प्रधानमन्त्री नखाएको दुर्गा प्रसाईंको दाबी

प्रधानमन्त्री नखाएको दुर्गा प्रसाईंको दाबी

जेनजी आन्दोलनको क्रममा घुसपैठ गरेर विध्वंश मच्चाएको आरोप लागेका दुर्गा प्रसाईंले अन्तरिम सरकारको नेतृत्व गर्न सबैभन्दा पहिले सेनाबाट आफूलाई प्रस्ताव आएको दावी गरेका छन् । 

आज सामाजिक सञ्जालमार्फत् प्रधानसेनापति अशोकराज सिग्देललाई सम्बोधन गर्दै उनले उक्त प्रस्ताव गरेकोमा धन्यवादसमेत दिए । प्रसाईंले तत्काल आफूहरु अन्तरिम सरकारमा सहभागी नहुने, बरु दल दर्ता गरेर ६ महिनापछि हुने निर्वाचनमार्फत् सरकारमा पुग्ने जिकिर पनि गरेका छन् ।

‘सम्माननीय प्रधानसेनापतिज्यू, अन्तरिम सरकारको नेतृत्व र जिम्मेवारी दिने विषयमा सर्वप्रथम हामीलाई विश्वासगरी आह्वान गर्नुभएकोमा तपाईं र सम्पूर्ण नेपाली सेनाप्रति हार्दिक आभार व्यक्त गर्दछौँ’, उनले भनेका छन्, ‘जनतालाई सडकमा छाडेर, अभिभावकविहीन बनाइ केवल पद र सत्ता खोज्दै सरकारमा जाने हाम्रो कुनै व्यक्तिगत स्वार्थ छैन।’

प्रसाईले विद्यमान संविधान खारेजको माग राख्दै नेपाललाई सनातन हिन्दु अधिराज्य घोषणा गर्नुपर्ने अडान कायमै रहेको पनि बताएका छन् । ‘हाम्रो अडान स्पष्ट छ, विद्यमान संविधान खारेज हुनुपर्छ र नेपाललाई पुनः सनातन हिन्दू अधिराज्य घोषणा गर्नुपर्छ’, उनले थपेका छन्, ‘हाम्रो पूर्वघोषित योजनाअनुसार हामी दल दर्ताको अन्तिम तयारीमा छौँ।’

प्रसाईले ‘भुइँमान्छे’को नारा फ्याँकेर नागरिकलाई आफ्नो भुलभुलैयामा पार्ने प्रयास भने छाडेका छैनन् । करिब पाँच वर्षदेखि युटुबरमार्फत् ‘सिंहदरबार र संसद भवन जलाउनुपर्छ’ भन्नेजस्ता अराजक अभिव्यक्ति दिएर युवाहरुलाई हिप्नोटाइज र म्यानुपुलेट गर्दै आएका उनले भदौ २३ र २४ गतको विध्वंशपछि पनि उही रटान लगाएको देखिन्छ । 

एउटा विरोधाभास र आशंका के पैदा भएको छ भने, सार्वजनिक सम्पतिमाथि तोडफोड र आगजनीमा प्रसाई समूहकै धेरै युवाहरुको अनुहार पनि देखिएको छ, जो चैत १५ गतेको तिनकुने घटनामा समेत संलग्न थिए । तर, प्रसाईंले भने मुलुकको सार्वभौमिकता र सांस्कृतिक पहिचानविरुद्ध भइरहेका यस्ता षड्यन्त्रहरूप्रति भर्त्सना व्यक्त गरेको जनाउँदै हाँस्यास्पद अभिव्यक्ति दिँदै हिँडेका छन् ।

टिप्पणीहरू