खुशी हुने कि दुःखी ?
रगत पसिना बगाएर, वर्षभरि श्रम गरेर केही मुठ्ठी अन्न जम्मा गरेको किसान आजित थियो । ढाडे बिरालो, चोर बिरालो, मुसा, किरा–फट्याङ्ग्राले चोरेर खान्थे। खाने त खाए। पुर्ख्यौली सम्पत्तिसहितको कच्ची घरमा मुसाले दुलो खनेर अन्न लुकाउँथ्यो। किसानले चोर बिरालो र मुसा नियन्त्रणका लागि हरसम्भव प्रयास गर्यो, तर सकेन।
किसान चोरहरूसँग रुष्ट थियो, तर पनि श्रम गर्न छोडेन। तर उसका छोराहरू भने बिरालो र मुसालाई संरक्षण गरेको भन्दै आफ्नै बुवासँग रुष्ट थिए। ‘तिम्रो कारणले चोर बिरालोले अन्न चोरेको हो’ भनेर आरोप लगाउँथे। बिचरा किसान न चोर बिरालो–मुसालाई नियन्त्रण गर्न सक्थ्यो, न छोराहरूलाई जवाफ फर्काउन।
एकदिन छोराहरूले सल्लाह गरे। उनीहरू बुवासँग जति रुष्ट थिए, त्यसभन्दा बढी चोर बिरालो र मुसाहरूसँग रुष्ट थिए । अन्ततः निष्कर्ष निकाले, ‘यो घर नै जलाउँछौं, न रहे बाँस न बज्ला बाँसुरी ।’
घर जलाइयो । भाग्न खोजेका केही मुसालाई छोराहरूले घेरेर भुइँमा पछारे। लुकेर बसेको चोर बिरालोलाई समातेर घाइते बनाए। ढाडे बिरालोलाई भने खोज्दा भेटेनन्।
किसान खेतबाट फर्कंदा घर थिएन। अन्नको भकारी थिएन। खरानीको थुप्रो मात्र थियो। कति पुस्ताले दुःख गरेर आर्जेको सम्पत्ति निमेषभरमा खरानी भएको थियो। चोर बिरालो र मुसाहरूको नामोनिशान थिएन। तर किसानका छोराहरू खरानीको थुप्रोमा नाच्दै विजय उत्सव मनाइरहेका थिए।
खरानी उडेर अन्धकार छाएको थियो। किसानले अनुहारमा खरानी पोतिएका छोराहरू प्रष्टै देखेन। नाच्नेहरू उसका छोराहरू मात्रै थिएनन्, मान्छे मारेर, ठगी गरेर जेल परेकाहरू पनि उनीहरूसँगै नाचिरहेका थिए। उनीहरू उफ्रिरहेका थिए, हातमा प्रहरीबाट लुटिएका बन्दुक बोकेर।
किसानले आकाशतिर हेरेर धुवाँको मुस्लो र खरानी उडिरहेको आकाशमा आफ्नो होइन, छोराहरूको भविष्य खोज्यो। किसान अलमलमा पर्यो, छोराहरूले चोर बिरालो धपाएकोमा खुशी हुने, कि घर खरानी भएकोमा दुःखी हुने?
— दिनानाथ श्रेष्ठ
चाँगुनारायण–८, भक्तपुर ।
टिप्पणीहरू