खरानीको थुप्रोमा सर्वोच्चको टेण्ट, बारभित्र तोपगोला र घातक हतियार
जेन जीको ध्वंशात्मक आन्दोलनबाट ध्वस्त सर्वोच्च अदालत प्रशासनले खुला चौरमा टेण्ट टाँगेर सेवा थालेको छ ।
प्रदर्शनकारीले सर्वोच्च भवनमा आगजनी गर्दा भौतिक पूर्वाधारसहित ऐतिहासिक दस्तावेजहरू खरानी भएका छन् । करोडौँ मूल्यका सवारीसाधन, सूचना प्रविधि नेटवर्क,प्रेसलगायत सम्पूर्ण सामग्री नष्ट भएका छन्।
यसअघि गत बिहिबार बसेको सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीश संलग्न आकस्मिक ‘फुल कोर्ट’ ले आजदेखि बन्दी प्रत्यक्षीकरणका निवेदन दर्ता तथा नियमित सुनुवाइ कार्य थाल्ने निर्णय गरेको थियो । आगजनीका कारण न्यायिक इतिहासका महत्वपूर्ण दस्तावेजहरू नष्ट भए पनि संविधानले दिएको जिम्मेवारी पूरा गर्न फुल कोर्टले प्रतिबद्धता जनाएको थियो ।
बार एशोसिएसन भवनमा तोपका गोला र घातक हतियार भेटिएका छन् ।
सर्वोच्चको निर्णयमा विषम परिस्थितिमा पनि नेपालको संविधानले न्यायपालिकालाई सुम्पेको दायित्व निर्वाह गर्दै जनतामा निहित सार्वभौमसत्ता,संविधानवाद,विधिको शासन,मौलिक हकको प्रत्याभूति तथा न्याय प्राप्त गर्ने नागरिकको अक्षुण्ण हकप्रति सम्मान गर्दै न्यायको मार्गमा अविचलित र दृढ रहने उल्लेख छ ।
यता,सर्वोच्च परिसरभित्र रहेको नेपाल बार एशोसिएसन भवनमा तोपका गोला र घातक हतियार भेटिएका छन् । जेन–जी आन्दोलनको क्रममा ध्वस्त भएको बार परिसर सफा गर्ने क्रममा आज ती वस्तु भेटिएका हुन्। गत साताको हिंसात्मक र ध्वंशात्मक प्रदर्शनका क्रममा भएको आगजनीपछि भेटिएका ती वस्तुहरूबारे प्रारम्भिक अनुसन्धान सुरु भएको छ ।
एशोसिएसनका महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाका अनुसार तोपका गोलासँगै अन्य घातक हतियारहरू पनि भेटिएका छन्। ती हतियारको अवस्था हेर्दा भौतिक संरचना ध्वस्त पार्न तालिमप्राप्त समूहले आक्रमण गरेको आशंका गरिएको छ ।
टिप्पणीहरू