्द्र पौडेलबाट पार्टी सदस्यता लिएकी उनको कोइराला परिवारसँग विशेष सम्बन्ध थियो। कार्कीले आफ्नो पुस्तक ‘न्याय सुशीला कार्की’ मा यसको विस्तृत वर्णन गरेकी छन्।
२०२७ सालमा राष्ट्रपति पौडेल नेपाल विद्यार्थी संघ (नेविसंघ) को केन्द्रीय सदस्य हुँदा संगठन विस्तारका लागि विराटनगर पुगेका थिए। नेविसंघको क्याम्पस तथा जिल्ला समिति गठन गर्न गएका पौडेलकै हातबाट सदस्यता लिएर उनले औपचारिक रूपमा विद्यार्थी राजनीति शुरु गरेको पुस्तकमा उल्लेख छ।
कांग्रेसका संस्थापक बीपी कोइरालादेखि उनका परिवारका सदस्यहरूसँग विराटनगरदेखि बनारससम्म भेटघाट गरेको अनेक प्रसंग पुस्तकमा समेटिएका छन्। तर, बीपीलाई उनका बारेमा झूटो कुरा सुनाइएकाले विश्वास टुट्दै सम्बन्ध अन्त्य भएको पनि किताबमा खुलाएकी छन्। बीपीलाई भेट्न बनारस पुगेको बेला आफूलाई पंचायती सरकारको सिआईबीको जासूस भन्ने आरोप लगाइएकाले बीपीले भेट्न अस्वीकार गरेको प्रसंग पनि उनले उठाएकी छन्।
पुस्तकको पृष्ठ ९८ मा बीपीसँगको संवादबारे लेखिएको छः
‘तिमी त दिल्लीमा नेपाली राजदूतावास धाउँछौ, हामीले त हाम्री छोरीजस्तै ठानेर विश्वास गरेका थियौं, हामीविरुद्ध काम गर्छौ, हामी कहाँ किन आउने? अबदेखि नआऊ।’
यस प्रसंगबारे कार्की लेख्छिन्:
‘म सान्दाजुको कुरा सुनेर छाँगाबाट खसेजस्तै भएँ। नेपाल फर्केर वकालतमा लागेँ। अहिले यसो सोच्छु, सान्दाजुले मलाई जासुसी गरेको आरोप नलगाएको भए मेरो जीवन कता मोडिन्थ्यो होला। जीवन यस्तै रहेछ, आशा नगरिएका मोडहरू आउँदा रहेछन्। अनि त जिन्दगीले आफ्नो बाटो आफैं बनाउँदै जाँदो रहेछ। जिन्दगीले आफैं खनेको बाटोमा मैले पाइला दम्काएँ।’
पुस्तकमा गिरिजाप्रसाद कोइरालासम्बन्धी रोचक प्रसंग पनि कार्कीले कोट्याएकी छन्। एकदिन बनारसको सारनाथमा आफू, कोइराला परिवारका सदस्य वाणु र मधु बाँस्तोला (स्व. चक्र बाँस्तोलाकी धर्मपत्नी) बसिरहेका बेला गिरिजा आइपुगेको र खुशीले गदगद हुँदै मिजासिलो गफगाफ गरेको सन्दर्भ उनले स्मरण गरेकी छन्।
‘हामीलाई देखेर उहाँ (गिरिजाबाबु) को मन रमाएछ क्यारे, खल्तीबाट पैसा निकाल्दै भन्नुपर्यो–ल, आज तिमीहरूलाई दुई–दुईटा सारी किनिदिन्छु,’ पुस्तकमा लेखिएको छ, ‘हामीले पैसा लियौं, सारी पनि किन्यौं।’
बीपी कोइरालाले गिरिजालाई हप्काएको देखेर आफू अचम्मित भएको प्रसंग पनि उनले पुस्तकमा लेखेकी छन्। त्यहाँ उल्लेख छः
‘सान्दाजु (बीपी) को अगाडि उहाँ (गिरिजा) खासै बोल्नुहुन्नथ्यो। एक पटक सान्दाजुले त्यत्रो उमेर पुगेको भाइलाई पनि हप्कीदप्की गरेको देखेर म छक्क परें। भयो के भने, सान्दाजुले गिरिजा दाजुलाई बोलाएर अंग्रेजी भाषामा चिठ्ठी लेख्न लगाउनुभयो। गिरिजा दाजुले लेखेर पनि दिनुभयो। त्यो चिठ्ठी पढेर रातो अनुहार बनाउँदै सान्दाजुले मलाई बोलाएर भन्नुभयो– ए सुशिला, यो बिग्रेको सच्याऊ त। सान्दाजुको रिसाएको अनुहार देखेर पनि मैले सच्याइदिएँ। त्यसपछि त झन् रिसाउनुभयो। गिरिजा दाजुसँग निकै कराउँदै भन्नुभयो– हेरेर तिमी यत्रो भइसक्दा पनि साधारण काम गर्न सक्दैनौ।’
कार्कीले आफ्नो पुस्तकमा नेपाली कांग्रेससहित अन्य राजनीतिक दलहरूको चरित्रबारे पनि विश्लेषण गरेकी छन्। कांग्रेसमा प्रजातान्त्रिक संस्कारको अभाव रहेको र माओवादी अझै पार्टीकै रूपमा विकसित हुन नसकेको उनको ठम्याइ छ।
‘नेपाली कांग्रेस प्रजातन्त्र पक्षधर हुँदाहुँदै पनि नेताहरूमा अंहमता र घमण्ड छ। तिनीहरूमा राजनीतिक संस्कारको अभाव देखिन थालेको छ,’ पुस्तकमा लेखिएको छ, ‘माओवादी अझै एउटा सुदृढ पार्टी बनेको छैन। उसमा मर्यादा छैन।’
कार्कीले अहिलेको राजनीतिक प्रणाली र नेताहरूमा रहेको सत्ताकेन्द्रित चरित्रप्रति असन्तोष पनि व्यक्त गरेकी छन्। पुस्तकमा लेख्छिन्:
‘जतिसुकै व्यवस्था परिवर्तन भए पनि सत्तामा पुग्नेहरूको चरित्रमा भने कहिल्यै परिवर्तन आएन। चाहे २००७ सालको होस्, ०४६ वा ०६३ सालको होस्। राज व्यवस्था होइन, नेताहरूले जहिल्यै पनि आफ्नो वैयक्तिक हैसियत परिवर्तनलाई नै सम्पूर्ण परिवर्तन ठाने। जहिल्यै पनि सत्तामा हुनेहरू पजनीको अस्त्र ल्याएर बसेका छन्।’
उनको धारणा छ, पार्टी, नेतृत्व र राज्य प्रणाली ‘हाँडीगाउँको जात्रा’ जस्तै बनेका छन्। विधिको भन्दा व्यक्तिको शासन कायम राख्ने प्रवृत्ति मौलाइरहेको भन्दै उनले राजनीतिक नेतृत्वप्रति असन्तोष व्यक्त गरेकी छन्।
‘अहिले सम्झिँदा मलाई अचम्म लाग्छ, बेलाबेलामा देशको नियति देखेर निरासा पनि छाउँछ,’ उनले प्रधानन्यायाधीशबाट अवकाशपछि २०७५ सालमा प्रकाशित पुस्तकमा लेखेकी छन्, ‘खोई हामीले कस्तो व्यवस्था स्थापना गर्यौं, जहाँ एउटा महान्यायाधिवक्ताले कसलाई प्रधानन्यायाधीश बनाउने र कसलाई नबनाउने भनेर चलखेल गर्छ।’
प्रधानन्यायाधीशको नियुक्तिको सन्दर्भमा तत्कालीन महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले नकारात्मक भूमिका खेलेको भन्दै उनले यो प्रसंग उठाएकी हुन्। अदालतमा दलीय हस्तक्षेपको चर्को आलोचना गर्दै उनले लेखेकी छन्, ‘बरु एमालेले मेरो नियुक्तिको विरोध गरेन। एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत अरू नेतासँग मेरो खास निकटता थिएन। अझ झलनाथ खनाललगायत कतिपयसँग त मेरो कहिल्यै भेटघाट पनि भएन। महिलालाई ल्याउनुपर्छ भन्ने धारणा एमालेभित्र बलियो पाइयो।’
टिप्पणीहरू