आरजू जानुको खुशी र सुशीला आउनुको उल्लास शंकर लामिछानेको अमूर्त प्याजको चिन्तन जस्तै हो

आरजू जानुको खुशी र सुशीला आउनुको उल्लास शंकर लामिछानेको अमूर्त प्याजको चिन्तन जस्तै हो

यात्रा रोमाञ्चक छ, तर सहज छैन। कथित जेन जीको साईबर अभियानलाई कसले अपहरण गर्यो? धुँवाका मुस्ला पातलीने क्रमसंगै ध्वंसमा संलग्न अनुहारहरु क्रमश दृश्यमा आउंदैछन्। ज्ञानेन्द्र शाहको जन्मदिनमा फूलको गुच्छा बोकेर निर्मल निवास पुगेको एउटा तालूखुईले मान्छे थियो। सिंहदरवार जलाउँदा यही मान्छेले नेतृत्व गरेको भीडिओ सामाजिक संजालमा आयो। सर्वोच्च अदालत जलाउने बेलाको अर्को दृश्यमा प्रचण्डको माओवादी पार्टीका एक बिद्यार्थी नेता कराएको देखियो, सुनियो, "रास्वपाका साथीहरु, यही मौका हो है तपाईंहरुको !" 

रास्वपा सभापति संलग्न सहकारी ठगी प्रकरण प्रमाणित गर्न  व्यवसायिक रूपले भिडेका बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी संयोगले त्यहीबेला नेपाल बार एशोसिएशनमा रहेछन्। आगजनी शुरु भएपछि रास्वपाको नाम आउँदा उनको हंसले ठाउँ छोड्नु स्वाभाविक हो। रास्वपा नेतालाई थुनामा पठाउनुपर्ने पक्षमा बहस गर्दा नीलो स्यालका कार्यकर्ताहरुले उनलाई सडकमै आक्रमण गरेका थिए। त्यतिबेला आम जनताको हस्तक्षेपले बाँचेका उनलाई सर्वोच्च अदालत जलाउने रास्वपाका कार्यकर्ताले भेटेको अवस्थामा उनको टोपी र टाई मात्रै होईन, ज्यान पनि जाने पक्का थियो। 

त्यसैले उनी भागेर छेउको कानूनी किताब प्रकाशन गर्ने कार्यालय गएर लुके। एकछिनमा नेपाल बार एसोशिएशन जलेर आएको धुँवाले त्यो कोठा पनि भरियो। त्रिपाठी जे होला होला भनेर त्यहाँबाट भागेर सर्वोच्च अदालतकै नयाँ भवन बन्न लागेको ठाउँमा पुगेर खुला हावामा सास फेर्न थाले। त्यहाँ केही कानूनकर्मी सहित सूरक्षाकर्मीहरु आफै ओत लागेको देखे। उनले छक्क परेर सोधे, "के हो? तपाईन्हरुको काम सुरक्षा दिने होईन?" सुरक्षाकर्मीहरुले जवाफ दिए, "सर, हामीलाई त आफ्नो ज्यान बचाउनु, हस्तक्षेप नगर्नु भन्ने आदेश छ।"

यता सर्वोच्च अदालतको छेउमै टाँस्सिएको राष्ट्रिय सचिवालय सिंहदरवारको ढोका बेवारीस थियो। अति विशिष्ट व्यक्तिहरुका निम्ति मात्र खोलिने यो पश्चीम ढोकालाई  सुरक्षाकर्मीहरुले अनाहकमा छोडेर हिंड्नु सामान्य कुरा थिएन। कसको आदेशले भयो यस्तो? जेन जी नामको भीडमा छिरेको समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भवन जलाउनुको कारण के थियो ? राजस्व असूली गर्ने कार्यालय छानी छानी खरानी बनाउनुको तात्पर्य के थियो? सर्वोच्च अदालत जलाउन पुगेको भीडको नियत रास्वपाका सभापतिको फाईल मिसील डढाउने हुनसक्छ। तर एउटा सुखद कुरा के भयो भने, भीडले बिशेष अदालत जलाउन पाएन, सकेन वा जानेन। भ्रष्टाचारका यावत फाईल र मिसीलहरु त्यहाँ अझै सुरक्षित छन्। 

सुरक्षित त बुढानीलकण्ठको देउवा निवास पनि थियो। शेरबहादुर देउवा पटके मात्र होईन, प्रतीक्षारत प्रधानमन्त्री पनि थिए। उनकी जीवनसंगीनी बहालवाला परराष्ट्रमन्त्री पनि थिईन्। अचानक कसले हटायो उनीहरुको सुरक्षा? कसरी भीडले देउवा दम्पत्तिलाई आफ्नै शयनागारबाट लतारेर त्यही बाटो भाग्न बाध्य बनायो जुन बाटो उनीहरुले चोर रोक्न अग्लो पर्खाल माथि काँडेतार हालेका थिए?  जेन जीले बालकोट स्थित प्रधानमन्त्री ओलीको निजी निवासमा तैनाथ सुरक्षाकर्मीहरुलाई कसरी "लघार्न" सक्यो? कसरी आगो लगायो? यी सत्तारुढ दलका नायक थिए। कुनै चीर प्रतिक्षित योजना बिना यो सम्भव छ? 

सेना र राष्ट्रपतिबीचको द्वन्द 

राष्ट्रपति रामचन्द्र पौडेललाई जनताले "चमेरो" वा "कागती बाजे" जे सुकै नाम दिने अधिकार छ। तर नेपाली सेनाका निम्ति उनी परमाधिपति हुन्। दिवंगत राजा बीरेन्द्र पनि जीवित रहुन्जेल "शाही" नेपाली सेनाका परमाधिपति थिए। तर उनको बंश बिनाश पनि सेनाले टुलुटुलु हेरेर बसेको हो। राष्ट्रपति पौडेलको निवास र कार्यालय रहेको ऐतिहासिक शीतल निवासको एउटा कूनोमा आगजनी हुनु कुरा त्यस अर्थमा ठूलो कुरा नहुन सक्छ। तर नेपालमा सेनाको व्यवसायिकता माथि शंका नभएपनि नियतमा भर पर्ने अवस्था छैन। नेपाली प्रजातान्त्रिक यात्रालाई राजा महेन्द्र र उनका छोरा ज्ञानेन्द्रले सेनाको साथमा दुई पटक अवरुद्द गरेको ईतिहास छ। 

भदौ २४ दिनभरी देश जलिरहँदा सेना चूपचाप बस्यो। किन? नेपाली सेनाका प्रवक्ताले दिएको जवाफ थियो, "परमाधिपति (राष्ट्रपति)को आदेश बिना सेना परिचालित हुन सक्दैन, त्यसैले !" अन्तत: राती दश बजे सेना सडकमा उत्रियो। किन? 

किनभने, त्यतिन्जेल नेपाल सरकारका दुई तिहाई बहुमतका धनी प्रधानमन्त्री केपी ओली कहाँ छन् भन्ने कुरा स्वयं राष्ट्रपतिलाई थाहा थिएन। सडकमा ओली सपरिवार नोटको बोरा बोकेर दुबई उडेको समाचार नियोजित रुपमा फैलियो। दुबईबाट केपी ओलीलाई बिहान भर्खरै एयरपोर्टमा देखिएको टिकटक बन्न थाल्यो। कसले गरायो यो प्रचारभ्रम ?

सेनाले राष्ट्रपतिलाई भगौडा प्रधानमन्त्री ओली शिवपुरीको सैनिक स्टाफ कलेजको क्वार्टरमा छन् भन्ने जानकारी दिन आवश्यक ठानेन। सेनापति अशोक सिग्देलले बरु पौडेललाई भने, "हजूर राजिनामा दिनुस, बाँकी हामी सम्हाल्छौं।" यो संवाद सेनापति र राष्ट्रपति बीचको थियो। तर संवाद चुहिन्छन्। पत्रकार किशोर नेपालको एउटा स्टाटस, जसले भनेको थियो, "राष्ट्रपतिले भने, म राजिनामा दिन्न, बरू मलाई मारिदिनुस, दोष आन्दोलनकारीलाई लगाईदिनुस, अनि जे मन लाग्छ त्यो गर्नुस्," एउटा खली खाएको पत्रकारको सूचना श्रोतसम्मको पहुँचको उपज थियो। 

कुनैबेला ज्ञानेन्द्र शाहले पनि नारायणहिटी दरवारमा लुकेर द्वन्दग्रस्त देशको प्रधानमन्त्री हुन लालयितहरुबाट ठेक्का बोलकबोल आव्हान गरेका थिए। सेनापति सिग्देलले जेन जी लाई बोलाएर "दूर्गा प्रसाईं र रास्वपा पनि आन्दोनलनका 'स्टेक होल्डर' हुन्" भन्नुको अभिप्राय के थियो? 

जेन जीले आफ्नो भविष्यको लागि गरेको आन्दोलनमा दूर्गा  प्रसाईं जस्ता बैंक ठग र मौखिक भौतिक आतंककारीको भूमिका के ? सहकारी ठगीको रकम बिदेश पुर्याउने र पार्टी चलाउने रास्वपाको भूमिका के? एउटा ठगको अधीनमा रहेको दासहरुको समूहले लहैलहैमा संसदको बीस पद जित्दैमा त्यो कसरी अचानक उदाएको जेन जी को सहायक सिद्द भयो? 

सेनापति सिग्देल धमीलो पानीमा माछा मार्न खोज्दैथिए। नेपाली सेनालाई पृथ्वीनारायण शाहले शुरु गरेको मध्यपहाडी खस आर्य ढाकाटोपी दौरासुरुवाल वर्चस्ववादी राष्ट्रवादको उन्मादले छोडेको छैन। खस आर्य शासकका लागि मध्यपहाड माथिका हिमाली जनजातिहरु पर्यटनको भारी बोक्ने याक हुन्। पहाड मुनीका तराईमा धान फलाउने मधिसेहरु गोरु हुन्। 

रवि लामिछानेको ठाउँमा मनिष झा अथवा दूर्गा प्रसाईंको ठाउँमा तेह्रथुमको एउटा लिम्बुले चलाएको अभियानमा अशोक सिग्देलको भूमिका एउटै हुन्थ्यो? शंका छ। 

मुद्दा वर्चस्वको हो। भ्रष्टाचार र कुशासन हतियार हुन्। प्रजातन्त्र एक कथावली हो। प्रजातन्त्रको कुरा पंचहरुले पनि गर्थे। बहुदलवादीले त झन् गरे। गणतन्त्रवादीको त झन् कुरै के भो र? घुमिफिरी यी सबै एउटै घुम्दै गरेको जाँतोका आहारा हुन्। जाँतोलाई गहुँ आवोस कि घून, के फरक पर्यो र? उसको काम नै जे आयो पचायो हो। अन्त्यमा उसले दिने परिणाम हो- धूलो। 

के हो यो कलर रिभोल्युसन ?

अहिले भारतीय पत्रकारहरु नेपालमा ब्यस्त छन्। नेपालमा गणतान्त्रिक संबिधान आउँदा स्तब्ध थिए। त्यसपछि नेपालमा आएको भूइंचालोमा भारतीय सेनाको जहाज चढेर आएका भैया पत्रकारहरुको तुजुक हेर्न लायक थियो। एउटा च्यानलले भुईंचालोको केन्द्र गोरखाको बारपाक पुगेर बिस्कुट बाँडेर केटाकेटीलाई जम्मा गर्यो। त्यसपछि कराउन  लगायो, "मोदी, मोदी, मोदी !"  

त्यसपछि भारतीय मेडियालाई घर फर्काउने साईबर अभियान नै चल्यो। घुमंतेहरु फर्किए। स्थानीय ईजाजत लिएर बसेका सूचीकृत पत्रकारहरु पनि आफूलाई तौलिन बाध्य भए। भारतीय मेडियाकर्मीहरु भन्छन, "नेपाली लोग बिना कारण बहुत प्राऊड हैं।" 

भदौ २३ र २४ मा जे भयो, भारतीय मेडिया अमेरिकालाई दोष दिन ज्यान दिन लागेको छ। किन होला? के यो अमेरिकाले भारतलाई लगाएको 'ट्यारिफ' मात्रै हो? एउटाको रीस अर्कोलाई पोखेको मात्रै हो? होईन। भारतीय मेडिया नेपाली जस्तो राष्ट्रिय स्वार्थमा समेत विमति राख्दैन। नेपालको वर्तमान घटनाप्रति भारतीय मेडियाले आफ्नो भाष्य बनाएको छ, कलर रिभोल्युसन। 

शुरुमा श्रीलंका, अनि पाकिस्तान, त्यसपछि बांग्लादेश र अब नेपाल। भारतीयहरुको आकलन अनुसार अमेरिका दक्षिण एशियामा आतंक फैलाएर भारतलाई घेर्न खोज्दैछ। 

भारतीय राजनीतिका जानकार, भारतीय जनता पार्टी बीट सम्हालेका नेपालका तथाकथित बरिष्ठ पत्रकार युवराज घिमिरे यो लेख्दासम्म भारतमै छन्। उनलाई अनगिन्ति समाचार माध्यमले अन्तर्वार्ता गरे। घिमिरेको लोली र बोली सन् २००८ तिर एस डी मुनीको जस्तो थियो, अहिले पनि त्यस्तै छ। घिमिरे नेपाली र अंग्रेजी भन्दा हिन्दी राम्रो बोल्दारहेछन् ! 

लाचार परराष्ट्रमन्त्री 

भारतका पहिला प्रधानमन्त्री जवाहरलाल नेहरुले आफ्नो देशको संसदमा भारतीय सीमाको चासो नेपाल पारीको हिमालयसम्म छ भन्दा बीपी कोईरालाले यसलाई अन्तर्राष्ट्रिय बिषय बनाए, जेन जीलाई यो थाहा छैन। त्यसपछि चीन गएर उनले कसरी सगरमाथाको दक्षिणी कोल्टो नेपालको भागमा पारे, जेन जीलाई थाहा छैन। जेन जी लाई बीपी कोईराला को हुन्, त्यो पनि थाहा छैन। 

बिपीन जोशी ईजरायलमा कृषि बिज्ञान पढ्न गएका थिए। ईजरायललाई एक राष्ट्रको मान्यता दिने नेपाल पहिलो सार्वभौम मुलुक हो भन्ने पनि जेन जी लाई थाहा छैन। बिपीन जोशी मरे कि ज्युँदै छन्, उनको परिवार बाहेक अरुलाई चासो छैन। तर चासो हुनुपर्ने परराष्ट्र मन्त्रीको घरबाट डढेको डलर र नेपाली रुपियाँको खात भेटियो। बीपीन अपहरित हुँदा नेपाल सरकारको परराष्ट्र मन्त्रालय के गर्दैथियो? संयुक्त राष्ट्र संघको बैठकमा ईजरायल बिरुद्द भोट हाल्दैथियो। 

हमासलाई समर्थन गर्ने देशका कूटनीतिक आयोग छन् नेपालमा। आरजू, ओली वा देउवाको बुद्दी किन पलाएन? एकपटक परराष्ट्र मन्त्री भैसकेका ओलीले आरजूलाई यो कुरा किन बुझाउन सकेनन् ? किनभने, ओली र आरजूको टाउकोमा भ्रष्टाचारको तरवार झुण्डिएको थियो। उनीहरुलाई आफू बाँच्ने बहानाको खोजी थियो।  

हमासलाई समर्थन गर्ने मुलुकसंग कुरा गर्न आरजू देउवा राणालाई के ले छेकेको थियो? थिएन। म्याडमको दिमाग कम घमण्ड बढी भएर बिग्रेको अवस्था हो यो। आधा पोलिएको डायरीमा भेटिएको कनटिनेण्टल डीस भन्दा दाल भात तरकारीमा रमाउने बानी हुनुपर्थ्यो। जनताका लागि काम गर्छु भन्नेले ईमान्दारीपूर्वक प्रदुषित पानी पिएको राम्रो। नत्र जनताले हिलोमा लत्पत्याउँछन्। अब आरजू मात्र होईन, शेरबहादुरको समेत राजनीतिक तिकडम सकियो। नयाँ सरकारले यीनको राहदानी जफत गर्नेछ। कुनैबेला कांग्रेसी भनेर आफैले नियुक्त गरेको प्रधान न्यायाधीश कार्कीलाई देउवाले महाभियोग लगाउने अवस्था आएको थियो। अब पासा पल्टिएको छ। 

को हो जेन जी?

जेन जीका बारेमा यावत कुरा आएका छन्। सूदन गुरुङलाई नेपाली संचार माध्यमले चिन्नु अघिनै भारतीय यूट्यूब च्यानलले प्रख्याती दिएका थिए। नेपालीहरुलाई केही थाहै थिएन। एकदिनमा भारतीयहरुले उनलाई जर्ज सोरोसको ओपन सोसाईटीको गुमस्ता बनाईदिए। बार्बरा एडम्स फाउन्डेसनको नाम आयो। गुरुङको एन जी ओ का लागि बारबरा फ़ाउण्डेसनको हर्ताकर्ताका रुपमा डा सन्दूक रुईतले आफ्नो अफिस चलाउन दिएको कुरा आयो। स्वतन्त्र तिब्बतीहरुका निम्ति गुरुङ्गको संस्था मार्फत पैसा प्रवाह भएको कुरा आयो। यो ठूलो कुरा हो। सानो कुरा, गुरुङ धरानका लहडी मेयर हर्क साम्पांगसंग मिलेर उठतीपुठतीमा लागेका थिए भन्ने कुरा पनि आयो। कहिले गुरुङ हाँसेको तस्वीर आउँछ, कहिले रोएको! उनलाई पत्याउने नेपाली रुनु कि हाँस्नु ? 

सूदन गुरुङ मात्र होईन, उनको वरिपरी घुम्नेहरुले देश बनाउने अठोट गर्नु अघि कमसेकम खरदार सुब्बा स्तरको लोकसेवा आयोगको जांच पास गर्नु जरुरी थियो। देश चलाउने तरिका थाहा हुन्थ्यो। 

सुशीला कार्कीको नाम त सतहमा आएको एउटा विकल्प मात्रै थियो। कूलमान घिसिंग, बालेन साह, हर्क साम्पाङ्ग आदि ईत्यादि थिए अग्रपंक्तिमा। के भयो? अचानक बालेन  साह किन तर्किए? बालेनलाई राजा समान ठान्नेहरुको दावी छ, जाबो छ महिनाको लागि किन जाने? गएपछि शानका साथ चुनाव जितेर जाने! ठीकै हो। तर गएपछि के गर्ने? 
ग्रेटर नेपालको त्यो नक्सा प्रधानमन्त्रीको कार्यालयमा हाल्ने?

कुरा त्यो थिएन, बालेन साह एक अपारदर्शी मूक खेलाडी हुन्। उनलाई आफ्नो जीवन र परिवार प्यारो छ। दृश्यमा जति भारत बिरोधी भएपनि नेपालमा भारत बिरोधी भएर "काम" गर्न मुश्कील छ। सिंहदरवार जलाउने उनको मनोकांक्षा पुरा हुँदैथियो। उनका सर्वाधिक अप्रीय नेता केपी ओली दृश्यमा थिएनन्। उनी नेपालको संसद भंग भएको देख्न चाहन्थे। सेनासंग उनको आत्मीयता थियो। अचानक नेपालमा सुशुप्त अवस्थामा रहेको स्लीपर सेलले आगजनी शुरु गर्यो। उनलाई "स्थिति सम्हाल्ने" प्रस्ताव आयो।आँट भएन उनको। बालेनलाई थाहा थियो, सुशीला कार्कीलाई भारतको समर्थन छ। उनले चुपचाप सुशीलालाई समर्थन गरे। नेपाली राष्ट्रवादको नापजाँच बालेनलाई हेर्दा थाहा हुन्छ।  

अब के?

व्यक्तिगत रुपमा सुशीला कार्की असल मात्र होईन, बिन्दास क्रान्तिकारी नै हुन्। जमिन्दारकी छोरी कमैयासंग गएको रीस गर्ने माईतिले पनि अब उनको पुजाआजा गर्ने पक्का छ। शक्तिका अघि धनी खानदानी पनि झुक्छन्। तर शुशीला कार्कीलाई यो पारिवारिक झमेलामा लाग्ने सहुलियत छैन। जे बोल्ने कुरा हो, उनका पति श्रीमान प्रधानमन्त्री दुर्गा सुवेदीले सबै खोलिदिएका छन्। 

उनको व्यक्तित्व बखान गर्नु अघि अब एउटा कुरा भन्न लायक छ। उनी संविधान मिचेर प्रधानमन्त्री भएकी हुन्। उनले आफ्नो प्राध्यापन, वकालत आदि ईत्यादिमा के गरिन, त्यो उनको कुरा हो। नेपालको संबिधानमा बाबुराम भट्टराईले गाडेको खील थियो एउटा। खीलराज रेग्मी। बडो चतुर, ठाऊँका ठाउँ दस्तुर लिएर कुरा मिलाईदिने मान्छेका रुपमा कुख्यात प्रख्यात थिए। 

बाबुरामले भने, मलाई खिलराज नै चाहिन्छ। खिलराजले भने, म प्रधानमन्त्री पनि खान्छु, तर मेरो प्रधानन्यायाधीश खोसिन भएन। भयो त्यस्तै। दक्षिणको छिमेकी खुला रुपमा प्रकट भएको थियो त्यो बेला। बाबुरामले अन्तर्य खोलि नै दिएका थिए -"साँचो त अर्कैको हातमा हुँदो रहेछ।" 

त्यो बेला यस्तो असंबैधानिक काम स्वीकार्य छैन भन्नेमा शुशीला कार्की पनि थिइन। माछा परे दूलामा हात, सर्प परे दूला बाहिर हात? म्याडम प्राईम मिनिष्टर? कि यो बिशेष परिस्थिति थियो? तपाईंका लागि? 
बागमतीमा कति क्युसेक पानी बगे, सर्वोच्च अदालत जहाँको तहीं छ, जस्तो छ त्यस्तै छ। अहिले बाहिरी रूप जलेको मात्रै हो। 

म्याडम पीएम, तपाईं एक यस्तो भग्नावशेषको रखवारी गर्न खटिनुभएको छ, जहाँबाट फिनिक्स उड्ने छैन। संसद भंग भैसकेको अवस्था छ। यो कुरा बेग्लै हो, संसदमा आधाउधी मान्य सदस्यहरु संसद के हो भन्ने थाहा नै नभएकाहरु पनि थिए। माओवादीबाट आएकी एकजना सांसदलाई वर्तमान राष्ट्रपतिको नाम नै थाहा थिएन। काम गर्ने मान्छेलाई यस्तो संसद हुनुभन्दा नभएकै बेस। सुन्दा आनन्द लाग्छ। तर यो अधिनायकवादी सोच पनि हो। 

रामचन्द्र पौडेल व्यक्तिका रुपमा सत्र पटक प्रधानमन्त्री हुने संसदीय चुनाव लडेर हारेका मान्छे हुन्। उनलाई लोभी भन्न मिल्छ, तर उनको निष्ठामा शंका गर्नु को तूक छैन। उनी प्रजातन्त्रवादी मात्रै होईनन्, एक निडर, साहसी र बिद्द्वान राजनीतिज्ञ पनि हुन्। राजा महेन्द्रले उनको उनको निष्ठा किन्न सकेनन्। सेनापति अशोक सिग्देल त्यो बेला जन्मेकै थिएनन्। शेरबहादुर देउवाले आरजूका खातिर उनलाई शीतल निवासको चिस्यानमा पारिदिएको पक्कै हो। तर पार्टी र सरकार प्रमुखका रुपमा देउवा भन्दा पौडेल नेपाली कांग्रेसको नेता हुन लायक थिए। आरजू राणाले देउवाको जीवनमा प्रवेश गरेपछि शैलजा, रामचन्द्र मात्र होईन, देउवाका धेरै समकालीनाहरुको राजनीतिक जीवन अस्ताचलमा पुगेको हो। 

भन्नेले जे सुकै भनुन्, तत्कालका लागि व्यवस्था टिकाउने राष्ट्रपति पौडेल नै हुन्। आरजू राणाको कृत्य हेर्दा बुझिन्थ्यो, उनी माईतीसंग कसम खाएर आएकी थिईन्, "म कांग्रेसलाई समाप्त गरेर मात्रै गर्छु जे गर्छु।"

आरजू जानुको खुशी र सुशीला आउनुको हर्ष शंकर लामिछानेको अमूर्त प्याजको चिन्तन जस्तै हो। जति पत्र केलायो, त्यति आँखा पोल्छ। 

तत्कालका लागि यो अन्तरीम सरकारले राष्ट्रपतिबाट पाएको कार्यादेश (जनादेश होईन) फ़ागून २१ मा चुनाव गराउने हो। यो आन्दोलनमा स्वदेशी बिदेशी घूसपैठ भएको छ। यसको छानवीन गरेर जनतालाई थाहा दिए झन् गजब। जेन जी बिस्तारै विस्मृतिमा जानेछ। तर म्याडम पीएमले कसको लागि काम गरेको हो? जनता हेर्दैछन्। 

सुशीला कार्कीले धरान क्याम्पसमा कानून पढाउँदा म पनि काठमाण्डौबाट झुक्किएर साथीहरुसंग उहाँको क्लास लिन पुगेको थिएँ। सबैले "खतरा" म्याम भन्थे उहाँलाई। उहाको पढाउने शैली मन परेको थियो। ठूलो स्वर, असीमित उर्जा र आत्मविश्वास ! 

नेपालमा जसले दंगा गरायो, जसले उहाँलाई राष्ट्रको कार्यकारी प्रमुख बनायो, अब उहाँले त्यो शक्ति बिरुद्द राष्ट्रका लागि लड्नुपर्नेछ। हिजो अस्पतालमा घाईते भेट्न जाँदा खुट्टामा गोली लागेको एउटा पट्ठोलाई उहाँले भन्नुभयो, "मान्छे हेर्दा त बलियो छौ, बंगारा झारिदिनुपर्दैन?"

अब म्याडमले कतिको बंगारा झारेर निष्पक्ष चुनाव गराउनुहुनेछ, त्यो हेर्नुछ। उहाले पाएको पहिलो म्याण्डेट यही हो। 
भ्रष्टाचार बिरोधी अभियान, सित्तैमा शिक्षा र स्वास्थ्य आदि ईत्यादिका लागि त माफिया संग लड्नुपर्छ। 

छ महिनाले पुग्दैन। जनतालाई जे गर्न सकिन्छ त्यो मात्र भनौं। आज तपाईंलाई सजाएको भीडले भोली उठाउन पनि सक्छ।  

टिप्पणीहरू