दुई दर्जन होटल ध्वस्त, २५ अर्ब नष्ट

दुई दर्जन होटल ध्वस्त, २५ अर्ब नष्ट

होटल संघ नेपाल (हान) ले मंगलबारको तोडफोड र आगजनीमा दुई दर्जन होटलहरूमा क्षति पुगेको जनाएको छ । प्रारम्भिक विवरणअनुसार काठमाडौं उपत्यका, पोखरा, बुटवल, भैरहवा, झापा, विराटनगर, धनगढी, महोत्तरी, दाङ–तुल्सीपुरलगायतका क्षेत्रमा रहेका दुई दर्जन बढी स्वदेशी तथा विदेशी ब्रान्डका होटल तथा रिसोर्टहरू तोडफोड, आगजनी र लुटपाटमा परेका हुन् ।

संघका अनुसार सबैभन्दा बढी क्षति काठमाडौंको हिल्टन होटलमा भएको छ । हिल्टनमा आठ अर्बको र अन्यमा १७ अर्बको क्षति भएको बताइन्छ ।

तत्काल मर्मत गरेर सञ्चालनमा ल्याउन नसकिने भएकाले चाडबाडको मुखैमा दुई हजारभन्दा बढी कर्मचारीको रोजगारीमा प्रत्यक्ष असर परेको छ । यसबाट उनीहरुले बैंक तथा वित्तीय संस्थासँग लिएको ऋणको साँवा तथा ब्याज भुक्तानीको तालिकासमेत प्रभावित हुने बताइन्छ ।

हानले सार्वजनिक लगानीसहित निजी क्षेत्रका होटल–व्यवसायमा भएको यस किसिमको क्षतिको छानबिन गर्न शक्तिशाली अधिकारप्राप्त न्यायिक समिति गठन गर्न माग गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘अपराधीलाई उचित क्षतिपूर्ति सहित दण्ड हुनुपर्छ। साथै मर्मत, संभार र पुनर्निर्माणका लागि राज्यबाट विशेष आर्थिक प्याकेज उपलब्ध गराई लगानीकर्ताको मनोबल कायम राख्न आवश्यक छ ।

टिप्पणीहरू