नयाँ दल गठनमा बालेनको ‘आइ लभ यू’ रणनीति
काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह (बालेन) ले धरान उपमहानगरका मेयर हर्कराज साम्पाङ राईलाई ‘आइ लभ यू’ भनेका छन्।
प्रधानमन्त्री बन्न नपाएपछि रिसाएका हर्कलाई फकाउँदै बालेनले उनले जति गाली गरे पनि आफूले माया गर्न नछाड्ने बताएका छन्। बालेनले आज फेसबुकमा लेखेका छन्, ‘डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन। एकतर्फी नै सही, तर मेरो माया साँचो हो।’
जेन–जी विध्वंसपछि सत्तापलट हुँदा हर्क प्रधानमन्त्रीको दौडमा थिए। रातारात धरानबाट काठमाडौँ आएका उनले जंगीअड्डामा समर्थक उतारे । तर, बालेनले सुशीला कार्कीलाई अघि सारेपछि आक्रोशित उनले केही दिनदेखि फेसबुकमार्फत् उनलाई कठोर शब्द प्रयोग गर्दै आक्रमण गर्दै आएका छन्।
हिजो र अस्तिमात्रै उनले करिब एक दर्जन स्टाटस लेखेर बालेनमाथि कटाक्ष गरेका थिए। हिजोको स्टाटसमा उनले भनेका छन्, ‘लुकेर बस्ने र लुकेर खेल्ने लाई गेमर भनिन्छ, लिडर भनिँदैन!’
यता, जेन–जी विध्वंसको ‘आर्किटेक्ट’ मानिएका बालेन नयाँ दल गठनको तयारीमा रहेको खबर छ । फागुनमा तोकिएको मध्यावधि चुनावअघि नै दल दर्ता गरेर देशव्यापी लैजाने रणनीति उनले बनाइरहेका छन्। त्यसक्रममा पूर्वमा जनजातिमाझ लोकप्रिय हर्कलाई समेत फकाउने उनको योजनामा ‘आइ लभ यू’ भनिएको अर्थ लगाइएको छ ।
स्रोतका अनुसार बालेनको १५ सदस्यीय कोर टिमले हर्कलाई पनि पार्टीमा समावेश गर्ने गरी गृहकार्य थालेको छ । चुनावपछि पाँच वर्षसम्म अकण्टक सत्ता सञ्चालन गर्ने महत्वाकांक्षामा रहेका उनले सोही कारण अन्तरिम सरकारको प्रधानमन्त्री बन्न नचाहेको अड्कल समेत राजनीतिक वृत्तमा व्याप्त छ ।
टिप्पणीहरू