'नावाकाद' ले छाडेको भष्म

'नावाकाद' ले छाडेको भष्म

कम्युनिस्टहरू यथार्थमा असफल नै भए पनि भविष्यवाणी गर्न भने माहिर नै हुन्छन् । एकथरि वामपन्थीले अर्कालाई सिआइडी, गद्दार, दक्षिणपन्थी भन्दै आफू नै दक्षिणपन्थी बनिरहेका हुन्छन् । एकले अर्कालाई जडसूत्रवादी, कठमुल्लावादी, सारसङ्ग्रहवादी भनिरहेका हुन्छन्, भरे तिनै कट्टरवादी बनेर ठोस परिस्थितिको ठोस विश्लेषण गर्न सक्दैनन् र जनता अनि समाजबाट कोसौँ पर पुगिरहेका हुन्छन् । तत्कालीन नेकपा (मानन्धर समूह) का पोलिटब्युरो सदस्य नीलाम्बर आचार्य रायमाझी । वर्मा समूह तथा नेकपा (माले) र तिनका नेतालाई ‘नावाकाद’ को संज्ञा दिइरहन्थे । नामको वामपन्थी, कामको दक्षिणपन्थी पूरा अर्थ बोकेको सो सङ्क्षेपीकृत शब्दले आफूलाई यस वा त्यस नाममा सक्कली कम्युनिस्ट भनिरहे पनि उसको व्यवहारले, कामले भने उसले दक्षिणपन्थ वा दक्षिणपन्थीको सेवा गरिरहेको अर्थ लाग्थ्यो । आनी उपनामबाट  आफ्नै पार्टीको मुखपत्र ‘माध्यम’ साप्ताहिक पत्रिकामा लेख्ने आचार्य तथा ‘समीक्षा’ साप्ताहिकका सम्पादक मदनमणि दीक्षित एवं ‘प्रकाश’ र ‘दृष्टि’ साप्ताहिकमा अभिमन्यु उपनामबाट लेखिरहने झलनाथ खनालबिच यस्ता विषयमा लेखनयुद्ध चलिरहेको तत्कालीन पार्टी र विद्यार्थी नेताहरू सम्झिरहन्छन् ।  दरबारका संरक्षणमा रहेको नेकपा (रायमाझी) समूह त दक्षिणपन्थी थियो नै त्यसैबाट नेकपा (विष्णुबहादुर मानन्धर) समूहभन्दा  पछि फुटेको कृष्णराज वर्मा समूहले पनि त्यही नाम पायो । अझ मालेले तत्कालका लागि बहुदलीय व्यवस्थाको माग नगर्नाले उसले पनि दक्षिणपन्थकै सेवा गरिरहेको आचार्यको ठहर थियो ।

रोचक कुरो, बहुदलीय व्यवस्थाको पुनःस्थापनापछि तत्कालीन वाममोर्चाका केन्द्रीय सदस्य आचार्य वामपन्थी समूहबाट कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारमा कानुन तथा न्याय र श्रम तथा समाजकल्याणमन्त्री बने र आमनिर्वाचनपछि प्रजातान्त्रिक खेमामा मिसिएर पछि नेपाली कांग्रेसको सरकारमा पालामा श्रीलङ्काका लागि नेपाली राजदूत बने ।  नेकपा (एमाले) केपी शर्मा ओलीका नेतृत्वमा गएपछि उनले पार्टी र सरकारमा निर्वाह गरेका अनेक भ्रष्टाचार, विचौलियासँगको उठबस, नियुक्ति, भारतीय खुफिया संस्था रका प्रमुखसँगको सम्झौता, पार्टी सचिवालयको बहुमतसँग अटेरीपन, प्रतिनिधिसभाको दुई पटकसम्मको विघटन, आफूलाई राष्ट्रवादी बनाउन गरिएको नेपालको नक्साको व्यावहारिक कार्यान्वयनप्रतिको उदासीनताले उनको दक्षिणपन्थी चरित्र प्रस्ट हुँदै गयो र पार्टी नेकपा भए पनि एमालेकै मोहमा परी शीर्षस्थ र उदाउँदा नेताहरूलाई नअटाउने वातावरण बनाई आफ्नो एकाधिकार चलाए । 

पछि नक्कली भुटानी प्रकरण, गिरिबन्धु टी स्टेट हदबन्दी बढी जग्गा बिक्री सहजीकरण ऐन निर्माण, यती, ओम्नी जस्ता प्रकरणमा मुछिने भएपछि त्यस्तै दशामा रहेका शेरबहादुर देउवा र उनकी पत्नी डा आरजु राणासँग मिलेमतो गरी उनले चलाएको पछिल्लो सरकारले देशभर मच्चाएको लुटपाटले उनी दक्षिणपन्थ धारमा कतिसम्म पुगिसकेका थिए भन्ने प्रस्ट देखिन्छ । उनको मन्त्रिपरिषद्का प्रायः सबै गन्हाउँदा पनि उनले एकाधबाहेक सबैलाई च्यापेरै बसे । आफ्नो विरोधमा उत्रनेहरूको हतियार सामाजिक सञ्जालमाथि प्रतिबन्ध, आमसञ्चार विधेयकको मस्यौदा प्रस्तुति र विद्युतीय कारोवार ऐनको प्रयोगले ओली नेतृत्वको दक्षिणपन्थलाई  भित्रभित्रै कुण्ठित, निरास र भविष्यविहीनताले ग्रस्त जेनजीले चलाएको ३१ घन्टाको आन्दोलनले गल्र्यामगल्र्याम ढालिदियो । यसरी कम्युनिस्टप्रतिको आमजनताको विश्वास र भरोसा पनि जनमानसमा उल्टिदियो । 

जेनजीको आन्दोलनप्रति विरोध गर्न नसकेका र दुलो पस्न बाध्य वा घर, कार्यालय जलाइएका कम्युनिस्ट नेताहरू अब भने सामाजिक सञ्जालमा छोटा, लामा वाक्यमा देखा पर्न थालेका छन् । एमालेका महासचिव, जो ओलीका पिछलग्गु मात्र बने, ले आज बिहान नेत्रलाल अभागीको सतिसाल कविता उद्धृत गर्दै धेर्य गरौँ, संयमित बनौँ, हामी फेरि उठ्ने छौँ भनी छोटो सन्देश दिएका छन् । सोही दलका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि जस्तोसुकै कठिन परिस्थितिमा पनि अविचलित रहन पार्टीका नेताकार्यकर्ता, जनतामा आह्वान गर्दै विगतबाट शिक्षा लिई प्रतिकूल परिस्थितिलाई अनुकूल बनाउने दिशामा अघि बढ्नुपर्नेमा जोड दिएका छन् । यसरी दुवै नेताले धैर्यमा नै जोड दिएका छन् । पार्टी सचिव योगेशकुमार भट्टराईले भने पार्टी एकता कायम हुने गरी सङ्गठन र नेतृत्वको नयाँ ढङ्गले पुनर्गठन गर्न आह्वान गर्दै पार्टीका आन्तरिक प्रकियाहरू पारदर्शी र लोकतान्त्रिक बनाउन आह्वान गरेका छन् । यस्तो बेलामा ओली स्वयंको विज्ञप्ति भने आउन सकेन । हुन त उनले संविधानसम्मत राजनीतिक निकास र समस्या समाधानको थप पहलका लागि भनी मङ्गलबार नै राजीनामा दिएकाले  घाइते बाघ भएका छन् र आफ्नो समय पनि कुर्दै होलान् ।

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले भने आन्दोलनकै बेला सर्वपक्षीय गोलमेच सम्मेलनका कुरा उठाएका थिए । अहिले भने उनी “बिल्कुल नयाँ ढङ्गले सोचौँ” भनी साथीहरूलाई आह्वान गर्छन् ।  नेकपा (एकीकृत समाजवादी) का नेता वामदेव गौतमले पनि सामाजिक सञ्जालको कुनै समूहमा अहिले राज्य कमजोर र यसका संरचनाहरू अस्तव्यस्त भएका स्थितिमा मुलुकको जटिलावस्थालाई पार लगाउने जिम्मेवारीबाट राजनीतिक दलहरू अहिले पनि मुक्त नभएको जनाएका छन् । नेकपा (एस) कै महासचिव घनश्याम भुसालले भने अलि लामै स्टयाटसमा    “मेरो पुस्ताका नालायकीप्रति म लज्जित छु, माफी माग्छु । तर त्यसका नाममा तपाईँहरूलाई अरूले लुट्न नपाओस्” भने साहित्यिक भाषा प्रयोग गरेका छन् । उनले अझ बढी धैर्य, दूरदृष्टि र हिम्मतका साथ परिस्थितिको मूल्याङ्कन गर्दै आफ्ना अभिभारा निर्धारण गरेर नयाँ परिस्थितिको विचार, राजनीति र सङ्गठनका साथै नयाँ नेतृत्व निर्माण गर्दै अघि बढन् पनि आह्वान गरेका छन् । 

जेन्जी आन्दोलन र नयाँ परिस्थितिपछि वामपन्थी दलहरू फेरि एकता प्रक्रियामा सामेल हुने स्वर्ण अवसर आएको छ । वामपन्थी दलका सबै नेताहरूका सारमा नयाँ विचार, सङ्गठन र नेतृत्व नै रहेको छ र धैर्यमा जोड दिइएको छ । 

यसअघि विद्यादेवी भण्डारीका नेतृत्वमा सो अभिभारा पूरा गर्न सकिने भन्ने धारणा आए पनि अब एमाले स्वयं रक्षात्मक अवस्थामा पुगेकाले उनको नेतृत्वको कुरा मात्र आउँदैन । समाजवादी मोर्चा सिङ्गै र अन्य ससाना कम्युनिस्ट पार्टी पनि विद्यमान छन् । दुई तिहाइको प्रतिनिधिसभा विघटन गरेपछि नै अहिलेको परिस्थिति जन्मेकाले पहिले त्यसको समीक्षा नगरी एकीकरण प्रक्रियामा पुग्नै सकिँदैन । फेरि पनि आफूमा ठुलो दल भन्ने अभिमान र आफ्ना गल्तीकमजोरीप्रति अलिकति पनि पश्चात्ताप नगर्ने हो भने खरानीसँग लुटपुटिनका लागि मात्र सल्लाह दिन सकिन्छ । 

आआफूले महसुस गरेका आत्मसमीक्षालाई मूर्त रूप दिन तिनले अब आआफ्ना ठाउँबाट प्रयास त गर्ने नै होलान् । कम्युनिस्टहरूले निकै उदाहरण दिने खरानीबाट उठ्ने फिनिक्स पक्षीबारे तिनलाई कसैले सम्झाइरहनुपर्दैन होला । उग्र वामपन्थीहरू आखिर दक्षिणपन्थी बनेरै सिद्धिएका उदाहरण धेरै छन् ।  विशाल जेन्जी समूहसँग प्रतिस्पर्धा गर्ने बन्न कम्युनिस्टका हृदय पनि ठुलै हुनुपर्ला, कुखुरे छातीले त सङ्ग्रहालयतिर मात्र पुर्याउँछ ।

टिप्पणीहरू